अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केटी जकारियालाई ह्वाइट हाउसको नयाँ प्रेस सचिव नियुक्त गरेका छन्। उनले अगस्टको अन्त्यमा पद छाडेकी क्यारोलिन लेभिटको स्थान लिनेछिन्।
ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै जकारियालाई नयाँ प्रेस सचिव नियुक्त गरेको घोषणा गरेका हुन्। उनले जकारियालाई सुरुदेखि नै साथ दिँदै आएकी वफादार र उत्कृष्ट समर्थकका रूपमा वर्णन गरेका छन्। जकारियाले पनि यो जिम्मेवारी पाउनु आफ्नो लागि ठूलो सम्मान भएको बताएकी छन्।
ट्रम्पले सोमबार ट्रुथ सोसलमा पोस्ट गर्दै जकारियाले स्थानीय समय अनुसार मंगलबार बिहान साढे ९ बजे ह्वाइट हाउसमा पहिलो पत्रकार सम्मेलन गर्ने जानकारी समेत गराए। उनले यसअघि अमेरिकी गृह सुरक्षा विभागको प्रवक्ताका रूपमा काम गरेकी थिइन्।

जकारियासँग ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपको वरिष्ठ सञ्चार सल्लाहकार भएर काम गरेको अनुभव पनि छ। उक्त कम्पनीले ट्रुथ सोसल सञ्चालन गर्छ। उनी फक्स न्युज र न्युजम्याक्सजस्ता सञ्चारमाध्यममा राजनीतिक टिप्पणीकारका रूपमा पनि देखिँदै आएकी थिइन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार जकारियाको व्यावसायिक अनुभव अमेरिकामा मात्र सीमित छैन। उनले चीनको राजधानी बेइजिङमा करिब दुई वर्ष बिताएकी थिइन्। त्यहाँ उनले चीनको प्रमुख कानुनी फर्म झोङ लुनमा काम गर्नुका साथै चिनियाँ भाषा अध्ययन पनि गरेकी थिइन्।
बेइजिङमा रहँदा उनले अन्तर्राष्ट्रिय कानुनसम्बन्धी काम गरेकी थिइन्। साथै, आप्रवासी कामदारका बालबालिकालाई सहयोग गर्ने संस्थाका लागि कोष संकलन र सञ्चारको जिम्मेवारी पनि सम्हालेकी थिइन्। उनले विश्व बैंक समूहसँग सम्बन्धित परामर्श कार्यमा समेत संलग्न भएको बताएकी छन्।
वाशिंगटनस्थित क्विन्सी इन्स्टिच्युटका वरिष्ठ अनुसन्धानकर्ता डेनिस साइमनका अनुसार चीनमा बसेर कानुनी तथा गैरनाफामूलक क्षेत्रमा काम गरेको अनुभवले जकारियालाई त्यहाँको समाज र व्यवसाय बुझ्न सहयोग गर्न सक्छ। तर, चिनियाँ भाषाका केही आधारभूत वाक्य बोल्न जान्नुले चीनको राजनीति र नीतिबारे गहिरो ज्ञान भएको प्रमाणित नगर्ने विज्ञहरूको भनाइ छ।
जकारियाको मुख्य जिम्मेवारी राष्ट्रपति ट्रम्प र उनको प्रशासनका धारणा सञ्चारमाध्यममार्फत सार्वजनिक गर्नु हुनेछ। चीनमा काम गरेको उनको अनुभवले प्रशासनका सन्देश प्रस्तुत गर्ने क्रममा कस्तो भूमिका खेल्छ भन्ने कुरा आगामी दिनमा देखिनेछ। एजेन्सी


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।