पूर्ण सरकारी स्वामित्वको उद्योग उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेको सञ्चालक समिति अध्यक्षमा प्रतिष्ठितलाल श्रेष्ठ नियुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई सञ्चालक समिति अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको निर्णय अमोजिम शुक्रबार श्रेष्ठले अध्यक्षको नियुक्ति लिएका छन् । काठमाडौँ महानगरपालिका १४ का स्थायी बासिन्दा श्रेष्ठ काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक हुन् । मेकालिकल इन्जिनियर रहेका श्रेष्ठ विश्वविद्यालयको मेकानिकल विभाग प्रमुखसमेत हुन् ।
मन्त्रिपरिषद्को सोही बैठकले उद्योग सञ्चालन समितिको २ सदस्यमा क्रमशः आशिष आचार्य र बिबेक अधिकारी नियुक्त गर्ने निर्णय गरेको छ । आचार्य तुलसीपुर उपमहानगरपालिका ५ दाङका हुन् भने अधिकारी भरतपुर महानगरपालिका २६ चितवनका हुन् । उनीहरुले पनि शुक्रबारै नियुक्ति लिइसकेको उद्योगका निमित्त महाप्रबन्धक (जिएम) बैद्यनाथ झाले बताए ।

उद्योग मन्त्रालयले गत भदौ १६ गते गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरि उसिउलिको सञ्चाक अध्यक्ष र सदस्यका लागि दरखास्त आव्हान गरेको थियो । जस अनुसार ९ जनाको आवेदन परेककोमध्ये अन्तिम स्पर्धामा श्रेष्ठ, आचार्य र अधिकारी ३ जना छनौट भएका थिए ।
मन्त्रालयको सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७८ अनुसार रिक्त सञ्चालक अध्यक्ष तथा सदस्य छनौटका लागि गठित सिफारिस समितिले असोज ६ गते लिएको परीक्षाबाट उनीहरुको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेका ३ मध्ये १ जना अध्यक्ष र बाँकी २ सदस्यमा नियुक्त भएको जिएम झाले बताए ।
झाले मन्त्रिपरिषद्बाट नियुक्ति लिएपछि अध्यक्ष श्रेष्ठले उद्योगको विषयमा चासो राखेका छन् । चाँडै उद्योग आउने तयारीमा रहेका उनले निमित्त जिएम झासँग भेटेर उद्योगको बस्तुस्थिति, पछिल्लो अवस्था, सुचार गर्नका लागि आवश्यक तयारी र अन्य व्यवस्थापकीय उपायलगायत विषयमा आफुसँग छलफल गरेको झाले बताए ।
आर्थिक अभावले थला परेको उसिउलि विगत झण्डै ४ वर्षयता व्यवस्थापकीय नेतृतवविहीन छ । दक्षिण एसियाकै गुणस्तरीय सिमेन्ट गैँडा ब्राण्ड उत्पादक, दैनिक ८ सय मेट्रिक टन उत्पादन क्षमता भएको उसिउलिको जिएमका लागि पनि वर्तमान सरकारले खुल्ला प्रतिस्पर्धादेवारा नियुक्ति प्रकृया अन्तिम चरणमा पुर्याएको छ ।
मन्त्रालयले आव्हान गरेको विज्ञापन अनुसार विभिन्न जिल्लाका ९ जना आकाँक्षीको आवेदन परेको थियो । उदयपुरका शैलेशकुमार थापा, चितवनका उमेश लामिछाने, कालीकोटका कमल शाही, काठमार्डौँका भोलानाथ रेग्मी र रुपक खड्का, गुल्मीका रामकृष्ण पन्थी, अर्घाखाँचीका रामचन्द्र पाण्डे, भक्तपुरका सुरेशकुमार कार्की र तामाकोशी गाउँपालिका ४ दोलखाका मित्रमणि पोखरेल जिएमका लागि आवेदक थिए ।
उनीहरुलाई यही असोज १३ र १४ गते व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि बोलाइएको थियो । सबै प्रतिस्पर्धीहरुले तोकिएकै मिति र समयमा परीक्षा दिइसकेको मन्त्रालयका तत्कालीन सहसचिव रामबाबु सुबेदीले बताए । सुबेदीका अनुसार परीक्षार्थीमध्ये उत्कृष्ट ३ जनाको नाम सिफारिस समितिले मन्त्रालयमा सिफारिस गरिसकेको छ ।
तर, परीक्षालगत्तै आफु उद्योगबाट पर्यटन मन्त्रालयमा सरुवा भईसकेकाले सिफारिसमा परेका नामहरु भन्न नमिल्ने सुबेदीले बताए । परीक्षा सम्पन्न गरेर छनौट समितिले नियमानुसार उत्कृष्ट ३ जनाको नाम मन्त्रालयमा सिफरिस गरिसकेको बताउँदै सुबेदीले ३ मध्ये १ जनालाई चाँडै मन्त्रालयले नियुक्ति दिने बताए । संभवत आउँदो सोमबारसम्ममा उसिउलिले जिएम पाउने अनुमान उनको छ ।
निमित्त जिएम झाले जिएमका प्रतिस्पर्धीहरुको परीक्षाको अन्तिम नतिजा भने अझै सार्वजनिक नभईसकेको बताए ।
उद्योगले गत ०८० असारयता जिएम पाएको छैन । अन्तिम जिएमका रुपमा ०७७ माघ १ गते नियुक्ति पाएका तत्कालीन जिएम गोपीकृष्ण न्यौपाने ०८० असार ४ गते पदावधि सकिएर घर फर्केयता उद्योग नेतृत्वविहीन हुन पुगेको हो । त्यसयता ६ महिना अवधिका लागि मन्त्रालयका उपसचिव खगेन्द्र बस्नेतलाई पठाए पनि बाँकी अवधि निमित्तका भरमा चल्दै आएको छ ।
न्यौपानेको फिर्तिपति ०८० असार मसान्तसम्म इन्जिनियर उमाशंकर आनन्द निमित्त भए, उनको अवकाशपछि ०८० साउन १ देखि भदौ १४ गतेसम्म इन्जिनियर महेश साहले निमित्त चलाए भने ०८० भदौ तेस्रो सातादेखि फागुन १४ गतेसम्म मन्त्रालयले उपसचिव खगेन्द्र बस्नेतलाई नियुक्ति दिएर पठायो । ०८० फागुन २२ देखि देखि ०८२ साउन १४ सम्म पुनः महेश साह निमित्त हुन पुगे ।
साहको अनिवार्य अवकाशपछि साउन २१ देखि ०८३ असार २३ सम्म अर्का इन्जिनियर कोविद काफ्ले निमित्त भएकोमा उनको पनि अनिवार्य अवकाशपछि ०८३ असार २५ देखि हालसम्म झाले निमित्त जिएम भएर उद्योगको बागडोर सम्हाल्दै आएका छन् ।
हाल उद्योगमा कार्यरत कर्मचारीहरुले ०८१ चैतदेखि तलबभत्ता खानसमेत नपाएको अवस्था छ भने ०७९ भदौदेखि अहिलेसम्म सञ्चयकोष र नागरिक लगानी कोषको रकम, बिमा शूल्क दाखिलालगायत बिभिन्न शीर्षकक गरि करोडौँको दायित्व छ । विद्युत महसुल, टं्रक लाईन तथा डेडिकेटेड फिडरको बक्यौताबाहेक मात्र बिभिन्न ८ शीषृकको ३५ करोड ४७ लाख ९९ हजार ६ सय ६ रुपैँया ६० पैसा दायित्व छ ।
त्यसैगरि अवकाश प्राप्त कर्मचारीको निबृत्तिभरण भर्न मात्र ८२ करोड २५ लाख ३५ हजार ७दसय ५२ रुपैँइा ५३ पैसा दायित्व रहेको झाले बताएका छन् ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।