तनहुँको भित्री सडकखण्डमा ६ वटा गोरुलाई चरम यातना दिँदै कोचेर ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले एक सवारी साधन नियन्त्रणमा लिई कारबाही गरेको छ।
पशु कल्याणको न्यूनतम मापदण्डसमेत पूरा नगरी अमानवीय ढंगले गोरु ओसारेको कसुरमा भिमाद नगरपालिकाले उक्त सवारीलाई ३७ हजार रुपैयाँ जरिवाना तिराएको हो।
कष्टकर अवस्थाबाट उद्धार गरिएका ६ वटै गोरुलाई भने संरक्षणका लागि मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम गौशाला पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको टोलीले भिमाद नगरपालिका-६ देउरालीस्थित सडकमा जाँच गर्दा पशुमाथि यस्तो अमानवीय व्यवहार भएको फेला पारेको थियो।
भिमाद-२ टेङ्क्रेबाट भिमादतर्फ आउँदै गरेको उक्त सवारी साधनभित्र गोरुहरूलाई हलचलसमेत गर्न नसक्ने गरी कोचेर ल्याइएको थियो।
प्रहरीले सवारी र पशुचौपाया तत्काल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलचौतारा हुँदै आवश्यक कारबाहीका लागि भिमाद नगरपालिकाको कार्यालयमा बुझाएको थियो। नगरपालिकाले जरिवाना असुल गरेपछि सवारी साधनलाई छाडेको छ।
पशु ढुवानी गर्दा अमानवीय व्यवहार गर्ने, यातना दिने तथा गैरकानुनी ओसारपसार गर्ने प्रवृत्तिमाथि निगरानी राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले बताए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।