सामाजिक सञ्जालमा भद्दा तथा अश्लील शब्द प्रयोग गरेको गुनासोपछि नियन्त्रणमा लिइएका युट्युबर एवं कन्टेन्ट क्रिएटर ‘झापालिस’ भनिने मनिष पाण्डे आइन्दा त्यस्ता शब्द प्रयोग नगर्ने प्रतिबद्धता जनाएपछि रिहा भएका छन्।
पछिल्लो समय उनी ‘कता कता मिलाए जस्तो पनि गर्छ फेरि’ भन्ने डाइलगका कारण सामाजिक सञ्जालमा भाइरल थिए। पाण्डेलाई जिल्ला प्रहरी कार्यालय झापाले सोधपुछपछि आफन्तको जिम्मा लगाएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार सामाजिक सञ्जालमा घृणा फैलाउने तथा भद्दा र अश्लील शब्दहरू प्रयोग गर्ने गरेको मौखिक गुनासो परेपछि उनलाई सोधपुछका लागि ल्याइएको थियो।

झापाको मेचीनगर नगरपालिका-६ स्थित काँकडभिट्टाबाट पाण्डेलाई असोज २६ गते साँझ १९:५० बजे प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रहरी कार्यालयमा भएको सोधपुछका क्रममा उनले आफ्ना सामग्री तथा लाइभ स्ट्रिमिङमा अश्लील शब्द प्रयोग गरेको स्वीकार्दै पश्चात्ताप व्यक्त गरेका थिए।
अब उप्रान्त सामाजिक सञ्जालमा अश्लीलता झल्किने कुनै पनि भद्दा शब्द प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएपछि सोही राति २३:५१ बजे उनलाई आफन्तको जिम्मा लगाएर छाडिएको प्र.ना.उ. अवाले जानकारी दिए।
युट्युबमा लाइभ स्ट्रिमिङ, र्याप गायन तथा भिडियो कन्टेन्ट बनाउँदै आएका पाण्डे आफ्ना विवादास्पद र अनौपचारिक संवादका कारण युवापुस्तामाझ चर्चित छन्।
विशेषगरी डाइलग ‘कता कता मिलाए जस्तो पनि गर्छ फेरि’ पछिल्ला केही सातायता सामाजिक सञ्जालमा व्यापक ‘ट्रेन्ड’ बनेको थियो।
यहि डाइलगलाई नेपाल प्रहरीले समेत अनलाइन ठगीविरुद्ध जनचेतनामूलक पोस्ट बनाउँदा रचनात्मक रूपमा प्रयोग गरेको थियो। तर, कन्टेन्टमा गालीगलौज र अश्लील शब्दावली अत्यधिक भएको भन्दै चर्को आलोचना भएपछि अन्ततः उनी प्रहरीको निगरानीमा परेका हुन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।