चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा ४ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार साउन र भदौमा कुल ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
प्रतिवेदनअनुसार भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । विदेशमा काम गरिरहेका नेपालीले पठाएको रकमले मुलुकको विदेशी मुद्रा आर्जनमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।

रेमिट्यान्स आप्रवाह बढिरहँदा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्यामा भने अघिल्लो वर्षको सोही अवधिको तुलनामा कमी आएको छ ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ७८ हजार ३२० जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । यस अवधिमा ५२ हजार १६३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९० हजार १९८ थियो । त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको थियो ।
तथ्याङ्कअनुसार नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घटे पनि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । यसले वैदेशिक रोजगारीमा जाने नयाँ श्रमिक र पुनः रोजगारीमा फर्किने श्रमिकको प्रवृत्तिमा फरक देखाएको छ ।
नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको योगदान महत्त्वपूर्ण रहँदै आएको छ । विदेशबाट प्राप्त हुने यस्तो रकमले घरपरिवारको खर्च, शिक्षा, स्वास्थ्य, उपभोग तथा बचतमा सहयोग पुर्याउनुका साथै मुलुकको बाह्य क्षेत्रलाई समेत टेवा दिँदै आएको छ ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।