संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गर्ने क्रममा दुई जनाको नाम अस्वीकृत गर्यो। जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारेको निर्णय दसैँपछि गर्ने तय भएको छ ।
थापाको जापानको स्थायी आवासीय अनुमति (पीआर), त्यहाँ रहेको घरजग्गा, पारिवारिक अवस्था र विगतको व्यावसायिक संलग्नताबारे प्रश्न उठेपछि समितिले निर्णय स्थगित गरेको हो।
जापानका लागि प्रस्तावित थापाको नाम अनुमोदन गर्ने वा अस्वीकृत गर्ने विषयमा समितिमा सदस्यहरूबीच फरक धारणा देखिएको थियो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले थापासम्बन्धी थप कागजात आउन बाँकी रहेकाले निर्णय केही समयका लागि स्थगित गर्नुपर्ने धारणा राखे।

नेकपाका सांसद वर्षमान पुनले भने जापानको पीआरलगायत विषय उठेकाले थापाको नाम अस्वीकृत गर्नुपर्ने बताएका थिए। अन्य सांसदहरूले पनि थापाको पारिवारिक सम्बन्ध, जापानमा रहेको घर र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा उल्लिखित योग्यताबारे प्रश्न उठाएका थिए।
समितिका सभापति बोधनारायण श्रेष्ठले सदस्यहरूको धारणा सुनेपछि थापाबारेको निर्णय दसैँपछि मात्रै गरिने जानकारी गराएका थिए। त्यसपछि बैठक स्थगित भएको थियो।
जापानको पीआर र घरजग्गाबारे प्रश्न:
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध परेको उजुरीमा उनले जापानको स्थायी आवासीय अनुमति लिएको विषय उठाइएको छ। उजुरीकर्ताले राजदूत नियुक्तिका लागि निर्धारित पूर्वयोग्यतामा विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्ति अयोग्य हुने व्यवस्था रहेको दाबी गरेका छन्।
उजुरीअनुसार थापाले सन् २०१८ मा जापानको एक पत्रिकालाई आफूले पीआर लिएको र त्यसपछि जापानमा बस्दै आएको बताएका थिए। जापानको कानागवा प्रिफेक्चरमा उनको घरसमेत रहेको उजुरीमा गरिएको छ।
उजुरीकर्ताले थापाले स्थायी आवासीय अनुमति प्राप्त गरेको मिति, त्यसको वर्तमान अवस्था र राजदूत पदका लागि आवेदन दिँदा उक्त विवरण खुलाइएको थियो वा थिएन भन्ने विषयमा आधिकारिक कागजातका आधारमा छानबिन गर्न माग गरेका छन्।
त्यसैगरी, जापानमा रहेको भनिएको घरजग्गा, व्यावसायिक संलग्नता, आर्थिक लगानी र बैंकिङ दायित्वसमेत परीक्षण गर्नुपर्ने माग गरिएको छ। अर्को उजुरीमा थापाको नागरिकताको अवस्था र परिवारको बसोबासबारे पनि स्पष्ट हुनुपर्ने उल्लेख छ।
पीआर त्यागेको विषयमा सांसदहरूको प्रश्न :
समितिको बैठकमा रास्वपाका सांसद मधुकुमार चौलागाईंले थापाको जापानसँगको सम्बन्ध, त्यहाँ रहेको घर तथा सम्पत्तिबारे प्रश्न गरेका थिए। उनले राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा उल्लेखित योग्यता र विदेशी मुलुकमा रोजगारी तथा स्थायी आवासीय अनुमति त्यागेको अवधिबारे स्पष्ट हुनुपर्ने बताएका थिए।
रास्वपाकै सांसद राजीव खत्रीले पनि जापानमा घर रहेको विषय उठाएका थिए। एमाले सांसद पद्मा अर्यालले राजदूत बन्नकै लागि पीआर त्यागेको हो कि भन्ने प्रश्न गर्दै थापाकी श्रीमती र छोराहरूको पीआरको अवस्थाबारे जिज्ञासा राखेकी थिइन्।
थापाले सांसदहरूका प्रश्नको जवाफ दिएका थिए। तर, थप कागजात अध्ययन गरेर मात्रै निर्णय गर्ने निष्कर्षमा समिति पुगेको हो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।