ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

ग्रीसका लागि अमेरिकी राजदूत हटाउने तयारीमा ट्रम्प, के छन् आरोप?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले ग्रीसका लागि अमेरिकी राजदूत किम्बर्ली गिलफोयललाई पदबाट हटाउनेबारे विचार गरिरहेको बताइएको छ।

गिलफोयलमाथि राजदूत बन्नुअघि र बनेपछि अनुचित तथा सम्भावित गैरकानुनी काम गरेको आरोप लागेको छ।

एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार ट्रम्प र रुबियो यी आरोपबाट ‘अत्यन्तै रिसाएका’ छन्। एपीका अनुसार उनीहरूले यसै साता गिलफोयलमाथि के कारबाही गर्ने भन्ने निर्णय गर्नेछन्। रुबियो गत साता एथेन्स पुगेका बेला गिलफोयल उनका अधिकांश कार्यक्रममा सहभागी भएकी थिइन्।

विज्ञापन

वाल स्ट्रिट जर्नलका अनुसार गिलफोयलमाथि ग्रीक अधिकारीलाई धम्की दिएको, अनुचित उपहार तथा सुविधा लिएको र एक लाख अमेरिकी डलरको क्रेडिट कार्ड बिल तिरिदिए ट्रम्प प्रशासनका अधिकारीहरूसँग भेट मिलाइदिने प्रस्ताव गरेको आरोप छ।

गिलफोयलका वकिलले भने आरोप अस्वीकार गरेका छन्। उनीहरूका अनुसार मागिएको रकम राजदूत बन्नुअघि गरेका भाषण र सार्वजनिक कार्यक्रममा सहभागी भएबापत पाउनुपर्ने भुक्तानी थियो। निजी विमानमा यात्रा गर्दा पनि उनले विदेश मन्त्रालयका नियम पालना गरेको वकिलहरूको दाबी छ।

‘गिलफोयलले इमानदारी र सम्मानका साथ काम गरेकी छन् र गरिरहनेछिन्,’ वकिलहरूले विज्ञप्तिमा भनेका छन्। उनीहरूले आरोपविरुद्ध कानुनी कदम चाल्ने पनि बताएका छन्।

रुबियोले सुरुमा गिलफोयललाई ‘बलियो राजदूत’ भनेका थिए। तर, थप आरोप सार्वजनिक भएपछि उनले ती आरोप सत्य हुन् वा होइनन् भन्ने आफूलाई थाहा नभएको बताए। पुष्टि नभएका आरोपबारे जवाफ नदिने उनको भनाइ थियो।

अमेरिकी विदेश मन्त्रालयका महानिरीक्षकले आरोपबारे अनुसन्धान गरिरहेको एक अधिकारीले बताएका छन्। तर, औपचारिक अनुसन्धान सुरु भएको हो वा होइन भन्ने स्पष्ट छैन। विदेश मन्त्रालयले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।

अमेरिकी संसद्का केही डेमोक्र्याट नेताले पनि गिलफोयलमाथि अनुसन्धान गर्न माग गरेका छन्। उनीमाथि ग्रीक सरकारलाई कमजोर पार्ने धम्की दिएको, एउटा निर्माण तथा ऊर्जा कम्पनीको व्यावसायिक हित अघि बढाउन खोजेको र निजी कूटनीतिक बैठकमा आफ्ना पैरवीकर्तालाई सहभागी गराउन खोजेको आरोप पनि लागेको छ।

बेलायती पत्रिका डेली मेलले पनि एथेन्सस्थित अमेरिकी दूतावासका कर्मचारीसँग गिलफोयलको व्यवहारबारे प्रश्न उठाएको थियो। गिलफोयल फक्स न्युजकी पूर्व प्रस्तोता हुन्। उनले क्यालिफोर्नियामा सरकारी वकिलका रूपमा काम गरेकी थिइन्।

गिल्फोयल कुनै समय डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरसँग इन्गेजमेन्टमा समेत थिइन्। तर ६ वर्ष लामो प्रेम सम्बन्धमा रहे पनि उनीहरूबिच विवाह भने हुन सकेन।

सन् २०१८ देखि डेटिङ सुरु गरेका उनीहरूले सन् २०२० को डिसेम्बरमा इन्गेजमेन्ट गरेका थिए। तर, सन् २०२४ को अन्त्यतिर उनीहरूको यो सम्बन्ध ब्रेकअपमा परिणत भएको थियो। एजेन्सीको सहयोगमा

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।