बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापनसँगै संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न प्रदेशहरूबीच सहकार्य र साझा धारणा आवश्यक रहेको बताएका छन्।
विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले यस्तो बताएका हुन्। उनले सिंहदरबारमा केन्द्रित अधिकार प्रदेशको राजधानीमा सार्दैमा संघीयता पूर्ण नहुने बताए।
उनका अनुसार नागरिकको पहुँच बढाउने, स्थानीय आवश्यकताअनुसार नीति निर्माण गर्ने र शासन प्रणालीलाई जनताप्रति उत्तरदायी बनाउनु नै वास्तविक संघीयता हो।

‘संविधानले परिकल्पना गरेको संघीयताको मर्म र व्यवहारमा देखिएको कार्यान्वयनबीच अझै दूरी छ,’ उनले भने, ‘अधिकार क्षेत्रमा अस्पष्टता र जिम्मेवारीमा दोहोरोपन देखिएको छ। संघ सरकारसँगको समन्वयको अभावमा प्रदेशहरूको क्षमता पर्याप्त विकास हुन सकेको छैन। तर यसको समाधान एकअर्कालाई दोष दिएर सम्भव छैन।’
मुख्यमन्त्री थापा मगरले सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागितामा ‘विराटनगर घोषणापत्र २०८३’ जारी गरी कार्यान्वयनमा ल्याउने तयारी भइरहेको पनि जानकारी दिए। घोषणापत्रमार्फत अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मञ्च गठन गरी वित्तीय संघीयता, प्रदेशका अधिकारको पूर्ण प्रयोग र बाँकी अधिकार हस्तान्तरणका विषयमा साझा रणनीति तयार गर्ने योजना रहेको उनले बताए।
प्रदेशहरूबीच सहकार्यको संस्थागत व्यवस्था र संघीय सरकारसँग प्रभावकारी समन्वय हुन सके संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सहज हुने उनको भनाइ छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।