ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

प्रतीक्षारत आँखाहरू

चाडपर्व भन्नु आफैँमा तनावको कारण बन्दछ। अलग–अलग ठाउँमा बसाइ हुनु पनि कष्टकर नै हो। अझ ससाना बालबालिका भए त झन् कठिन हुने गर्छ। आफ्नो मन त जसोतसो बुझाउँछु तर बालबालिकाको जिद्दीपनाको सामना गर्ने? असहज परिस्थितिको सामना गर्न पुग्छु म। यसपालि पनि यस्तै अवस्था छ। श्रीमान घर आउने कुनै छाँट छैन। कुनै खबर आएको छैन। आफैंले सम्पर्क गर्ने सोच बनाएकी छु तर परिस्थिति अनुकूल हुन्छ या हुँदैन। म यसै भन्न सक्दिनँ।

“इज्या, बा कब घर औन्या हुन?” (आमा, बुवा कहिले घर आउनु हुने हो? ) सानो बालक सुनिल बिहानबिहानै बोल्यो।

“आब एकदुई दिनमा पुगिजान्ना, गौःरा बेला लै हो। कसो नाइँ पुगुन्ना?” (अब दुई दिनमा पुगिहाल्नुहोला। गौःरा पर्वको बेला पनि हो। कसो नपुग्नुहोला?” मैले पनि सम्झाउने प्रयास गरेँ।

विज्ञापन

मैले कतिचोटि भनें श्रीमानलाई, “अब एक्लाएक्लै बस्न सकिन्न। सँगै बस्ने वातावरण मिलाउनुस्।”

अहँ, उहाँले जवाफ दिएको सुनिएन।

एक दिन निकै लामो वचनपछि उहाँले भन्नुभयो, “हामीले भनेजस्तो कहाँ हुन्छ। सबै कुरा मिलाउनुपर्छ।”

“के मिलाउनुपर्छ?” म पनि त्यसै छोड्ने पक्षमा थिएन।

“बुढा आमाबाबुलाई हेर्ने कोही छैन। पहाडको खेतबारी, वस्तुभाउ सबैथोक कहाँ हाल्ने? भाइका परिवार पहिल्यै तराई गइसके।” उहाँले भन्नुभयो।

“तपाईको आशय मैले बुझिसकेकी छु। भैगो, अहिले यो कुरा नगरौं।” यति भनेर चुप लागें म।

वर्षमा एक, दुई पल्ट परिवार भेट्ने मौका मिल्छ चाडपर्वका बेला। घरबाट टाढा हुनुको अर्थ धेरै कुराबाट टाढा हुनु हो। आउनजान यति समय लाग्छ कि एक, दुई दिनमा विदा सकिइहाल्छ। पर्वका बेला घरका सबले आश मान्छन्। घर मात्र कहाँ हो र? विवाह गरेर गएका दिदीबहिनी पनि आश मानेर बस्छन्।

एउटा पर्वपछि अर्को पर्वसम्म आइपुग्दा कहिलेकाहीँ त वर्ष दिन नै लाग्दछ। अघिल्लो विजयादशमीदेखि छर गएको छैन ऊ। कामको बोझ यति हुन्छ कि घरपरिवारलाई अब सम्झेर मात्र बस्नुपर्छ। भेट्न हुने समय पर्खँदा कम्तीमा पनि छ महिना हुन्छ। यति लामो श्रीमानको प्रतीक्षा अब असह्य भइसकेको छ। दोहारो बसाइले खर्च पनि त्यतिकै छ। ससाना बच्चाहरू बाबुको निकटता चाहन्छन् तर बाबुको अवस्था पनि…।

गौःरामा नरमाउने को होला र ? अझ तराईभन्दा पहाडमा त अति नै मह त्त्व दिन्छन मान्छेहरू। सेतीकालीको महत्त्वपूर्ण पर्व हो यो गौःरा पर्व। मध्य तथा सुदूर पश्चिमका जनताको साझा संस्कृति बनिसकेको छ गोःरा पर्व। चाडपर्व कृषि जीवनको दुःख बिसाउने मेलो बन्छ। जीवनका अनेक कष्ट बिर्सेर अघि बढ्न चाहन्छ मान्छे। विपन्नताको चक्रबाट मुक्त हुन चाहन्छ मान्छे। चाडपर्व, भेटघाट। पारिवारिक मिलन अनि साथीसंगातीसँगको रमाइलो। घरका सदस्य साथसाथै नयाँ लुगा चाहन्छन् गौःरामा। पश्चिम नेपालको गौरव बनेर उभिदिन्छ हाम्रा सामुन्ने।

हो, यो समाज ती पलहरू यस्तै दिनहरूमा आफनो पहिचान खोज्छ। यस्तैयस्तै बेलामा प्रस्तुत हुने लोकगीत, लोकभाका अनि लोकपर्वहरूले समाजको सम्पूर्ण परिचय दिने गर्छन। नबुझ्नेहरूका निमित्त केके न हो जस्तो भए पनि सिंगो समाजका निमित्त त जीवनको ढुकढुकी नै बनेको छन, लोकपर्वहरू।

यस्तै चाडबाड आयो कि केटाकेटीमा नै त्यसको ठूलो प्रभाव पर्दछ। चाडबाड भन्नु नै उनीहरूका निमित्त रमिता नै हो। घरमा के छ, के छैन उनीहरूलाई वास्ता हुँदैन। भनेको चिज चाहियो, चाहियो। त्यसपछि उनीहरूका आमाबाबुले आफू भोकै नाङ्गै रहेर पनि, ऋण दिएर पनि उनीहरूको आवश्यकता पूरा गर्नतिर लाग्नु परिहाल्थ्यो। पर्व जतिजति नजिक आउँदै थियो। बच्चाहरूमा उत्सुकता बढदै थियो। उनीहरू सधैँजसो घरमा नयाँनयाँ खबर घरमा ल्याइरहन्थे। हुनेखानेका निमित्त त पर्व मनोरञ्जन अनि हाँसखेलमा कट्छ तर विपन्न नागरिक एवम् निम्नमध्यम वर्गका लागि भने यो एक दुःखको पहाड बन्दछ। सामूहिक भेलामा गाइने देउडा लगाएका खेलमा त मानिस हुन्छ तर मन भने दुःखी बनिरहन्छ।

“प्रमोदा बा उइकी लेखा नयाँ कपडा लेइर्‍यान, उइकी बुनीकी लेखा लै नयाँ झकुलो लेइर्‍यान।” (प्रमोदको बुवाले उसका लागि नयाँ कपडा ल्याउनुभएको छ। उसकी बहिनीका लागि पनि नयाँ मिडी ल्याउनुभएको छ।) बाह्र वर्षे अनिलले भन्यो। उसलाई आफ्ना बाबु घर नहुँदा आफ्ना लागि कपडा नसिलाइने हो कि भन्ने पीर छ।

“हमुकी कब कपडा ल्यौन्यौ, इज्या। (हाम्रा लागि कपडा ल्याउनु हुन्छ, आमा !) सानो छोरा सुनिलले जिज्ञासा राख्यो।

“आब तमरा बाबा औन दयौ, उन आफूइ हम सबकी कपडा लेइ औन्ना।” (अब तिमिहरूका बुवालाई आउन देऊ। उहाँले नै हामि सबैको लागि कपडा ल्याएर आउनु होला।) आमाले सम्झाएकी थिएँ मैले।

“बाबा त कब औन्या हुन कब, उज्याँ सम्म हम कि गरला?” (बाबा त कहिले आउनु हुने हो कहिले, उति बेला सम्म हामि के गरौंला? ) छोराहरू यसो भन्दै कराउन थालेका छन्।

“बाबा नआया मुइ त रोइदिन्या हुँ। (बुबा नआए म त रुने हुँ।) कान्छी छोरी प्रमिलाले भनिन्।

छुट्टी मिलेपछि आउँछु भनेर त विष्णुले भनेका थिए तर पनि घर आउँछन नै भन्ने कुनै ठेगाना नै थिएन। छुट्टी नै नपाइने हो कि या बाटो बन्द हुनाले आउन नसकिने हो ? मन अशान्त भइरहेको छ। आफ्नो मनमा पीर भए पनि छोराछोरीका अघि यसको संकेत दिनु भएन। अघिल्लै सालको कुरा त हो नि। उहाँले एक आफन्तलाई पैसा दिएर कपडा किनेर घर पुर्‍याइदिन भन्नुभएको थियो। त्यो मानिसले सबै पैसा खाइदिएपछि हाम्रा घरका बालबालिकाको कपडा नपाएर तमासा गरेका थिए। यसभन्दा अघि पनि ल्याएको राम्रो कपडा आफ्ना बच्चालाई दिएर नराम्रो कपडा मेरा छोराका लागि पठाएको भनेर दिने पनि हाम्रै नातासम्बन्धका मानिस छन्। ससानो लोभमा अरूलाई दुःख दिन छोड्दैनन् मान्छेहरू।

”यो गोःरामा म कतै जान्न। पुराना कपडा लगाएको देखेर सबले जिस्काउँछन्।” जेठो छोरा अनिलले बेस्सरी रोएर भनेको थियो। आजको जमानामा मानिसको विश्वास राख्नु पनि कसरी? उनी सोच्न थालिन।

गौःरा आउन दुई दिन मात्र बाँकी रहयो। घरमा त्यति पैसा पनि छैन, जसले सासु–ससुरालाई नभएपनि बच्चाहरूको आवश्यकता पुरा गर्न सकियोस ? शायद विष्णुप्रसाद घर आइहाल्छन की भन्ने आशा भने जीवितै थियो।

“इज्या, बा आजसम्म त घर पुगिसक्कु पड्या हो” ( आमा, बा आजका दिनसम्म त घर आइसक्नुपर्ने हो?) केटाहरू भन्न थालिसकेका थिए।

गौःरा हुन एक दिन मात्र रह्यो। बाटो खराब भएको खबर आइरहेको थियो। साँझपख एक धमिलो हाम्रो घरतिर आइरहेको देखेँ। को मान्छे होला? ठम्याउन सकेन मैले। झटपट ढोका लगाएँ मैले।

एकछिनमा ढोका घडघडाएको आवाज आयो, “ए पार्वती ! पार्वती!”

मैले आवाज ठम्याएँ, यो आवाज मेरै श्रीमान विष्णुको थियो।

मैले ढोका खोलेँ। उहाँ भित्र आउनुभयो।

“बाटो खराब थियो भन्ने सुनेको थिएँ, कसरी आउनुभयो ?” जिज्ञासु नजरले हेर्दै भनें।

“यो पर्वमा छोराछोरी अनि तिम्रो अनुहार निन्याउरो होला। आमाबाबुले पनि बाटो पर्खिरहनु भएको होला, यही सोच मनमा आयो। मनमा अनेक किसिमका विचार आउन थाले। बाटो जतिसुकै अप्ठ्यारो भएपनि घर जान्छु भन्ने सोचेर आएँ।” विष्णुले भन्नुभयो।

सासुससुरा छोरा घर आएकोमा खुसी हुनुभयो।

“पर्वका बेला छोरा घर आएको छ।” खुसीको ठेगाना रहेन आमाबाबुमा।

ससाँझै खाना खाएका केटाकेटी निदाइसकेका थिए। मैले उनीहरूलाई उठाउन चाहेन।

भान्साको काम सकिएपछि सुतियो।

बिहान अलि छिटै जेठो छोरा अनिल ब्युँझियो। आफ्ना बाबुलाई देखेर उसले भन्यो, “ओहो ! बाबा आया र्यान।” (ओहो ! बुवा आउनु भएको रहेछ।

उसले आफ्ना भाइबहिनाीलाई उठाउँदै भन्यो, “ए उठ ला उठा। बा आइर्यान।” (ए उठ तिमीहरू ! बुवा आउनु भएको छ।)

सबै केटाकेटी ब्युँझिए। घरमा एक प्रकारको रौनक छायो। केटाकेटी खुसी थिए।

मैले चिया बनाएर दिने बेलामा देखेँ, विष्णु सबै छोराछोरी जम्मा गरेर उनीहरूलाई कपडा दिइरहनुभएको थियो।

मैले भनें, “अनि मलाई के ल्याइदिनुभयो त?”

उहाँले साडी, व्लाउज लगायत कपडाको सेट थमाउँदै भन्नुभयो, “यो तिम्रो लागि।”

“आमा र बुवाको कपडा दिइसकेको छु उहाँहरूलाई।” उहाँको मतिर हेर्दै भन्नुभयो।

“अनि आफ्नो लागि खै त ?” प्रश्न तेर्स्याएँ मैले।

“चाहिएको बेला किन्ने गरेको छु। अहिले घरपरिवारको पालो।” यति मात्र भन्नुभयो।

मलाई लाग्थ्यो, मेरा श्रीमान निष्ठुरी मानिस हुन् तर समय र परिस्थितिले मानिसलाई निष्ठुर बनाउँदो रहेछ। मानिसको जीवनमा अनेक घुम्ती अनि मोड आइरहछन्। मलाई थाहा थिएन, एउटा छोराको महत्त्व आमाबाबुका लागि कति हुने रहेछ? अनि ससाना बालबालिकाका लागि परदेशमा रहेको बाबुको महत्त्व कति हुने रहेछ? सबैसबै कुरा बुझिरहेछु म।

नयाँ लुगा पाएर बच्चाहरू खुसी छन्। बाबुआमा छोरा भेटेर प्रसन्न छन्। अनि म ?

म पनि त मेरा जीवनसाथीसँगको लामो भेटपछि खुसी नै छु।

“ ए ! झट्ट तयार हौ ला। गोःखा खला झान्या बेला होइगयो (ए ! छिटो तयार होऊ। गौःरा हुने ठाउँमा जाने बेला भइसक्यो।) मैले घरका सबै जनालाई भनें।

छोराछोरी आफ्ना बुवासँग साथ लागेर गौःरा हुने ठाउँमा गइरहेका छन्। म पनि त साथमै छु। सासूससुरा पहिल्यै गइसक्नुभएको छ।

सारा परिवार एकसाथ रमाएको छ। म यो पलको आनन्द अनुभूत गरिहेछु शरीर अनि मनमस्तिष्कमा।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।