प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीको सफलता कानून कार्यान्वयनमा मात्र सीमित नभई नागरिकको विश्वास जित्न सक्ने क्षमतामा पनि निर्भर रहने बताएका छन्।
सोमबार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी कर्मचारीलाई निष्पक्ष, पारदर्शी र नागरिकप्रति उत्तरदायी भएर काम गर्न निर्देशन दिएका हुन्।
कार्कीले प्रहरी संगठनलाई समयअनुसार प्रविधिमैत्री र व्यावसायिक बनाउँदै लैजानुपर्ने बताए।

साइबर तथा डिजिटल अपराध, अन्तरदेशीय अपराध र विपद् व्यवस्थापनजस्ता चुनौती बढ्दै गएकाले प्रहरीको कार्यशैली र सेवा प्रवाहमा समेत सुधार आवश्यक रहेको उनको भनाइ छ।
उनले आधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गर्दा मानवअधिकार, कानूनी प्रक्रिया र व्यावसायिक विवेकलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
प्रविधिको प्रयोगले प्रहरी सेवालाई प्रभावकारी र पारदर्शी बनाउनुपर्ने बताउँदै उनले कानून कार्यान्वयनका क्रममा कुनै पनि बाह्य प्रभाव, व्यक्तिगत आग्रह वा अनुचित दबाबमा नपर्न प्रहरी कर्मचारीलाई सचेत गराए।
यस्तै, उनले कानूनको पालना गराउनु मात्रै प्रहरीको जिम्मेवारी नभएको बताउँदै त्यसको कार्यान्वयन प्रक्रिया पनि निष्पक्ष, सम्मानजनक र जवाफदेही हुनुपर्ने बताए।
उनले भने,‘नेपाल प्रहरी संविधान र प्रचलित कानूनप्रति प्रतिवद्ध, निष्पक्ष र व्यावसायिक सङ्गठन हो। व्यक्तिगत धारणा, बाह्य प्रभाव र अनुचित दबाबबाट मुक्त भई कानूनको निष्पक्ष कार्यान्वयन गर्नु प्रत्येक प्रहरी कर्मचारीको दायित्व हो।’
उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहसँग सम्बन्धित घटनामा प्रहरीले विशेष संवेदनशीलता अपनाउनुपर्ने बताए।
यस्तै, उनले नागरिकले प्रहरीको निर्णयमा असहमति जनाए पनि प्रहरीको व्यवहारप्रति अविश्वास गर्ने अवस्था आउन नदिनुपर्ने बताए।
‘नागरिकले प्रहरीको निर्णयसँग असहमति जनाए पनि प्रहरीको व्यवहार निष्पक्ष रहेको अनुभूति गर्ने वातावरण निर्माण गर्नुपर्छ’, उनले भने, ‘प्रहरीको शक्ति कानूनले प्रदान गरेको अधिकारमा मात्र होइन, नागरिकले गर्ने विश्वासमा पनि निहित हुन्छ।’


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।