मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संघीयतालाई प्रभावकारी बनाउन प्रदेश सरकारलाई अधिकार, वित्तीय स्रोत र आवश्यक जनशक्तिसहित सक्षम बनाउनुपर्ने बताएका छन्।
विराटनगरमा मंगलबारदेखि सुरु भएको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’मा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्रदेशलाई आवश्यक अधिकार र स्रोतसाधन नदिई संघीयता बलियो बनाउन नसकिने बताए।
उनले प्रदेशबिचको सहकार्य र साझेदारीलाई दिगो बनाउन प्रत्येक प्रदेशलाई सक्षम बनाउनुपर्नेमा जोड दिए।

‘साझेदारीले प्रदेशहरूलाई जोड्छ, तर प्रदेश आफैँमा सक्षम नभई सहकार्य टिक्दैन,’ उनले भने, ‘हामी अधिकार माग्न मात्र आएका होइनौँ, जिम्मेवारी बहन गर्न पनि तयार छौँ।’
मुख्यमन्त्री यादवले प्रदेशहरूबिचको सहकार्यलाई सहयोग माग्ने माध्यमका रूपमा नभई साझा समृद्धिको आधारका रूपमा विकास गर्नुपर्ने बताए।
उनले सबै प्रदेशको साझा समस्याको पहिचान गरी संयुक्त योजना निर्माण, सहलगानी र त्यसबाट प्राप्त हुने लाभलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताए।
उनले मधेश प्रदेशको कृषि उत्पादनलाई अन्तरप्रदेश सहकार्यको महत्वपूर्ण आधार बनाउन सकिने बताए।
उनले उच्च मूल्यका कृषि उपजको साझा ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन मधेश प्रदेश तयार रहेको बताए।
त्यस्तै, उनले पर्यटन प्रवर्द्धनका लागि ‘एक यात्रा, अनेक प्रदेश’ अवधारणाअनुसार संयुक्त रूपमा काम गर्नुपर्ने बताए।
मुख्यमन्त्री यादवले संघीयता कार्यान्वयन भएको एक दशक पुग्न लाग्दा पनि प्रदेशले अपेक्षित अधिकार प्राप्त गर्न नसकेको गुनासो गरे।
उनले प्रहरी समायोजन, निजामती सेवा ऐन, शिक्षा ऐन र स्वास्थ्य सेवा ऐनसम्बन्धी विषय टुंगोमा नपुग्दा प्रदेश सरकारको कामकारबाहीमा जटिलता भएको बताए।
प्रहरी समायोजनमा भएको ढिलाइले विशेषगरी खुला सीमा रहेको मधेश प्रदेशमा सुरक्षा व्यवस्थापन र सीमापार अपराध नियन्त्रणमा समस्या भइरहेको उनको भनाइ छ।
यस्तै, प्रदेशलाई जिम्मेवारी मात्र दिएर नहुने भन्दै यादवले जिम्मेवारी पूरा गर्न आवश्यक अधिकार, स्रोतसाधन र प्रशासनिक संरचना पनि उपलब्ध गराउन संघीय सरकारसँग आग्रह गरे।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।