एक आईफोन चोरेको व्यक्तिले फोनको पासवर्ड माग्दै मोबाइल मालिकको परिवारलाई एसएमएस र ह्वाट्सएपमा म्यासेज पठाएका छन्।
घटना भारत, देहरादुनको हो।
कौशिकी ध्यानीका अनुसार सेप्टेम्बर १२ मा क्लेमेन्ट टाउन क्षेत्रबाट उनका भाइको आईफोनसहित ल्यापटप, म्याकबुक र अन्य महँगा सामान चोरी भएका थिए। एउटै भवनबाट पाँचदेखि छ वटा मोबाइल फोन र ल्यापटप चोरी भएको उनले बताइन्।

उनका अनुसार उक्त क्षेत्रमा चोरीका घटना एउटै घरमा मात्र सीमित थिएनन्। नजिकैका पीजी र होस्टेललाई समेत निशाना बनाइएको थियो। बिहान ४ बजेदेखि ८ बजेको बिचमा चोरीका घटना भएको उनले बताएकी छन्। त्यस क्षेत्रमा पछि थप चोरीका घटना पनि सार्वजनिक भएको उनको दाबी छ।
चोरी भएको करिब एक महिनापछि अपरिचित व्यक्तिले फोनको पासवर्ड माग्दै म्यासेज पठाएको कौशिकीले दाबी गरेकी हुन्। ती व्यक्तिले एसएमएस र ह्वाट्सएपमार्फत फोनको पासवर्ड उपलब्ध गराउन आग्रह गरेका थिए।
फोन आफ्नो साथमा रहेको प्रमाण दिन ती व्यक्तिले उनका भाइको तस्बिर वालपेपरमा राखिएको आईफोनको स्क्रिनको तस्बिरसमेत पठाएका थिए। तर, कौशिकीले त्यसबारे प्रश्न गरेपछि ती व्यक्तिले जवाफ दिन छाडेको बताइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार कौशिकीले चोरीको उजुरी दिन प्रहरी चौकी जाँदा तत्काल उजुरी दर्ता नगरी भोलिपल्ट आउन भनिएको आरोप लगाएकी छन्। चोरीका घटनाबारे प्रहरीलाई जानकारी गराउन खोज्दा पनि समस्या भएको उनको भनाइ छ। उनले सामाजिक सञ्जालमार्फत चोरीका घटनामा प्रहरीले प्रभावकारी कदम नचालेको आरोपसमेत लगाएकी हुन्।
यसैबिच, अमनदीप नेगीले इन्स्टाग्राममा सार्वजनिक गरेको अर्को भिडियोमा पनि क्लेमेन्ट टाउन क्षेत्रमै चोरीको यस्तै घटना भएको उल्लेख गरिएको छ। उक्त भिडियोमा सेप्टेम्बर १६ को बिहान करिब ६ बजे लेन नम्बर ९ए बाट लाखौं रुपैयाँ बराबरका सामान चोरी भएको दाबी गरिएको छ।
यद्यपि, प्रहरीले घटनालाई बेवास्ता गरेको आरोप अस्वीकार गरेको छ।
प्रहरी अधिकारीका अनुसार घटनाबारे सेप्टेम्बरदेखि नै अनुसन्धान भइरहेको छ। चोरीमा संलग्न व्यक्तिको पहिचान गर्न प्रहरीले सिसिटिभी फुटेज र फोनको लोकेसनसम्बन्धी विवरणको सहयोग लिइरहेको छ। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।