बलिउड अभिनेत्री दीपिका पादुकोण दोस्रो छोरी जन्मिएको ३६ दिनपछि काममा फर्किने तयारीमा छिन्। सञ्चारमाध्यम ‘भेराइटी’का अनुसार दीपिकाले अक्टोबर २६ देखि शाहरुख खानको चलचित्र ‘किङ’ को गीतको सुटिङ सुरु गर्ने छिन्
सेप्टेम्बर १९, २०२६ मा दोस्रो छोरीलाई जन्म दिएपछि दीपिकाको यो पहिलो सुटिङ कार्यक्रम हुनेछ। दीपिका र रणवीर सिंहले आफ्नी दोस्रो छोरीको नाम देवी पादुकोण सिंह राखेका छन्।
रिपोर्टहरूका अनुसार दीपिका पादुकोण र शाहरुख खानले मुम्बईमा चलचित्र ‘किङ’ का लागि भव्य गीतको सुटिङ गर्नेछन्।

यस गीतमा चलचित्रका सबै प्रमुख कलाकारहरू देखिन सक्ने सम्भावना छ। गीतको कोरियोग्राफी वैभवी मर्चेन्टले गरिरहेकी छिन्। यद्यपि, गीतको शीर्षक र संगीतकारबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।
चलचित्र ‘किङ’ को सुटिङका क्रममा दीपिका र शाहरुख सँगै देखिएका तस्बिरहरू पनि सार्वजनिक भएका थिए।
‘किङ’ मार्फत शाहरुख खान र दीपिका पादुकोणको जोडी फेरि एकपटक दर्शकमाझ आउनेछ।
यी दुईले सन् २००७ मा फराह खानको फिल्म ‘ओम शान्ति ओम’ मा पहिलोपटक सँगै काम गरेका थिए। त्यसपछि उनीहरू ‘चेन्नई एक्सप्रेस’, ‘ह्याप्पी न्यू इयर’, ‘पठान’ र ‘जवान’ जस्ता सफल फिल्महरूमा सँगै देखिएका थिए।
चलचित्र ‘किङ’ ठूलो बजेटमा निर्माण भइरहेको छ। यसको अनुमानित बजेट करिब ४५० करोड भारु रहेको बताइएको छ।
यस एक्सन–थ्रिलर फिल्ममा शाहरुख खान र दीपिका पादुकोणका साथै सुहाना खान, अभिषेक बच्चन, रानी मुखर्जी, अभय वर्मा र अरशद वारसी महत्त्वपूर्ण भूमिकामा देखिनेछन्।
यसका अतिरिक्त करिना कपूर खान पनि फिल्मको एउटा नृत्य गीतमा देखिन सक्ने चर्चा छ।
‘किङ’ डिसेम्बर २४ मा सिनेमा हलहरूमा प्रदर्शन गर्ने तयारी गरिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।