पोखरा-३ नदीपुरस्थित पद्मनर्सिङ होम प्रालिको स्तरोन्नतिमा भएको घुस प्रकरण छानबिन गर्न नेकपा (एमाले) ले गठन गरेको समितिले आफ्नो प्रतिवेदन तयार पारेको छ।
एमाले गण्डकी प्रदेश संसदीय दलले प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठन गरेको समितिले छानबिन सकेर प्रतिवेदन तयार पारेको हो।
एक साताअघि नै प्रतिवेदन तयार भए पनि संसदीय दलका नेता खगराज अधिकारीको व्यस्तताका कारण अझै बुझाउन नसकिएको स्रोतले बताएको छ।

अस्पताल स्तरोन्नतिको नवीकरणका क्रममा गण्डकी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे, उनका स्वकीय सचिव यादव पौडेल र मन्त्रालयका सचिव युवानिधि बसौलाले ३० लाख रुपैयाँ घुस मागेको विषय सार्वजनिक भएको थियो।
घटना बाहिरिएलगत्तै एमाले संसदीय दलले छानबिन समिति बनाएर प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो। सोहीबमोजिम पहारी संयोजकत्वको समितिले प्रतिवेदन तयार पारेको हो।
प्रतिवेदनले सार्वजनिक भएजस्तै घुस लेनदेनमा पूर्वमन्त्री पाण्डेसहित मन्त्रालयका सचिव बसौला र मन्त्रीका स्वकीय सचिव पौडेल कतै न कतै संलग्न रहेको निष्कर्ष निकालेको स्रोतको दाबी छ।
अस्पतालले पनि घुस खुवाउने पुरानै प्रवृत्ति अपनाएको र त्यसमा मन्त्रालयका सचिव बसौलाले मोलमोलाइ (बार्गेनिङ) गरिरहेको थाहा पाउँदापाउँदै पनि मन्त्री र उनका स्वकीय सचिवले रोक्ने प्रयास नगरेको प्रतिवेदनमा उल्लेख छ।
‘पुरानै प्रवृत्तिअनुसार अस्पताल र मन्त्रालयका सचिवबीच लेनदेनको कुरा भएको देखिन्छ,’ प्रतिवेदनको विषय उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस्तो विषय थाहा पाइसकेपछि मन्त्री र उनका स्वकीय सचिवले रोक्नुपर्ने थियो, तर त्यस्तो प्रयास भएको देखिएन।’
छानबिन समितिले मन्त्री आफैं लेनदेनको मोलमोलाइमा प्रत्यक्ष संलग्न नदेखिए पनि संलग्न व्यक्तिहरूलाई प्रश्रय दिएको औंल्याएको छ।
त्यसमाथि अडियो-भिडियो सार्वजनिक भएपछि सञ्चारकर्मीसँगको अन्तर्वार्तामा पूर्वमन्त्री पाण्डेले घटनामा आफ्नो संलग्नता स्वीकारेको समेत प्रतिवेदनमा जनाइएको छ। यस्तो कार्य एमालेको पार्टी जीवन, नेता तथा सांसदहरूको आचरण र कार्यशैलीअनुकूल नभएको समितिले ठहर गरेको छ।
समितिले निष्कर्ष मात्र ननिकाली दोषीमाथि कारबाहीका लागिसमेत सिफारिस गरेको छ।
पार्टी र संसदीय दलको विधानले नेता तथा सांसदहरूको व्यवहार, आचरण र कार्यशैली स्पष्ट तोकेको तर सार्वजनिक घुस प्रकरणमा त्यसविपरीत कार्य भएकाले कारबाहीको सिफारिस गरिएको समितिका सदस्य धनञ्जय दवाडीले जानकारी दिए।
उनले भने, ‘पार्टी र संसदीय दलले जारी गरेको आचरण र कार्यशैलीविपरीत भएका तथा हुने गरेका गतिविधिमा पार्टीले कडाइका साथ दायरामा ल्याओस् भनेर सुझावसहितको सिफारिस गरेका छौं।’
छानबिन समितिकी संयोजक देवका पहारी त्रिपाठीले तोकिएकै समयसीमाभित्र प्रतिवेदन तयार गरिएको बताइन्।
‘हामीले प्रतिवेदन समयसीमाभित्रै तयार पारेका थियौं,’ उनले भनिन्, ‘तर संसदीय दलका नेताज्यूको व्यस्तताका कारण बुझाउन केही ढिलाइ भएको हो। सम्भवतः एक-दुई दिनमै बुझाउँछौं।’
संसदीय दलका नेता खगराज अधिकारी पार्टी बैठकका सिलसिलामा काठमाडौंमा रहेकाले प्रतिवेदन हस्तान्तरणमा ढिलाइ भएको उनको भनाइ छ।
यसैबीच, गण्डकी प्रदेश सरकारले गठन गरेको अर्को छानबिन समितिले पनि प्रतिवेदन लेखनलाई अन्तिम चरणमा पुर्याएको छ।
समितिले स्थलगत र प्राविधिक छानबिन सकेर अहिले प्रतिवेदनको मस्यौदा लेखिरहेको जनाइएको छ। प्रदेश सरकारले अस्पताल स्तरोन्नति घुस प्रकरणसँगै पछिल्ला वर्षहरूमा गरिएका सबै अस्पताल स्तरोन्नति तथा नवीकरणसम्बन्धी निर्णयहरूको छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकीकी उपसचिव पार्वती लामिछानेको संयोजकत्वमा समिति बनाएको थियो।
उक्त समितिले सरोकारवाला सबैसँग लिखित तथा मौखिक बयान लिइसकेको बुझिएको छ। आरोपितहरूले गरेको असहयोगका बाबजुद समय थपेर प्रतिवेदन तयार पारिएको स्रोत बताउँछ।
‘छानबिनमा विज्ञहरूको समेत सहयोग र सुझाव लिएर प्रतिवेदन निर्माण भइरहेको छ,’ स्रोतले भन्यो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता तीर्थराज चिलुवालले थपिएको समयसीमाभित्रै समितिले प्रतिवेदन बुझाउने बताए।
मन्त्रिपरिषद् बैठकले सुरुमा १५ दिनको समयसीमा तोकेको भए पनि समय अपुग भएपछि म्याद थपिएको उनको भनाइ छ। यद्यपि समय थपसम्बन्धी औपचारिक निर्णय मन्त्रिपरिषद्बाट हुन बाँकी छ।
त्यसबारे प्रवक्ता चिलुवालले भने, ‘मौखिक रूपमा समय थपिएको जानकारी गराइएको छ, तर त्यसलाई औपचारिकता दिन बाँकी छ। सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले त्यसबारे निर्णय गर्नेछ।’ मस्यौदा लेखन चलिरहेकाले छिट्टै प्रतिवेदन आउने विश्वास उनले व्यक्त गरे।
गत असोज ३ गते पोखरा-३ नदीपुरस्थित पद्मनर्सिङ होम प्रालिलाई स्तरोन्नतिको नवीकरण गरिदिने बहानामा ३० लाख रुपैयाँ घुस मागेको अडियो-भिडियो सार्वजनिक भएको थियो। जसमा पूर्वमन्त्री पाण्डेसहित मन्त्रालयका सचिव युवानिधि बसौला र स्वकीय सचिव यादव पौडेलले घुसको मोलमोलाइ गरेको आंशिक स्वीकारोक्ति दिएका थिए।
घुस प्रकरणमा मुछिएका पाण्डे एमालेबाट नवलपुर क्षेत्र नम्बर २ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।
नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा उनी ४ महिना ११ दिन स्वास्थ्यमन्त्री बनेका थिए। २०८३ साल वैशाख २ गते मन्त्री नियुक्त भएका उनी एमालेले सरकार छाडेसँगै गत भदौ १० गते राजीनामा दिएर बाहिरिएका थिए।
उक्त अस्पतालले ५० शय्याबाट स्तरोन्नति गरी १०० शय्या पुर्याए पनि नवीकरणका लागि रकम मागिएको खुलेको छ। ६ महिनाको परीक्षणकालका लागि एक वर्षअघि नै १०० शय्याको अनुमति पाएको अस्पताललाई कागजात नपुगेको भन्दै ६-७ महिनादेखि फाइल रोकेर घुस मागिएको थियो।
घुस काण्ड सार्वजनिक भएपछि गण्डकी प्रदेश सरकारले सचिव बसौलाको जिम्मेवारी खोसेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।