अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी नयाँ प्रेस सचिव केटी जकारिया पहिलो पत्रकार सम्मेलनमै झुक्किएकी छन्।
मंगलबार पत्रकारले चार सन्तान हुर्काउँदै ह्वाइट हाउसको जिम्मेवारी कसरी सम्हाल्ने भनेर सोध्दा उनले ‘मेरो राष्ट्रपति… माफ गर्नुहोस्, मेरो श्रीमान्’ भनेकी थिइन्। उनको यो भनाइपछि पत्रकार सम्मेलनमा हाँसो फैलिएको थियो।
अगस्टमा क्यारोलिन लेभिटले पद छोडेपछि जिम्मेवारी सम्हालेकी जकारियाले पहिलो पत्रकार सम्मेलनमा करिब १४ मिनेट पत्रकारका प्रश्नको जवाफ दिएकी थिइन्।

लेभिटले पद छोड्दा कामको व्यस्तताका कारण सन्तानसँग बढी समय बिताउन चाहेको बताएकी थिइन्। सोही विषयमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा जकारियाले श्रीमान्लाई राष्ट्रपति भनेपछि तत्कालै आफ्नो गल्ती सच्याएकी थिइन्।
उनले त्यसपछि ट्रम्प र आफूलाई उक्त जिम्मेवारी दिएको निर्णयको प्रशंसा गरिन्। जकारियाले आफ्नो परिवार क्यालिफोर्नियाबाट वासिङ्टन डिसी सर्ने पनि बताइन्। चार सन्तानकी आमालाई जिम्मेवारी दिएर ट्रम्पले कामकाजी महिलाप्रति समर्थन देखाएको उनको भनाइ थियो।
पहिलो पत्रकार सम्मेलनमा उनले ट्रम्पका ऊर्जा, भन्सार शुल्क र आप्रवासनसम्बन्धी नीतिबारे पनि चर्चा गरिन्। उनले आफ्नो भूमिका राष्ट्रपतिको एजेन्डालाई अमेरिकी जनतामाझ पुर्याउनु रहेको बताइन्। एजेन्सी


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।