बूढीगण्डकी बाढीले गोरखाको आरुघाट गाउँपालिकास्थित आरुघाट र सोती क्षेत्रका दुईवटा मोटरेबल पुल बगाएको छ। गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार बाढीका कारण करिब चार सय वर्ष पुरानो आरुघाट बजारको अस्तित्व नै धरापमा परेको छ।
बाढीले आरुघाट र सोतीका मोटरेबल पुलसँगै अन्य संरचनामा समेत क्षति पुर्याएको अध्यक्ष गुरुङले जानकारी दिए।आरुघाट बजार क्षेत्रका घरहरू डुबानको जोखिममा परेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा गएका छन्।
‘आरुघाटको बस्ती अहिले खाली भइसकेको छ। बजारका कोही पनि मानिस घरमा छैनन्, सबै सुरक्षित स्थानमा गएका छन्,’ अध्यक्ष गुरुङले भने, ‘आरुघाट बजारको अस्तित्व अहिले एकदमै धरापमा छ।’

उनका अनुसार बाढीको पानी आरुघाटको मोटरेबल पुलभन्दा माथिसम्म पुगेको छ। बाढीले बजार क्षेत्रका बस्तीमा समेत असर पुर्याएको छ। स्थानीयवासीलाई बिहानैदेखि सतर्क गराइएको र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको उनले बताए।
बिहान करिब पौने पाँच बजेदेखि सूचना प्राप्त भएपछि प्रहरी तथा सञ्चारमाध्यममार्फत स्थानीयलाई जानकारी गराएर सुरक्षित रहन आग्रह गरिएको उनले बताए।
यसैबीच, आरुघाट गाउँपालिकाको सुन्दरी क्षेत्रका पाँच जना गोठमा बस्ने व्यक्ति सम्पर्कविहीन भएको जानकारी आएको अध्यक्ष गुरुङले बताए। यद्यपि, उनीहरू सम्पर्कविहीन भएको विषयमा आधिकारिक पुष्टि भइनसकेको उनले स्पष्ट पारे।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।