ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिमाथि प्राध्यापक भुसालको प्रश्न : दिल्लीलाई खुसी पार्ने भाषण किन ?

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा तारा भुसालले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आलोचना गर्दै प्रश्न उठाएका छन्।

एनडीटीभी वर्ल्ड समिटमा अर्थमन्त्री वाग्लेले गरेको सम्बोधन र उनका अभिव्यक्तिमाथि टिप्पणी गर्दै भुसालले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल–भारत सम्बन्धबारे प्रश्न गरेका हुन्।

विश्व बैंक र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) मा लामो अनुभव हासिल गरेका अर्थशास्त्री वाग्लेले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अर्थतन्त्र र क्षेत्रीय सहकार्यबारे कुरा उठाउनु सकारात्मक भए पनि त्यसका लागि छनोट गरिएको मञ्च, राजनीतिक सन्दर्भ र अभिव्यक्तिले गम्भीर प्रश्न खडा गरेको भुसालको भनाइ छ।

विज्ञापन

भुसालले सामाजिक सञ्जालमा लेख्दै भारतविरोधी राष्ट्रवादको युग सकिएको भन्ने वाग्लेको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्। उनले वाग्लेको अभिव्यक्तिले नेपालको नयाँ राजनीतिक नेतृत्वले भारतीय संस्थापन पक्षलाई आश्वस्त पार्न खोजेको सन्देश दिएको हो कि भन्ने प्रश्नसमेत उठाएका छन्।

व्यापार घाटा र सीमा विवादमा मौन रहेको आरोप

प्राध्यापक भुसालले नेपाल–भारत सम्बन्धमा रहेका आर्थिक तथा रणनीतिक मुद्दालाई सम्बोधन नगरी आर्थिक सहकार्य र विपद् व्यवस्थापनजस्ता विषयमा मात्रै जोड दिनु पर्याप्त नभएको टिप्पणी गरेका छन्।

उनले नेपालले भारतसँग सामना गरिरहेका गैरभन्सार अवरोध, व्यापार घाटा, ऊर्जा व्यापारमा भारतीय निर्भरता तथा कालापानी–लिपुलेकजस्ता सीमा विवादलाई महत्त्वपूर्ण मुद्दाका रूपमा प्रस्तुत गरेका छन्।

यस्ता विषयमा नेपालको स्पष्ट धारणा राख्नु र राष्ट्रिय हितको पक्षमा संवाद गर्नु आवश्यक हुन्छ । तर, अर्थमन्त्री वाग्लेले नेपाल र भारत अभिन्न रूपमा जोडिएका छन् भन्ने आशयको अभिव्यक्ति दिनुले नेपालको कूटनीतिक वार्ताक्षमता र राष्ट्रिय हितलाई बलियो बनाउँछ कि बनाउँदैन भन्ने प्रश्न उठेको उनले बताएका छन्।

नेपाल–भारतबीच भौगोलिक, आर्थिक र सामाजिक सम्बन्ध गहिरो भए पनि त्यसलाई प्रस्तुत गर्दा नेपालको आफ्नै स्वार्थ, प्राथमिकता र असहमतिका विषयलाई समेत स्पष्ट रूपमा उठाउनुपर्ने भुसालको तर्क छ।

कूटनीतिक मर्यादामाथि पनि प्रश्न

भुसालले वाग्लेको भारत भ्रमणका क्रममा प्रस्तुत हुने शैली र भारतीय विदेशमन्त्रीसँगको संवादको सन्दर्भलाई लिएर समेत प्रश्न गरेका छन्।

उनले बहालवाला अर्थमन्त्रीले अर्को देशको राजनीतिक मञ्चमा प्रस्तुत हुने तरिका कूटनीतिक मर्यादा र प्रोटोकलअनुकूल थियो कि थिएन भन्ने विषयमा समीक्षा आवश्यक रहेको बताएका छन्।

भ्रमणलाई आगामी दिनको राजनीतिक सत्ता समीकरणसँग जोडेर दिल्लीको समर्थन वा वैधानिकता खोज्ने प्रयासका रूपमा बुझ्नुपर्ने अवस्था हो भने त्यसले नेपालको स्वतन्त्र विदेश नीति र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाउने भुसालको टिप्पणी छ।

‘भारतविरोधी नहुनुको अर्थ राष्ट्रिय हित बिर्सनु होइन’

भुसालले भारतविरोधी अन्धराष्ट्रवादको समर्थन गर्न नसकिने स्पष्ट पार्दै भारतसँगको सम्बन्धमा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्।

छिमेकीसँग सहकार्य गर्नु र सम्बन्ध सुधार गर्नु सकारात्मक भए पनि त्यसका नाममा व्यापार, ऊर्जा, सीमा तथा अन्य रणनीतिक विषयमा नेपालको अडान कमजोर हुन नहुने उनको भनाइ छ।

अर्थशास्त्री वाग्लेबाट तथ्यमा आधारित, राष्ट्रिय स्वाभिमान कायम राख्ने र नेपालको आर्थिक तथा भौगोलिक हितलाई प्राथमिकता दिने कूटनीतिक अभिव्यक्तिको अपेक्षा गरिएको बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।