जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थितिबिना नै कार्यालयबाट प्रदान हुने सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ।
प्रशासनले आफ्नो सेवा प्रवाहलाई छिटो, छरितो र प्रविधिमैत्री बनाएसँगै सेवाग्राहीले आफैँ वा नजिकैको वडा कार्यालयको सहायतामा प्रशासनको इमेल अथवा ह्वाट्सएपमा आवश्यक कागजात पठाएर सहजै सेवा लिन सक्ने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले बताए।
“प्रशासनमा भौतिक उपस्थिति गराउँदा सेवाग्राहीको समय र पैसा दुवै खर्च हुन्छ। हामी झन्झटिलो सेवा प्रवाह निराकरण गर्दै छिटो, छरितो र प्रविधिमैत्री बनाउने योजनामा छौँ,” उनले भने, “पहिलो चरणमा चार किसिमका सेवा प्रवाहलाई भौतिक उपस्थितिबिना नै उपलब्ध गराउन थालिएको छ। प्रशासनले सुरु गरेको प्रविधिमैत्री सेवा प्रवाह निकट भविष्यमै थप विस्तार गर्ने योजना बनाइएको छ।”

दलित/जनजाति/खस आर्य प्रमाणितको सिफारिस र थर प्रमाणितको सिफारिससम्बन्धी सेवा लिन वडाको सिफारिससहित जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको फोटोकपी पेस गर्नुपर्ने छ।
परम्पराका रूपमा सञ्चालन गरिने धार्मिक, सांस्कृतिक पर्व, जात्रा, उत्सव, मेला, इत्यादि सञ्चालनको अनुमति सेवा लिन सम्बन्धित वडा/स्थानीय तहको सिफारिससहित निवेदन/पत्र पेस गर्नुपर्ने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।
प्रमुख जिल्ला अधिकारी गुरुङ जिल्ला प्रशासन कार्यालय खोटाङ सरुवा भएर आएपछि प्रशासनको सेवा प्रवाहमा उल्लेख्य सुधार आएको सेवाग्राहीले बताएका छन्।
गत भदौ २५ गते सरुवा भएर खोटाङ आएका प्रमुख जिल्ला अधिकारी गुरुङले ‘नागरिक संवादका लागि प्रमुख जिल्ला अधिकारी’ अभियान सुरु गरेका छन्। नागरिकका समस्या र आवश्यकता सम्बोधन गर्दै प्रशासनिक निकायलाई थप जिम्मेवार र जवाफदेही बनाउन जिल्लाव्यापी अभियान सुरु गरेका हुन्।
अभियानले नागरिकका समस्या, गुनासा र सुझाव सम्बन्धित निकायसम्म पुर्याउने तथा प्रशासन र नागरिकबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्ने प्रमुख जिल्ला अधिकारी गुरुङले बताएका छन्। “सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता कायम गर्न नागरिक संवाद कार्यक्रम महत्त्वपूर्ण मानिन्छ। नागरिकले भोगिरहेका समस्या, सेवा प्राप्तिमा देखिएका कठिनाइ तथा स्थानीयस्तरमा समाधान गर्नुपर्ने विषयबारे प्रत्यक्ष छलफल गरिन्छ,” उनले भने, “अभियानले प्रशासनप्रतिको विश्वास बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
लागूऔषधको दुरुपयोग परिवार, समाज र स्वयम् व्यक्तिका लागि चुनौतीको विषय बन्दै गएको छ। यसको नियन्त्रणका लागि कानुनी कारबाहीसँगै जनचेतना अभिवृद्धि, रोकथामका उपायको प्रचारप्रसार र समुदायको सक्रियता आवश्यक छ।”
प्रमुख जिल्ला अधिकारी गुरुङले ‘नागरिक संवाद, लागूपदार्थ नियन्त्रण तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ लाई संयुक्त अभियानको रूपमा अगाडि बढाएका छन्। समुदायमा शान्तिसुरक्षा कायम गर्दै सभ्य समाज निर्माण गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले संयुक्त अभियान सुरु गरेको हो।
– रासस


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।