ब्रेकिङ न्युज
विज्ञापन
स्वास्थ्य

स्वस्थ परिकारले रमाइलो बन्छ दसैं

दसैं भन्नेबित्तिकै मासुका अनेक परिकार भन्ने बुझिन्छ। जहाँ पुगे पनि मासुकै परिकार खाने चलन हुन्छ। पछिल्लो समय मासुको साथमा कोक, फेन्टाजस्ता कोल्ड ड्रिंक्सको सेवन पनि उत्तिकै बढेको छ। मासु पनि भुटेर/पोलेर खाने चलन छ, जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ। हानिकारक खाना र अभ्यास छाडेर स्वस्थ तथा मिठा परिकारका साथ दसैंरमाइलोसँग मनाउन सकिने पोषणविद् सुझाउँछन्।

जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका अनुसार दसैंका परम्परागत परिकार आफैंमा स्वादिला छन्। तर स्वास्थ्यका हिसाबले पकाउने र खानेतरिका अहिले पनि केही अमिल्दो रहेको उनी बताउँछिन्। दसैंमा परम्परागत परिकार छाडेर नयाँ परिकारतिर लाग्ने गरेको पाइएको छ। भुटेतारेका मासुका परिकारसँगै कोक, फेन्टा, प्याकेटका अचार, तयारी परिकारको प्रयोग पनि बढेको छ। यी परिकार स्वास्थ्यका लागि हानिकारक मानिन्छन्।

दसैंलगायत चाडपर्वका परिकार ठिक्क मात्रा मिलाएर ठिक तरिकाले खाएमा स्वास्थ्यमा असर नपर्ने उपे्रती बताउँछिन्। उनी भन्छिन, ‘पेट अघाए पनि जिब्रोको स्वादका लागि खानेकुरा खाइरहन्छौं, जुन गलत हो।’

विज्ञापन

उनका अनुसार मासुका परिकार मात्र धेरै खाँदा पेटमा कब्जियतको समस्या आउन सक्छ। ठिक्क मासुसँगै तरकारी, सलाद, फलफूल खाँदा स्वास्थ्यका लागि फाइदा हुन्छ।

मासुको मात्रा सामान्य स्वस्थ र दीर्घरोगीको हकमा फरकफरक हुनुपर्छ। उच्च रक्तचाप, मधुमेह, मुटुजस्ता दीर्घरोगीले मासु खाँदा सजग हुनुपर्छ। दसैंमा बढी मात्रामा खसीको मासु प्रयोग हुन्छ। खसी रातो मासुको समूहमा पर्छ। रातो मासुमा उच्च मात्रामा बोसो हुन्छ। खसीको मासु खाँदा विशेष सतर्कता अपनाउनुपर्ने उप्रेती सुझाउँछिन्। उच्च मात्रामा बोसो पाइने भएकाले रातो मासु सकेसम्म कम खानुपर्छ। ‘खसीको मासु दिनमा चारदेखि पाँच चोक्टा मात्र खान सकिन्छ,’ उनले भनिन्।

मासुसँगै कोक, फेन्टा र रक्सी स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यी पेय पदार्थमा अत्यधिक चिनीको मात्रा र पेय पदार्थ संरक्षण गर्न राखिएका रसायन स्वास्थ्यका लागि हानिकारक हुन्छन्। यस्ता पेय पदार्थको सट्टा घरैमा मही, दही, सादा लस्सी बनाएर खान सकिन्छ। मधुमेहका बिरामीले कागती–पानीको सर्वत बनाएर पिउँदा फाइदा हुन्छ। प्याकेटमा पाइने जंकफुडलाई दसैंको परिकारमा समावेश नगर्न उनको सुझाव छ। एकछाक मासुसहितका गरिष्ठ खाना खाइएको छ भने अर्को छाक खाना नखाईकन बस्दा स्वास्थ्यलाई फाइदा मिल्छ। कोदो फापरको रोटी, प्यान केक, महीको करी बनाएर पनि खान सकिने उपे्रती सुझाउँछिन्।

वीर अस्पतालकी पोषणविद् साजना दाहाल दसैंमा मासु पोलेर खाने, रातो मासुको बढी प्रयोग गर्ने, मासु भुटेर खाने, उच्च रुपमा प्रशोधन गरिएका खाना र चिनीजन्य पेयपदार्थ खाने चलन बढेको बताउँछिन्। उनी यी परिकारमा सुधार आवश्यक रहेको सुझाउँछिन्।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वस्थ मानिसले सातामा पाँच सय ग्राम र दैनिक ५० देखि ६० ग्राम मात्र मासु खान मिल्छ। रातो मासुमा भिटामिन बी–१२ र आइरनको मात्रा पर्याप्त हुने भएकाले मात्रा मिलाएर खाएमा लाभ मिल्छ।

कुनै पनि परिकार पकाउँदा सरल तरिकाले छोपेर पकाउने, धेरै चिल्लो र मसला प्रयोग नगरी हल्का तापक्रममा विस्तारै पकाएमा पौष्टिक तत्व नष्ट हुँदैन। ‘भुटेर/तारेर पकाउनु हुँदैन’, उनले भनिन्।

मासुमा नुनको मात्रा अत्यधिक हुने हुनाले सकेसम्म कम नुन राखेर पकाउनुपर्छ। दसैंमा मासुसँगै तरकारी, सलाद, फलफूल र फाइबर पनि खानुपर्छ। दसैंमा नियमित व्यायाम पनि उत्तिकै आवश्यक भएकाले दैनिक कम्तीमा आधा घण्टा हिँड्नुपर्ने दाहाल सुझाउँछिन्। मुटु, उच्चरक्तचाप, मिर्गौला र मधुमेहका बिरामीले चिनीजन्य पेय पदार्थ र मदिरा सेवन गर्न नहुने उनी बताउँछिन्। व्रतका नाममा लामो समयसम्म पेट खाली राख्न नहुने उनको भनाइ छ।

दसैंमा धेरै मासु प्रयोग हुने भएकाले यसलाई उचित रुपमा भण्डारण गर्न सुझाउँछिन दाहाल। मासु पकाएको दुई घण्टाभित्र माइनस ८ डिग्री सेल्सियस तापक्रम रहेको फ्रिजमा भण्डारण गर्नुपर्छ। राम्रोसँग प्याक गरेर मात्र भण्डारण गरेमा पौष्टिक तत्व र ताजागी सुरक्षित हुने उनी बताउँछिन्। निक पूर्वाधारमा आधारित राष्ट्रिय डाटा एक्सचेन्ज प्लेटफर्म स्थापना तथा सञ्चालनको कार्य सय दिनभित्र प्रारम्भ गर्ने।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

स्वास्थ्य बाट थप

थप — स्वास्थ्य

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।