औषधि व्यवस्था विभागले विभिन्न रोगमा प्रयोग हुने रोग प्रतिरोधात्मक क्षमता नियन्त्रण गर्ने औषधि उत्पादन गर्ने कम्पनीहरूको उत्पादन अनुमति पत्र खारेज गरेको छ। ती औषधिको उत्पादन, बिक्रीवितरण तथा आयातमा प्रतिबन्ध लगाएको छ।
रोग प्रतिरोधात्मक क्षमता नियन्त्रण गर्ने औषधि कलेजो तथा मिर्गौला प्रत्यारोपण गरेका र बाथरोगका बिरामीमा प्रयोग गरिन्छ।
प्रतिबन्ध लगाइएका औषधि उत्पादन गर्ने कम्पनीहरूमा आदि रिमेडिज, रुपन्देहीको लेफ्लुनोमाइड २० एमजी, कस्तुरी फार्मास्युटिकल्सको लेफ्रोन १० एमजी, पानास फार्मास्युटिकल्सको लेफ्रोन १० एमजी, नोमा जेनेटिकाको इमुलेफ १० एमजी, कियुमेड फर्मुलेसन प्रालिको लेफ्लु १० एमजी र २० एमजी, मार्क फर्मुलेसन प्रालिको रुलेफ २० एमजी तथा कोरेल फार्मास्युटिकल्सको लिफट्याव १० एमजी र २० एमजी रहेका छन्। त्यसैगरी, इन्टास फार्मास्युटिकल्स प्रालिको टाकफा ०.५ एमजीसहित ४७ वटा औषधिमा प्रतिबन्ध लगाइएको हो।

यी औषधि उत्पादन गर्दा अन्य साधारण औषधिसँगै उत्पादन गरिएमा बिरामीको स्वास्थ्यमा उच्च जोखिम पर्ने भएकाले गुणस्तर कायम गरी विशेष रूपमा उत्पादन गर्न आवश्यक मापदण्ड पूरा नगरेका स्वदेशी तथा विदेशी कम्पनीहरूको दर्ता अनुमति खारेज गरिएको विभागले जनाएको छ।
यस्ता औषधि उत्पादन गर्न छुट्टै सुरक्षित संरचना हुनुपर्ने विभागले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।