ब्रेकिङ न्युज
विज्ञापन
प्रवास

ममताको अन्तिम फोन छुटाएकी ‘रुममेट’ ले अदालतमा के भनिन् ?

अमेरिकामा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्टकी साथी नादिया नवारोले ममताले आफूलाई फोन गरेको तर उठाउन नसकेको बताएकी छन्।

ममताका पति नरेश भट्टविरुद्ध चलिरहेको हत्या मुद्दामा सोमबार (स्थानीय समय) बयान दिँदै नवारोले ममतासँगको मित्रता, अन्तिम फोन र उनी बेपत्ता भएपछि खोजीका लागि गरेको प्रयासबारे जानकारी दिएकी हुन्।

ममता सन् २०२४ को जुलाईमा अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा रहेको घरबाट बेपत्ता भएकी थिइन्। उनको शव अहिलेसम्म फेला परेको छैन। उनी बेपत्ता भएको तीन सातापछि पति नरेश पक्राउ परेका थिए।

विज्ञापन

उनीमाथि पहिलो तहको हत्या, शव लुकाउने र शव अपवित्र बनाउने आरोप लगाइएको छ। नरेशले आफूविरुद्धका आरोप अस्वीकार गरेका छन्। उनको मुद्दाको सुनुवाइको तेस्रो हप्ता सोमबार सुरु भएको हो, जुन मंगलबार पनि जारी रहनेछ।

नरेश र ममताको भेट ममता नेपालमै बस्दै गर्दा भएको थियो। विवाहपछि नरेशले उनलाई अमेरिका ल्याउन स्पोन्सर गरेका थिए। सन् २०२१ को शरद ऋतुमा ममताको भेट नादिया नवारोसँग भएको थियो।

नवारोका अनुसार नरेशले आफ्नी श्रीमतीसँग कोठा सेयर गर्न सक्ने व्यक्तिको खोजी गरिरहेका थिए। ममता पहिलो पटक अमेरिका आएकी भएकाले उनलाई त्यहाँको वातावरणमा घुलमिल हुन र अंग्रेजी भाषामा सहयोग गर्न सक्ने साथी चाहिएको थियो।

‘उनका श्रीमानले आफ्नी श्रीमतीसँग कोठा सेयर गर्न कोही खोजिरहेको बताएका थिए। उनी पहिलो पटक अमेरिका आउँदै थिइन्। उनलाई घुमाउन र अंग्रेजीमा सहयोग गर्न सक्ने व्यक्ति चाहिएको थियो। त्यसको बदलामा उनले निकै सस्तोमा कोठा उपलब्ध गराउने प्रस्ताव गरेका थिए,’ नवारोले अदालतमा भनिन्।

ममता र नवारो भर्जिनियाको फल्स चर्चस्थित एउटा अपार्टमेन्टमा एउटै कोठा सेयर गरेर बस्थे। नवारोका अनुसार केही महिनासँगै बस्दा उनीहरू निकै नजिक भएका थिए। कोभिड-१९ महामारीको समय भएकाले उनीहरू धेरैजसो अपार्टमेन्टभित्रै समय बिताउँथे।

उनीहरू एकअर्काको कपाल काट्ने, मेकअप गरिदिने, युट्युब भिडियो हेर्ने र सँगै पढ्ने गर्थे। त्यतिबेला नवारो जीवविज्ञान विषय अध्ययन गरिरहेकी थिइन् भने ममता नर्स बन्न आवश्यक एनसीएलएक्स परीक्षा उत्तीर्ण गर्ने तयारीमा थिइन्।

नवारोका अनुसार नरेश उनीहरूसँग अपार्टमेन्टमा बस्दैनथे। तर, उनी ममता बाहिर गएको चाहँदैनथे। ममतासँग अमेरिकामा आएको पहिलो महिना मोबाइल फोनसमेत थिएन। उनी ल्यापटपमार्फत सम्पर्क गर्थिन्।

ममताले तुरुन्तै जवाफ नदिए नरेशले नवारोलाई सन्देश पठाएर ममतालाई अपार्टमेन्टमा फर्कन भन्न लगाउने गरेको उनले बताइन्। नवारोले यससम्बन्धी एउटा घटना सुनाउन खोजेकी थिइन्, तर प्रतिरक्षा पक्षका वकिलले त्यसको धेरैजसो विवरणमा आपत्ति जनाए।

जनवरी २०२२ मा नवारो अपार्टमेन्टबाट अन्यत्र सरेकी थिइन्। तर, उनीहरू फेसबुक मेसेन्जरमा भिडियो कल गरेर सम्पर्कमा रहन्थे। सन् २०२४ को जुलाईमा उनीहरूले ममताकी सानी छोरीसँगै घुम्न जाने योजना बनाएका थिए। तर, त्यो योजना पूरा हुन सकेन।

सन् २०२४ जुलाई २८ को साँझ करिब ५ बजे नवारोको फोनमा ममताको नम्बरबाट कल आएको थियो। आफू बिरामी भएकाले तत्काल फोन उठाउन नसकेको उनले सुनाइन्। केही दिनपछि एक महिलाले फेसबुकमार्फत सम्पर्क गरेर ममता बेपत्ता भएको जानकारी गराएकी थिइन्। ती महिलाका अनुसार ममता भेट्नेबारे कुरा गरेकी अन्तिम व्यक्तिहरूमध्ये नवारो पनि एक थिइन्।

‘मलाई त्यो निकै अनौठो लाग्यो। त्यसैले मैले ममतालाई तुरुन्तै दुई पटक फोन गरेँ। तर, उनले फोन उठाइनन्। यस्तो लगभग कहिल्यै हुँदैनथ्यो। उनी फोन उठाउन निकै सजग थिइन्,’ नवारोले थप भनिन्।

ममता बेपत्ता भएको भोलिपल्टै नवारोले उनको खोजीका लागि पर्चा छपाएकी थिइन्। उनी सामुदायिक खोजी अभियान सञ्चालन गर्नेहरूमध्ये एक थिइन् र ममता खोज्ने प्रयासमा सक्रिय रूपमा सहभागी भएकी थिइन्। सन् २०२४ मा उनले मनासस पार्कमा आयोजित खोजी अभियानका क्रममा अमेरिकी सञ्चारमाध्यम डब्लूयूएसए९सँग कुराकानीसमेत गरेकी थिइन्।

ममताको खोजीमा सहयोग जुटाउन नवारोले आर्थिक सहयोग संकलन अभियान पनि सुरु गरेकी थिइन्। तर, पछि उनले सहयोग गर्ने सबैलाई रकम फिर्ता गरिन् र अभियानमा भएको खर्च आफैंले बेहोरेकी थिइन्। अदालतमा सरकारी वकिल क्याथरिन विलियम्सले खोजी अभियान चलाउँदासम्म ममता फर्केर आउने आशा राखेको हो कि भनेर सोधेकी थिइन्। ‘होइन,’ नवारोले निराश हुँदै जवाफ दिइन्।

नरेश पक्राउ पर्नुभन्दा केही दिनअघि ममता र नरेशकी छोरी एक वर्षकी भएकी थिइन्। छोरीको जन्मदिन मनाउन आयोजना गरिएको कार्यक्रममा नवारो पनि सहभागी भएकी थिइन्। त्यही कार्यक्रममा नरेशले नवारोलाई भेटेर आफूले केही कुरा भन्नुपर्ने बताएका थिए। तर, नवारो उनीसँग एक्लै बस्न चाहन्नथिन्।

‘म उनीसँग एक्लै बस्न चाहन्नथेँ, त्यसैले उनले के भन्न खोजेका थिए भन्ने मैले कहिल्यै थाहा पाइनँ,’ नवारोले अदालतमा भनिन्।

सोमबार बिहानको बयानपछि नवारोलाई अदालतबाट बिदा दिइएको थियो। तर, सरकारी वकिलहरूले उनलाई सुनुवाइका क्रममा फेरि साक्षीका रूपमा बोलाउने बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

प्रवास बाट थप

थप — प्रवास

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।