कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघ, प्रदेश र स्थानीय तहबिचको समन्वय र सहकार्य बलियो बनाउनुपर्ने बताएका छन्।
विराटनगरमा मंगलबारदेखि सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनले संघीयता कार्यान्वयनमा देखिएका कानुनी तथा नीतिगत समस्या समाधान गर्नुपर्ने बताएका हुन्। प्रदेशका अधिकार स्पष्ट नहुँदा काम गर्न कठिन भएको भन्दै संविधान संशोधन गर्दा तीनै तहका अधिकार स्पष्ट पार्नुपर्ने उनको भनाइ छ।
उनले सम्मेलन संघीय सरकारको आलोचना गर्न नभई प्रदेशका उपलब्धि, कमजोरी र साझा समस्या छलफल गरेर समाधान खोज्न आयोजना गरिएको बताए। सातै प्रदेशका मुख्यमन्त्रीसहित प्रमुख सचिव, योजना आयोगका उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताको सहभागिताले छलफललाई प्रभावकारी बनाउने उनको विश्वास छ।

कार्कीले जलवायु परिवर्तनका कारण बढिरहेका विपद् र लागुऔषध दुर्व्यसनलाई प्रदेशका साझा चुनौतीका रूपमा प्रस्तुत गरे। यी समस्या समाधान गर्न प्रदेश सरकारले स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजसँग सहकार्य गर्नुपर्ने उनले बताए।
त्यस्तै, राष्ट्रिय पुँजी निर्माण र रोजगारी बढाउन कृषि तथा पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने कार्कीको भनाइ छ। प्रदेशहरूबिच साझा नीति, कार्यक्रम र लगानीमार्फत विकासका काम अघि बढाउनुपर्ने उनले बताए।
उनले सम्मेलनबाट प्राप्त निष्कर्ष संघीय सरकारसँग छलफल गरी कार्यान्वयन गर्ने र प्रदेशहरूबिच नियमित संवादका लागि साझा मञ्च बनाउने योजना पनि सुनाए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।