दसैं–तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय जुम्लामा दुई हजार आठ सय क्विन्टल चामल मौज्दात रहेको छ। चाडपर्व नजिकिएसँगै चामल खरिद गर्ने उपभोक्ताको भीड बढेको छ।
कार्यालयका अनुसार सोमबार मात्रै साढे चार सय जनाले चामल खरिद गरेका छन् भने मंगलबार बिहानैदेखि उपभोक्ता लाइनमा बसेका छन्।
कार्यालय प्रमुख मनोज जोशीले मौज्दात रहेको चामलले दसैं–तिहारको माग धान्ने बताए। उनका अनुसार दुई महिनाको अवधिमा मात्रै दुई हजार तीन सय क्विन्टल चामल बिक्री भइसकेको छ। उपभोक्ताले प्रतिव्यक्ति दुई बोरासम्म चामल पाउने व्यवस्था रहेको उनले जानकारी दिए।

जुम्लाका लागि चामलको टेन्डर कोटा छ हजार क्विन्टल रहेकोमा चार हजार क्विन्टल जिल्लामा पुगिसकेको कार्यालयले जनाएको छ। हाल मौज्दात रहेको चामलमध्ये स्ट्रिम जिरा मसिनो प्रतिबोरा दुई हजार एक सय ७५ रुपैयाँ, अरुवा मोटो एक हजार पाँच सय २५ रुपैयाँ र सोना मन्सुली एक हजार पाँच सय ५० रुपैयाँमा बिक्री भइरहेको छ।
कार्यालयमा ४० क्विन्टल चिनीसमेत मौज्दात छ। उपभोक्ताले प्रतिव्यक्ति अधिकतम २५ किलो चिनी प्रतिकिलो एक सय १० रुपैयाँमा खरिद गर्न पाउनेछन्। चाडपर्वमा खाद्यान्नको माग बढ्ने भएकाले उपभोक्तालाई सहज रूपमा चामल र चिनी उपलब्ध गराउने कार्यालयले जनाएको छ।
जुम्लाका विभिन्न स्थानीय तहमा खाद्यान्न वितरणका लागि डिपो तथा बिक्री केन्द्र सञ्चालनमा छन्। तिला गाउँपालिकाको जुम्लाकोट, सिंजा गाउँपालिकाको धाँपा, तातोपानी गाउँपालिकाको पाथरखोला, पातारासी गाउँपालिकाको लुम र हिमाको बाजागाडबाट चामल वितरण हुँदै आएको छ। यस वर्षदेखि गुठीचौर गाउँपालिकाका उपभोक्तालाई लक्षित गरी गाउँपालिकानजिकै नयाँ डिपो सञ्चालनका लागि टेन्डरसमेत भइसकेको छ।
चाडपर्वका बेला खाद्य डिपोबाट चामल उपलब्ध हुँदा स्थानीय उपभोक्तालाई खाद्यान्नको जोहो गर्न सहज भएको छ। जुम्लाको चन्दननाथ नगरपालिका–४ की मुनकौरा बुढा र गुठीचौर गाउँपालिका–१ की सुकमाया ऐडीले सरकारी डिपोबाट चामल पाउँदा राहत मिलेको बताएका छन्।
दसैं–तिहारका बेला खाद्यान्नको माग बढ्ने भएकाले डिपोमा नियमित आपूर्ति र सहज वितरणले आफूहरूजस्ता उपभोक्तालाई राहत पुग्ने उनीहरूको भनाइ छ।
यसैबीच, छिमेकी जिल्ला डोल्पाका लागि दुई हजार क्विन्टल चामल आएको छ। तर, सडकको अवस्था प्रतिकूल हुँदा ढुवानीमा समस्या भएको कार्यालय प्रमुख जोशीले बताए। सडक सुधार भएपछि डोल्पाका लागि आएको चामल तत्काल पठाइने उनले जानकारी दिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।