परिवारसँगै बसेर दसैं मनाउने रहर कसलाई हुँदैन र? तर आश्रममा जीवन बिताइरहेकाहरूलाई दसैंमा विगतमा देखेका–भोगेका अनुभव र सम्झनाहरूको प्रसंग निकाल्नेबितिकै भक्कानिन्छन्। विभिन्न बाध्यताले आश्रममा बस्न पुगेका र कतिपय आफ्नै सन्तानबाट अपहेलित भएकाले यस वर्ष आश्रममै दसैं मनाए। टीका र आशीर्वादले आश्रममा चाडको रौनक ल्याए पनि परिवारसँगै बसेर दसैं मनाउन नपाउँदाको पीडाले उनीहरूको मनमा खल्लोपन भयो।
इटहरी–१७ श्री रामजानकी शान्ति वृद्धाश्रममा बस्दै आएकी मिठेमाया श्रेष्ठका घरमा श्रीमान् र छोराछोरी सबै जना छन्। लगभग ७० वर्ष हाराहारीकी उनलाई आफ्नो उमेरको यकिन छैन। उनी बाध्यतावश १५ दिनदेखि आश्रममा बस्दै आएकी छन्। धनकुटाको चानुवा घर भएकी उनका श्रीमान् चक्र श्रेष्ठ अर्की श्रीमती लिएर इटहरी बस्छन्। एक छोरा विवाह गरेर काठमाडौं बस्छन् र छोरी पनि धनकुटामै घरजम गरेर बस्छिन् तर उनलाई कसैले पनि चासो नराखेपछि उनी आश्रममा आएर बसेकी हुन्। ‘अघिल्लो वर्ष त धनकुटाको चानुवा बेंसीमा एक्लै भए पनि दसैं मनाएको थिएँ। गाउँलेहरू हुँदा मजा आएको थियो। यस वर्ष यही आश्रममा दसैं मनाएँ। आफन्त कोही नहुँदा खल्लो नै हुँदो रहेछ,’ मिठेमायाले भनिन्।
यहाँ पनि मिठो खानेकुरा बनाएर दिनेदेखि लिएर टीकाको दिन आश्रम सञ्चालक समिति सदस्य लक्ष्मी खड्का आएर टिको लगाइदिएकाले गर्दा निधार खाली बस्नु नपरेको उनले बताइन्। ‘सबै जना आफन्त हुँदाहुँदै पनि यसरी आश्रममा बसेर टिको लगाउँदा मनले मान्दो रहेनछ,’ उनले भनिन्।

उनका श्रीमान्ले त अर्की ल्याएका कारण अलग्गै बस्दै आए तर कुनै पनि बाबुआमाले छोराछोरीबाट अपहेलित भएर बस्नुपर्ने कल्पना गरेको हुँदैन। बुढेसकालको सहारा छोराछोरी नै हुन्। विडम्बना ! छोराछोरीले समेत चासो नराखेपछि उनी आश्रममा पुगेकी हुन्। उनको जग्गाजमिन पनि छ तर खाना बनाएर खान सक्ने स्थिति नभएकाले आश्रममा बस्न थालेको उनले बताइन्। ‘अरु बेला त मन थामेर बसे पनि चाडपर्वका बेला गाह्रो हुँदो रहेछ,’ उनले भनिन्, ‘दसैंमा पहिलाको घरको मात्रै याद आउँदो रहेछ।’
श्री राम जानकी शान्ति वृद्धाश्रममा बस्दै आएका वृद्ध आमाहरूले दाताको सहयोगमा दैनिक गुजारा टार्दै आएका छन्। आश्रममा बस्दै आएकी ७० वर्ष पार गरेकी जसमती गामीको पनि पहिलो दसैं आश्रममै बित्यो। उनको परिवारमा एक मात्र छोरी भएपछि उनी आश्रममा बस्न पुगेकी हुन्। उनकी छोरीको घर आश्रमदेखि लगभग डेढ किलोमिटर दुरी झुम्कामा पर्छ। छोरी व्यापारमा जमेर लागेकी छन्। ‘पहिला पहिला घर हुँदा दसैंमा थुप्रै जना टीका लगाउन आउँथे, अब त कोही पनि आउँदैनन्,’ उनले भनिन्।
उनकोमा छोरीसमेत टीका लगाउन गइनन्। सोही आश्रममा बस्नेमध्ये साँच्चिकै समस्या भोगेर बस्दै आएकी ६० वर्षे चन्द्रकला सिंहलाई पनि पहिला र अहिले आश्रममा दसैं मनाउँदा ठुलो अन्तर नभएको बताइन्। उनी भोक्राहा नरसिंह–१ मा डेरा गरेर बस्थिन्। उनका श्रीमान् उपेन्द्र सिंहले व्यापार गर्थे। छोराछोरी भएनन्। श्रीमान्को दश वर्षअघि निधन भयो। त्यसपछि उनी सम्हालिएर भोक्राहा नरसिंह–१ मै डेरा लिएर बसिन्। अब नसक्ने भएपछि आश्रममा बस्न थालेकी हुन्। ‘आश्रममा पनि मिठो परिकार खान दिई हाल्नुहुन्छ, टीका पनि लगाइदिनुभयो,’ उनले भनिन्, ‘पहिला पनि म एक्लै कोठा भाडा लिएर बस्थेँ, अब आफन्त कोही नभएपछि आश्रममा दसैं मनाउँदा मलाई केही असहज भएन।’
श्री राम जानकी शान्ति वृद्धाश्रममा विभिन्न जिल्लाबाट प्रहरीसँगै सामाजिक संस्थाले भेटाएर त कोही आफैं सम्पर्कमा आएका गरी १६ जना वृद्ध आमाहरू रहेका छन्। यी सबैको दाताकै सहयोगबाट दैनिक गुजारा टार्ने गरिएको छ। दाताले विभिन्न अवसर पारेर सहयोग गर्ने गरेका छन्। वृद्ध आमाहरूलाई स्याहार गर्नका लागि आश्रम सञ्चालक समितिले दुई जना महिला कर्मचारी नै नियुक्त गरी खटाउँदै आएको छ।
त्यसो त भोजपुरको हतुवा पुख्यौली घर भएकी ९३ वर्षे राधा सुवेदीको लगभग १३ वर्षमा विवाह भएको थियो। विवाह भएको पाँच वर्षपछि श्रीमान्को निधन हुन पुग्यो। राधालाई विवाह गर्नुअघि श्रीमान्ले अर्की श्रीमती पनि विवाह गरेका थिए। श्रीमान्को मृत्युपछि दुवै जनाको विचल्ली भयो। उनीहरू तपस्या गर्ने सोचले भोजपुरबाट चतरा झरे। राधा र उनकी सौता असाध्यै मिलेर बसे। ‘दिदी र म धेरै मिलेर बस्थ्यौं तर दिदीको पनि पाँच वर्षअघि निधन भयो,’ उनले भनिन्, ‘म अहिले चतरा आश्रममा बस्छु।’
उनी चतरामा २०५८ सालमा खुलेको रामशान्ति कुञ्ज महिला आश्रममा बस्दै आएकी छन्। उनी सुरुवातदेखि नै आश्रममा बस्दै आएकी छन्।
अशक्तसँगै आफन्त नहुनेको हितका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी आमा पुख्यौली घर भोजपुर भएकी मिथिला पाण्डे र उनका नाताले देउरानी यशोदा पाण्डे मिलेर सञ्चालन गरेको आश्रममा यतिबेला १७ जना बस्दै आएका छन्।
जसमा ६ जना पुरुषसमेत बस्दै आएका छन्। अरू सबै महिला बस्छन्। यस आश्रममा भने फरक परिवेश रहेको छ। आफन्त पनि आश्रममै गएर आफ्ना बाबुआमासँग टीका लगाएर आर्शीवाद लिने गर्छन्।
इटहरीमा सञ्चालित आश्रमका बालबालिकालाई आश्रमकै सञ्चालिका गीता गौतमले टीका लगाएर आशीर्वाद दिइन्। गीताले सडक, खोला बगर र बाबुआमाले त्यागेका बालबालिकालाई पालनपोषणा गर्दै आएकी छन्। ६६ वर्षकी गीताको कथा पनि पीडादायी छ। उनी सानै छँदा बाबु भारतमा जागिरे थिए। बाबुको दुर्घटनामा परेर मृत्यु भयो। आमालाई पनि डाँकाले मा¥यो। उनी एक्लो भइन्। सहारा दिने कोही भएनन्।
त्यतिबेला उनी पाँच वर्षकी मात्र थिइन्। २०४४ सालमा संस्था दर्ता गरिन् र संस्था लिएर सञ्चालन गर्दै आएकी छन्। आश्रममा यतिबेला ३० जना बालबालिका छन्। यसैगरी आफन्तविहीन र असहाय व्यक्तिहरूलाई संरक्षण दिँदै आएको इटहरी–२ स्थित माया घर नेपालमा आश्रित १३५ जनाले पनि आश्रममै दसैं मनाए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।