यमनका हुथी विद्रोहीले साउदी अरबलाई लक्षित गर्दै एक ड्रोन र एक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।
हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनले साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचमै रोकेर नष्ट गरेको जनाएको छ।
गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले सोमबार सामाजिक सञ्जाल एक्समार्फत छुट्टाछुट्टै वक्तव्य जारी गर्दै उक्त जानकारी दिए।

उनका अनुसार साउदी अरबको पूर्वी प्रान्तमा ड्रोनलाई रोकिएको थियो भने हुथी विद्रोहीले देशको दक्षिणपश्चिमी क्षेत्रस्थित खमिस मुशैततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए।
साउदी अरबका दुई विमानस्थललाई आइतबार लक्षित गरी आक्रमण गरिएपछि सीमापार तनाव थप चुलिएको छ।
साउदी उड्डयन अधिकारीहरूका अनुसार रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो भने अन्य ११ जना घाइते भएका थिए।
त्यसैगरी, दमामनजिकै रहेको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आक्रमण भएको जनाइएको छ।
यसअघि शनिबार किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हुथी आक्रमणमा १२ जनाको मृत्यु भएको र ३०९ जना घाइते भएको साउदी अधिकारीहरूले बताएका थिए।
लगातार भइरहेका आक्रमण र प्रत्याक्रमणका घटनाले साउदी अरब र यमनका हुथी विद्रोहीबीचको तनाव थप बढाएको छ।सिन्ह्वा


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।