बुटवलकी वन्दना ढुंगाना डुंगा सयर गर्ने तयारीमा छिन्। शुक्रबार साँझपख चितवनको पर्यटकीय नगरी सौराहा झरेकी उनी दुई दिन घुम्न परिवारसहित आएकी हुन्। दसैं बिदा पारेर आएकी ढुंगानाको सौराहाको सबै क्षेत्र घुम्ने योजना छ।
‘यसपटक दसैंको लामो बिदा भयो। सौराहा रमाइलो पनि हुन्छ,’ डुंगा सयर गर्ने बेलामा भेटिएकी उनले भनिन्, ‘घुम्न भनेपछि धेरै रमाइलो हुन्छ।’ उनले शनिबार जंगल सफारी गरेर फर्किने योजना रहेको सुनाइन्।
तनहुँ दुलेगौंडाका लक्ष्मण पुरी पनि सौराहाको ड्याम साइडमा घुम्दै गरेको अवस्थामा भेटिए। उनी दसैं बिदामा परिवारसहित घुम्न सौराहा आएका हुन्। ‘म प्रत्येक वर्ष बिदामा घुम्ने गर्छु। यसपटक सौराहामा जिप सफारी, मचानमा बासलगायतका क्षेत्रमा घुमिसक्यौं,’ उनले भने, ‘अब बाँकी घुम्ने अन्य ठाउँहरूमा जाने योजना छ।’

उनीहरू मात्र होइनन्, सौराहामा घुम्न आउनेको बाक्लो चहलपहल देखिन्छ। दसैं बिदामा घुम्नका लागि सौराहा पर्यटकहरूको रोजाइमा परेको देखिन्छ। अहिले परिवारसहित सौराहामा घुम्न निस्किएका आन्तरिक पर्यटकहरू भेटिन्छन्। रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ का कृष्ण खनालले दसैं बिदा मनाउन परिवारसहित घुम्न आएको बताए। ‘पहिले एक्लै घुम्न आइन्थ्यो। अहिले चार जनाको परिवारसहित १४ जना भएर आएका छौं,’ उनले भने, ‘यहाँको बसाइ समेत राम्रो लाग्यो, संग्रहालयलगायतका धेरै ठाउँ घुम्यौं। अझै धेरै ठाउँ घुम्न बाँकी छ।’
दसैंअघि सुनसानजस्तै बनेको चितवनको पर्यटकीय नगरी सौराहा अहिले पर्यटकले भरिभराउ छ। दसैंको टीकापछि पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायी बताउँछन्। ‘अहिले आन्तरिक तथा विदेशी पर्यटकहरू हात्ती सफारी, डुंगा सयर र जिप सफारीमा भरिभराउ छन्। यसले पर्यटन व्यवसायीहरूमा उत्साह थपेको छ,’ सौराहाका पर्यटन व्यवसायी सुमन घिमिरेले भने।
भोटेकोसी बाढीले चितवनको पर्यटन व्यवसायमा ह्रास आएको थियो। यसपटक सिजनको केही महिना पर्यटकहरूको संख्या निकै कम थियो तर टीकापछिको समयमा भने पर्यटकहरू उल्लेखनीय देखिएको उनले बताए। विशेषगरी सौराहामा असोजदेखि वैशाखसम्म पर्यटकको सिजन मानिन्छ। अहिलेको पर्यटकको चहलपहलले अप्रिलसम्म रहनेमा पर्यटन व्यवसायीहरू आशावादी रहेको होटल व्यवसायी संघ नेपालका केन्द्रीय सदस्यसमेत रहेका घिमिरेले बताए।
चितवनको सौराहामा एक रातमा १० हजार पर्यटक अट्ने क्षमताका होटल तथा रेस्टुरेन्टहरू छन्। यतिखेर ७५ प्रतिशतसम्म होटलहरूमा अकुपेन्सी रहेको व्यवसायीहरूको भनाइ छ। पर्यटन व्यवसायी गोकर्ण गिरीले दसैंको टीकापछि आन्तरिक र बाह्य पर्यटकको संख्या उल्लेखनीय मात्रामा बढेको बताए। ‘पर्यटकहरू दसैंको बिदामा धेरै देखिएका छन्। यो समयमा सौराहालाई धेरै मन पराउने गर्नुहुन्छ। वन्यजन्तु र शान्त ठाउँ पनि छ,’ उनले भने, ‘सबै होटल भरिभराउ छन्। कसैको रेस्टुरेन्टमा चहलपहल छ, कसैको पानी बिकेको छ। सौराहाको सबै क्षेत्रलाई कुनै न कुनै रूपमा फाइदा पुगेको छ।’
सौराहामा पर्यटकहरू चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकन, सामुदायिक वनहरूमा जिप सफारी, हात्ती सफारी, जंगलवाक, राप्तीलगायतका नदीहरूमा डुंगा सयर गर्न आउने गरेका छन्। अहिले आन्तरिक पर्यटकसँगै सौराहामा विदेशी पर्यटक पर्यटकहरू पनि बढेका छन्। पर्यटन व्यवसायीहरूका अनुसार हाल अमेरिका, युरोप, चीन लगायतका देशबाट पर्यटकहरू घुम्न सौराहा आएका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।