ब्रेकिङ न्युज
विज्ञापन
अर्थतन्त्र

महेन्द्र र पृथ्वी राजमार्ग स्तरोन्नतिका लागि एडीबीको ४७ अर्ब सहायता स्वीकृत

एसियाली विकास बैंक (एडीबी)ले महेन्द्र राजमार्ग र पृथ्वी राजमार्ग स्तरोन्नति तथा कर्णाली राजमार्ग सुधारका लागि करिब ४७ अर्ब रुपैयाँ बराबरको वित्तीय सहायता स्वीकृत गरेको छ।

एडीबीले ३० करोड ५७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहायता स्वीकृत गरेको हो। यसमा २८ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण, दुई करोड डलर अनुदान र ७ लाख ५० हजार डलर प्राविधिक सहायता समावेश छ।

स्वीकृत रकममध्ये २४ करोड ५० लाख डलर नारायणगढ–हेटौंडा सडक खण्ड र तीन करोड डलर मुग्लिङ–आँबुखैरेनी सडक खण्ड स्तरोन्नतिमा खर्च गरिनेछ। त्यस्तै, एक करोड डलर कर्णाली राजमार्ग सुधारका लागि उपयोग हुनेछ। अनुदान रकम भने नारायणगढ–हेटौंडा खण्डअन्तर्गत टिकौली जंगलमा वन्यजन्तुमैत्री भायडक्ट निर्माणमा खर्च गरिनेछ।

विज्ञापन

नारायणगढ–हेटौंडाको करिब ७० किलोमिटर सडकलाई दुई लेनबाट चार लेनमा विस्तार गर्ने योजना छ। यसका लागि तीन प्याकेजमा ठेक्का आह्वान भइसकेको छ। टिकौली जंगल क्षेत्रमा करिब दुई किलोमिटर लामो भायडक्ट निर्माण गर्ने योजना छ। यसले सवारीसाधन र वन्यजन्तुबीच हुने दुर्घटना न्यूनीकरण गर्नुका साथै जैविक विविधता संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मुग्लिङ–आँबुखैरेनीको करिब ८.७ किलोमिटर सडक खण्डको ठेक्का प्रक्रिया भने एडीबीको सहमति पर्खिरहेको छ। सहमति प्राप्त भएपछि निर्माण प्रक्रिया अघि बढाइने आयोजना निर्देशनालयले जनाएको छ।

कर्णाली राजमार्गतर्फ प्राप्त हुने रकमबाट करिब ७३ किलोमिटर सडक खण्डमा सडक चौडा गर्ने, घुम्ती सुधार गर्ने, सडक सुरक्षा संरचना निर्माण गर्ने तथा अन्य सुधारका काम गरिनेछ।

नेपाल सरकारले ऋण स्वीकार गर्ने निर्णय गरिसकेको भए पनि सहायता कार्यान्वयनका लागि द्विपक्षीय सम्झौता हुन बाँकी छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार ऋण सम्झौता आगामी नोभेम्बरमा गर्ने तयारी छ।

एडीबीका नेपालस्थित देशीय निर्देशक अर्नाउड कोच्वाले परियोजनाले यातायात सम्पर्क सुधार, क्षेत्रीय व्यापार प्रवर्द्धन, सडक सुरक्षा र वन्यजन्तुको आवागमन संरक्षणमा योगदान पुर्‍याउने बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।