कथित प्रेमिकासँग म:म खाइरहेका एक पुरुषलाई श्रीमतीले रंगेहात भेटेपछि विवाद भएको छ। विवादका क्रममा ती पुरुषले श्रीमतीलाई कारको बोनेटमा करिब १०० मिटरसम्म घिसारेको आरोप लागेको छ।
घटना भारतको उत्तर प्रदेशस्थित मेरठमा गत शनिबार साँझ भएको हो। मयंक नाम गरेका पुरुष आफ्नी कथित प्रेमिका माहीसँग म:म खाइरहेका थिए। त्यही क्रममा उनकी श्रीमती सुनिताले उनीहरूलाई सँगै भेटेकी थिइन्। श्रीमानलाई अर्की महिलासँग देखेपछि रिसाएकी सुनिताले कारको झ्यालमा ठोक्काउन थालिन्।
एनडीटीभीका अनुसार आत्तिएका मयंकले कार लक गरेर त्यहाँबाट भाग्न खोजेका थिए। त्यसपछि सुनिता कारको अगाडि उभिइन् र बोनेटको छेउमा पल्टिइन्। तर मयंकले कार अघि बढाएको आरोप छ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा सुनिताले ‘भैया बचाओ… भैया बचाओ’ भन्दै बटुवासँग सहयोग मागेको देखिन्छ। उनलाई कारको बोनेटमा करिब १०० मिटरसम्म घिसारेको आरोप छ।
घटनास्थलमा स्थानीय जम्मा हुन थालेपछि मयंकले गाडी रोक्न बाध्य भए। सुनिताले आफ्ना श्रीमानमाथि कुटपिट, दाइजोका लागि यातना दिएको र विश्वासघात गरेको आरोप लगाउँदै उजुरी दिएकी छन्।
कोतवालीका सर्कल अफिसर संग्राम सिंहले मयंकविरुद्ध हत्या प्रयासको मुद्दा पनि दर्ता गरिएको बताए। ‘मौखिक झगडापछि ती व्यक्तिले आफ्नी श्रीमतीलाई मार्ने उद्देश्यले कारले कुल्चने प्रयास गरे। घटनाबारे जानकारी लिएपछि मुद्दा दर्ता गरेका छौँ,’ उनले भने।
प्रहरीले मयंक र माही दुवैलाई पक्राउ गरेको छ। घटनामा प्रयोग भएको टोयोटा अर्बन क्रुजर टाइसर कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।