ब्रेकिङ न्युज
विज्ञापन
अर्थतन्त्र

खसी, बोका र च्यांग्रा नारायणगढमा, मूल्य पनि बढ्यो

जुम्लाको सिँजाका भुन्तो ओडलाई चितवनसम्म च्यांग्रा ल्याउन सहज थिएन। यद्यपि उनले चिसो ठाउँमा हुर्किएका च्यांग्रा दसैंमा बिक्री गर्न चितवन झारे। २५० वटा च्यांग्रा लिएर आएका उनको यात्रा सहज भने थिएन। बाटोमा तीन वटा गाडी परिवर्तन गर्नुप¥यो। लामो यात्राका क्रममा तीन वटा च्यांग्रा मरे तर दसैंको बजारमा च्यांग्रा बेच्ने आशासहित उनी नारायणगढ आइपुगेका छन्।

जुम्लामा प्रतिकिलो एक हजार रुपैयाँसम्म पर्ने च्यांग्रा उनले चितवनमा जिउँदो प्रतिकिलो १ हजार १०० रुपैयाँका दरले बिक्री गरिरहेका छन्। केही च्यांग्रा भने प्रतिकिलो नौ सय रुपैयाँसम्ममा खरिद गरेको उनले बताए।

‘चार–पाँच वर्ष भयो यो व्यापार गर्न थालेको। १४ वर्षको उमेरदेखि नै व्यापारमा लागेको हुँ’, उनले भने, ‘लगानीअनुसार आम्दानी त छैन तर काम गरेअनुसार घरखर्च चल्छ।’ यस वर्ष चितवनमा व्यापार सकेपछि सुर्खेततिर जाने र आफन्तसँग भेटघाट गरेर फर्किने उनको योजना छ।

विज्ञापन

ओडको जस्तै दसैंलाई लक्षित गरेर पहाडी जिल्लाबाट खसी, बोका, भेडा र च्यांग्रा लिएर आउने किसान तथा व्यापारीको चहलपहल नारायणगढमा बढेको छ। चितवनका पहाडी बस्तीका किसान पनि आफूले पालेका खसीबोका बिक्री गर्न बजार झरेका छन् तर यस वर्ष मूल्य भने गत वर्षको तुलनामा बढेको छ। जुम्लाको सिँजाबाटै च्यांग्रा लिएर आएका सोमबहादुर सिँजालीले करिब ९० वटा च्यांग्रा ल्याएका छन्। तीमध्ये ४५ वटाजति बिक्रीका लागि तयार रहेको उनले बताए। च्यांग्रा चितवनसम्म ल्याउन बाटोमै चार दिन बिताएका उनले दुई दिनअघि मात्रै बजारमा झारेका हुन्। गाडी भाडामा मात्रै डेढ लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ।

लामो दूरीबाट पशु ल्याउँदा ढुवानी खर्च र बाटोको जोखिमले लागत बढ्ने गरेको छ। च्यांग्राको बजार मूल्यले सबै खर्च धान्ने हो कि होइन भन्ने चिन्ता व्यापारीमा छ। ‘चितवनमा च्यांग्राको बजार त्यति ठूलो छैन’, उनले भने, ‘ढुवानीमै धेरै खर्च भएको छ।’

दसैंमा घरपरिवारका लागि भेडा किन्नेहरू पनि बजारमा भेटिन्छन्। डम्बर घले तीन वटा भेडा किन्न आएका थिए। उनले आफूले किनेका भेडा बुवाआमाका लागि भएको बताए। दसैंमा बुवाआमाले भेडा काटेर चाड मनाउने भएकाले उनी भेडा लिन बजार आएका हुन्।

चितवनकै पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका–७ का दीपक विक पनि खसीबोका लिएर नारायणगढ आएका छन्। उनले साना पाठा बिक्रीका लागि ल्याएका हुन्। गाउँमा आफूले पालेका तथा आफन्तका खसीबोका बिक्री गर्ने गरेको उनले बताए।

पाठा प्रतिकिलो साढे सात सयदेखि आठ सय रुपैयाँसम्ममा बिक्री गर्ने उनको तयारी छ। गाउँमै पनि बेलाबेला खसीबोका बिक्री हुने भए पनि यस पटक उनी नारायणगढ आएका हुन्। तनहुँको देवघाटभन्दा माथिको बगन्दी र दाहाखानी घेरले क्षेत्रबाट रमेश सुनुवार पनि बोका लिएर आएका छन्। उनले मंगलबार दुई वटा बोका ल्याएका थिए भने बुधबार थप १६ वटा ल्याएर बिक्रीका लागि राखेका थिए। त्यहाँका किसानले बोका प्रतिकिलो ६५० देखि सात सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनले बताए।

पहाडी क्षेत्रबाट ल्याइएका खसी बोका बिक्री गर्न सहज होस् भन्ने उद्देश्यले नारायणगढमा व्यवस्थित खसीबोका बजार सञ्चालन गरिएको छ। श्री गणेश टोल विकास संस्थाले नेपाल ट्रस्ट, भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर दुई वर्षदेखि दसैंको समयमा बजार व्यवस्थापन गर्दै आएको छ।

संस्थाका कार्यवाहक अध्यक्ष राजु अधिकारीका अनुसार पहिले दसैंमा खसीबोका जथाभाबी राख्दा दिसापिसाब, दुर्गन्ध र ट्राफिक जामको समस्या हुने गरेको थियो। त्यसलाई व्यवस्थित गर्न खुला ठाउँमा बजार सञ्चालन गरिएको हो। यहाँ किसानले आफूले पालेका खसी, बोका, भेडा र च्यांग्रा सिधै उपभोक्तालाई बिक्री गर्न सक्छन्। खरिदकर्ता पनि किसानसँग प्रत्यक्ष भेटेर खसीबोका हेर्न र ढकतराजुमा तौल गरेर कारोबार गर्न पाउँछन्।

बजारमा किसान र उपभोक्ताबिच प्रत्यक्ष कारोबार हुने भएकाले बिचौलियाको भूमिका कम हुने अपेक्षा गरिएको छ। यस वर्ष बजारमा कारोबार अपेक्षाअनुसार बढ्न सकेको छैन। अधिकारीका अनुसार बजारमा पहिलो दिन करिब ४० वटा खसीबोका बिक्री भएका थिए भने बुधबार २५ वटा कारोबार भएको थियो। स्थानीय स्तरमा भएका बिक्रीको विवरण भने संकलन भइसकेको छैन।

चितवनमा यस वर्ष दसैं–तिहार लक्षित खसीबोकाको कारोबार बढ्ने अनुमान व्यवसायीको छ। खसीबोका मासु व्यवसायी संघ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलका अनुसार गत वर्ष चाडपर्वका बेला १० देखि १२ हजार खसीबोका बिक्री भएको तथ्यांक थियो। यस वर्ष १५ हजारसम्म बिक्री हुने अनुमान गरिएको छ। घरमै पालेर काट्ने पशुको संख्या भने उक्त तथ्यांकमा समावेश छैन।

उनका अनुसार यस वर्ष खसीबोकाको मूल्य पनि बढेको छ। बजारमा प्रतिकिलो १२ सयदेखि १३ सय रुपैयाँसम्म मूल्य रहेको उनले बताए। विगतमा प्रतिकिलो साढे सात सय रुपैयाँसम्ममा खसीबोका बिक्री हुने गरेको स्मरण गर्दै उनले लागत बढ्नु भारतबाट आउने खसीबोकाको आपूर्ति कम हुनु र बजारको माग बढ्नुले मूल्यमा असर परेको बताए।

‘व्यवसायीले पनि कम नाफा राखेर बिक्री गरिरहेका छन्’, उनले भने, ‘मूल्य समयको मागअनुसार बढेको हो।’ उनका अनुसार गत वर्ष जिउँदो खसीको मूल्य ५५० थियो। अहिले ७५० रुपैयाँसम्म भन्न थालेको बताए।

चितवनमा खसीबोकाको माग धान्न स्थानीय उत्पादन बढाउनुपर्ने आवश्यकता पनि व्यवसायीले औंल्याएका छन्। जिल्लाको शक्तिखोर, चन्डिभञ्ज्याङ, कोराक र देवघाटलगायत क्षेत्रमा महिलाहरूले सहकारीमा आवद्ध भएर बाख्रापालन गरेका छन् तर स्थानीय उत्पादनले बजारको माग पूरा गर्न अझै पर्याप्त नभएको उनले बताए।

चितवनमा धादिङ, नवलपुर, लमजुङ, तनहुँ र अर्घाखाँचीसहित विभिन्न जिल्लाबाट खसीबोका आउने गरेका छन्। भारतबाट आउने खसीबोकाको आपूर्ति घटेपछि स्वदेशी उत्पादन र अन्य जिल्लाबाट हुने आपूर्तिमा बजार निर्भर हुन थालेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।