अनुचित आचरणको आरोप बढ्दै गएपछि ग्रीसका लागि अमेरिकी राजदूत किम्बर्ली गिलफोयलले राजीनामा दिएकी छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मंगलबार उनलाई पद छाड्न भनेको उनले दुई घण्टाभित्रै उनले राजीनामा दिने घोषणा गरेकी हुन्।
गिलफोयलमाथि ग्रीसमा कार्यकाल सुरु गर्नुअघि र कार्यकालका क्रममा अनुचित तथा सम्भावित गैरकानुनी गतिविधिमा संलग्न भएको आरोप लागेको छ। तर उनले आरोप अस्वीकार गर्दै आफ्नो नाम, प्रतिष्ठा र इमानदारीको बचाउ गर्ने बताएकी छन्।

ट्रम्पले गिलफोयलको आचरणबारे सार्वजनिक भएका विवरणप्रति असन्तुष्टि जनाएका थिए। उनले गिलफोयलसँग आफूले कुरा नगरेको बताउँदै अब उनी ग्रीसमा राजदूतका रूपमा नरहने बताएका थिए।
गत महिनाको अन्त्यदेखि गिलफोयलमाथि विभिन्न आरोपसहितका समाचार प्रकाशित भएका थिए। ती आरोपमा ग्रीसका एक अधिकारीलाई धम्की दिएको, अनुचित उपहार तथा सेवा लिएको र रिपब्लिकन प्रशासनमा आफ्नो पहुँच प्रयोग गरेर क्रेडिट कार्डको एक लाख डलर बराबरको बिल तिराउन खोजेको विषय समावेश छन्।
गिलफोयलका वकिलहरूले भने उनले कुनै गलत काम नगरेको दाबी गरेका छन्। उनीहरूले ट्रम्पका एक सहयोगीबाट मागिएको रकम राजदूतमा नियुक्त हुनुअघिका सार्वजनिक कार्यक्रम र भाषणबापत पाउन बाँकी भुक्तानी भएको बताए।
अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले आरोपबारे अनुसन्धान गरिरहेको बताएका छन्। तर औपचारिक अनुसन्धान सुरु भए वा नभएको स्पष्ट भएको छैन। ग्रीसका विपक्षी दलहरूले पनि गिलफोयलमाथिका आरोपबारे जवाफ दिन माग गरेका थिए।
अमेरिकी संसद्का केही डेमोक्र्याट नेताले समेत उनीमाथि अनुसन्धान गर्न माग गरेका छन्। गिलफोयल फक्स न्युजकी पूर्व प्रस्तोता र क्यालिफोर्नियाकी पूर्व सरकारी वकिल हुन्। उनी ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरसँग पनि सम्बन्धमा थिइन्। तर इन्गेजमेन्ट पछि उनीहरू अलग भएका थिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।