गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनको नकारात्मक असर न्यूनीकरण र बढ्दो प्राकृतिक विपद्को सामना गर्नु नेपाल सरकार र नेपाली जनताको पहिलो चुनौती भएको बताएका छन्।
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै पाण्डेले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर भने नेपालले बढी भोग्नुपरेको बताए।
‘नेपालको जलवायु परिवर्तनमा नकारात्मक योगदान असाध्यै न्यून छ, तर त्यसको मार सबैभन्दा बढी हामीले खेपिरहेका छौँ। त्यसकारण जलवायु परिवर्तनको नकारात्मक असर न्यूनीकरण गर्न र व्यापक रूपमा बढिरहेका मौसमजन्य तथा अन्य विपद्को सामना गर्नु नेपाल सरकार, नेपाली जनता र राष्ट्रको पहिलो चुनौती हो,’ उनले भने।

विपद् व्यवस्थापनमा समयमै तयारी गर्न नसके आगामी दिनमा नेपालले थप ठूलो क्षति व्यहोर्नुपर्ने उनले चेतावनी दिए। भोटेकोशीको विनाशकारी बाढी, हिमशृंखलामा देखिएका जोखिम र कालीगण्डकी क्षेत्रमा हालै भएको घटनाले विपद्को जोखिम बढिरहेको संकेत गरेको उनको भनाइ थियो।
‘गत वर्षका घटना बिर्सिए पनि भोटेकोशीको महाप्रलय, हिमशृंखलामा हिमनदी थुनिने वा हिमपहिरो जाने घटना र अहिले भर्खरै कालीगण्डकीमा भएको घटनाले अब वर्षमा यस्ता दर्जनौँ विपद्को सामना गर्नुपर्ने देखाउँछ,’ उनले भने।
पाण्डेले विपद्को सामना गर्न प्रदेशहरूबीच साझा धारणा बन्नुपर्ने बताए। प्रदेशले आफ्नो धारणा बनाएपछि स्थानीय तहलाई सहजीकरण गर्ने तथा संघीय सरकारसँग समन्वय र सहकार्य गर्ने भूमिका प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।