ब्रेकिङ न्युज
विज्ञापन
समाज

बेँसी झर्न थाले म्याग्दीका पशुगोठ

म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्।

शरद्यामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाईभैँसी, भेँडाबाख्राका गोठ गाउँ नजिकैका खर्कमा झार्न थालेका हुन्।

पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ।

विज्ञापन

धौलागिरि गाउँपालिका–१ गुर्जाका हर्कवीर विकले फागुनेको बुकीमा तीन महिना घाँस खुवाएपछि गाउँ नजिकै गोठ ल्याएको बताए।

विदेशबाट फर्किएर ३५ वटा भैँसी पालेका उनका अनुसार हाल मकै भित्र्याएको बारीमा राखिएको गोठ कोदो भित्र्याएपछि मङ्सिरमा बेँसीको फाँटमा झार्ने चलन छ।

पोषिलो घाँस खाएर मोटाएका गाईभैँसी, गोरु र भेँडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला बन्दोबस्तीका सामान बोकेर लेकबेँसी गर्छन्।

गाउँ झरेका गोठाला र गाईबस्तुको चहलपहल बढेको गुर्जाका राजिन छन्त्यालले बताए। पशुचौपायाले गाउँ नजिकैको पाखाबारी भरिएका छन्।

ती पाखामा असङ्ख्य गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्रा चरनमा रमाइरहेका देखिन्छन्। महिनौँ पुग्ने खर्चबर्च बोकेर गएका गोठाला गाउँ झरेपछि मात्रै परिवारसँग भेट हुन्छ।

हिमाली क्षेत्रको बुकीको पोषिलो घाँस खाएका पशुचौपाया स्वस्थ, बलिया र दुधालु हुने धौलागिरि–५ मल्कवाङका हिमबहादुर छन्त्यालले बताए।

खर्कमा रहेका ढुङ्गाको पर्खालमा काठ र निगाला तेर्साएर त्रिपाल र पाल राखेर अस्थायी गोठ बनाइन्छ। ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण र धौलागिरि हिमाल आसपासका क्षेत्रमा गोठ लैजाने गरिन्छ।

धौलागिरिको गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ, मल्कवाङ, रघुगङ्गाको कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम, ठाडाखानी, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख, राम्चेका किसानले घुम्ती गोठमा परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन्।

बेँसीका खेतबारीमा घुम्ती गोठ राखेर जमिनलाई मलिलो बनाउने चलन छ। युवा पुस्ताले बेवास्ता गर्दा र वैदेशिक रोजगारीका कारण घुम्ती गोठमा गरिने पशुपालन सङ्कटमा परेको धौलागिरि गाउँपालिका–४ का कीर्तबहादुर घर्तीले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।