लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधन रोकिने होटल तथा रेस्टुरेन्टमा गुणस्तरहीन र बासी खानाका कारण यात्रु बिरामी परेमा सम्बन्धित सवारी चालक र होटल सञ्चालक दुवैलाई कारबाही गरिने भएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै राजमार्गका होटलहरूमा सरसफाइको कमी, बासी, झिँगा भन्किएका र न्यून गुणस्तरका खाना खुवाउने तथा अत्यधिक मूल्य असुल्ने प्रवृत्ति नियन्त्रण गर्न यस्तो चेतावनी दिएको हो।
मन्त्रालयमा बसेको सरोकारवाला निकायहरूको बैठकपछि विभागले चालक, होटल व्यवसायी तथा यात्रुहरूलाई लक्षित गरी तीनबुँदे निर्देशन जारी गरेको छ।

विभागका अनुसार अब सार्वजनिक सवारीका चालकहरूले यात्रुलाई खाना तथा खाजा खुवाउनका लागि सफा, स्वच्छ र गुणस्तरीय खाना पाइने स्थानलाई मात्र प्राथमिकता दिनुपर्नेछ।
सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट ‘खाद्य स्वच्छताको स्टिकर’ प्राप्त होटल तथा रेस्टुरेन्टमा मात्र सवारी रोक्न चालकहरूलाई निर्देशन दिइएको छ।
यसैगरी, होटल तथा रेस्टुरेन्टहरूले उपलब्ध गराउने खाना र खाजाको गुणस्तरबारे सम्बन्धित निकायहरूले सूक्ष्म निगरानी गरिरहेको विभागले जनाएको छ।
गुणस्तरहीन खानाका कारण यात्रु बिरामी भएको पाइएमा प्रचलित कानुनबमोजिम सवारी चालक र होटल सञ्चालक दुवैलाई कारबाहीको दायरामा ल्याइने विभागको चेतावनी छ।
विभागले खानाको गुणस्तर र मूल्यमा ठगी भएमा तत्काल उजुरी गर्न यात्रुहरूलाई आग्रह गरेको छ। होटल तथा रेस्टुरेन्टको सरसफाइमा कमी देखिएमा वा बढी मूल्य लिएको पाइएमा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरेर जानकारी गराउन सकिनेछ।
यसबाहेक सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा त्यसअन्तर्गतका नजिकका कार्यालयहरूमा सम्पर्क गरी तत्काल जानकारी दिन विभागका निर्देशक (प्रा.) मणि राम भुसालले आग्रह गरेका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।