ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

कलाकारको दसैँ: गाउँघरको सम्झनादेखि पर्दाको व्यस्ततासम्म

दसैँ भन्नासाथ धेरैलाई नयाँ कपडा, रातो टीका, पहेँलो जमरा, मीठा परिकार, दक्षिणा र परिवारसँगको जमघट सम्झना आउँछ । बाल्यकालमा पिङ खेल्दै, साथीभाइसँग रमाउँदै र मान्यजनको हातबाट टीका थाप्दै बिताएका दसैँका दिन कलाकारका लागि पनि उत्तिकै प्रिय छन् । तर, पर्दामा अरूलाई हँसाउने, रुवाउने र मनोरञ्जन दिने कलाकारको दसैँ भने सधैँ एउटै लयमा चल्दैन । कसैका लागि गाउँ फर्किने अवसर बन्छ, कसैका लागि दर्शकसँग खुसी साट्ने समय त कसैका लागि परिवारसँग बिताउने दुर्लभ फुर्सद ।

नेपालीहरूको महान् पर्व बडादसैँ धार्मिक आस्था र सांस्कृतिक परम्परासँगै पारिवारिक पुनर्मिलनको अवसर पनि हो । रोजगारी, अध्ययन र विभिन्न पेसाका कारण घरपरिवारबाट टाढा रहेकाहरू दसैँमा घर फर्किन्छन् । मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरिन्छ । असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिने यो पर्वले आपसी सद्भाव र एकताको भावना पनि बलियो बनाउँछ ।

तर, कलाकारको दैनिकीमा दसैँको रौनकसँगै कामको चटारो पनि जोडिन्छ । फिल्मको छायांकन, प्रदर्शन, प्रचारप्रसार, सांगीतिक कार्यक्रम र दर्शक भेटघाटले उनीहरूको चाडपर्वको तालिका निर्धारण गर्छ । विगतमा पनि दसैँका बेला कतिपय कलाकार गृहजिल्ला फर्किने, परिवारसँग समय बिताउने र नयाँ फिल्मको प्रचारमा जुट्ने गर्थे । पछिल्लो समय दसैँलाई लक्षित गरेर फिल्म प्रदर्शन गर्ने क्रम बढेसँगै कलाकारका लागि यो पर्व दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने अवसरसमेत बन्दै गएको छ ।

विज्ञापन

कसैका लागि खल्लो, कसैका लागि बाल्यकालको सम्झना

अभिनेता राजेश हमालका लागि भने दसैँको उल्लास अरूको जस्तो छैन । दसैँकै दिन आमालाई गुमाएका हमालका लागि यो पर्व भावनात्मक रूपमा पीडादायी छ । त्यसैले उनी दसैँ भव्य रूपमा मनाउँदैनन् । आमाको सम्झना र श्राद्धसँग जोडिएकाले सामान्य रूपमा पर्व मनाउने गरेको उनी बताउँछन् ।

‘दसैँको दिन मैले मुमा (आमा) गुमाएपछि मेरा लागि यो पर्वको उल्लास कम नै भएको छ । टीकाकै दिन श्राद्ध पर्ने भएकाले सामान्य रूपमा दसैँ मनाउने गर्छु । यो वर्ष प्राकृतिक विपद्का कारण धेरै नेपालीको दसैँ खल्लो भएको सुनेको छु, तर संस्कृति संरक्षणका रूपमा यसलाई मनाउनुपर्छ । किनकि यो पर्व हाम्रो संस्कृतिसँग जोडिएको छ’, हमालले भने ।

उनले दसैँलाई भड्किलो बनाउनुको सट्टा आफ्नो क्षमताअनुसार मनाउन आग्रहसमेत गरेका छन् । प्राकृतिक विपद्ले धेरै परिवारको खुसी खोसेको अवस्थामा पर्व मनाउँदा परिस्थिति र अरूको पीडालाई पनि ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

अभिनेता विजय बरालका लागि भने यसपटकको दसैँ गाउँघर फर्किने खुसीसँग जोडिएको छ । केही वर्ष विभिन्न कारणले दसैँमा गृहजिल्ला सर्लाही पुग्न नपाएका उनी यसपटक समय मिलाएर घर जाने तयारीमा छन् । आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कबड्डी ५’ को प्रचारप्रसारको व्यस्तताबीच पनि उनले परिवारसँग दसैँ मनाउने योजना बनाएका छन् ।

‘यस वर्षको दसैँ सर्लाहीमै मनाउने तयारीका साथ म घर पुग्दैछु । यता फिल्म प्रमोसनका काम सकाएर घर पुगेर दसैँ मनाउनेछु । यद्यपि, फिल्म प्रदर्शन कात्तिक ६ मा हुने भएकाले टीका लगाएपछि काठमाडौं नै आइपुग्ने छु । विगतका केही वर्ष विविध कारणले घर पुग्न सकेको थिइनँ, यसपटक गाउँघरमा दसैँ मनाउने योजनाले नै खुसी मिलिरहेको छ’, बरालले भने ।

बराललाई दसैँ सम्झाउने कुरा नयाँ कपडा, विभिन्न परिकार र परिवारका सबै सदस्यको जमघट हो । बाल्यकालमा परिवार र साथीभाइसँग भेला हुने, मीठो खानेकुरा खाने र दक्षिणा पाउने कुराले दसैँ विशेष बनाउने गरेको उनी सम्झन्छन् ।

‘बाल्यकालमा दसैँ भन्नासाथ सबै भेला हुने कुराले खुसी मिल्थ्यो । परिवारसँगै साथीभाइ सबै भेला हुने गर्थ्यौं, अनि दक्षिणा पनि पाइन्थ्यो । अहिले जिम्मेवारी बढेपछि ती समय निकै प्यारा हुने रहेछन्’, उनले भने ।

अभिनेत्री तथा गायिका कविता आलेलाई पनि दसैँ खुसी साट्ने पर्व लाग्छ । अहिलेको व्यस्त जीवनमा दसैँ भेटघाट र मीठोमसिनो खाने अवसर बने पनि बाल्यकालको दसैँको रमाइलो बेग्लै रहेको उनको अनुभव छ ।

‘अहिले त भेटघाट हुने भन्ने लाग्छ, तर बाल्यकालमा भने धेरै रमाइलो लाग्थ्यो । भेटघाट, मीठा खानेकुरा, नयाँ कपडाले साँच्चै दसैँलाई सबैको प्रिय बनाएको जस्तो लाग्छ । अहिले भने भेटघाट गर्ने र मीठोमसिनो खाने जस्तो लाग्छ’, आलेले भनिन् ।

टीका थापेर हल पुग्ने कलाकार

सर्वसाधारणका लागि दसैँ बिदा र पारिवारिक जमघटको समय भए पनि फिल्मकर्मीका लागि यही बेला व्यावसायिक गतिविधि बढ्ने गर्छन् । दसैँ र त्यस आसपास फिल्म प्रदर्शन हुँदा कलाकारले मान्यजनबाट टीका थापेलगत्तै प्रचारप्रसारमा निस्किनुपर्ने हुन्छ । हल भ्रमण, दर्शकसँग साक्षात्कार र सञ्चारमाध्यमसँगको कुराकानी उनीहरूको पर्वकै दैनिकी बन्छ ।

अभिनेता बुद्धि तामाङ यसपटक दसैँमा दर्शक भेटघाटमा व्यस्त हुने अनुमान गर्छन् । उनी अभिनित फिल्म ‘कबड्डी ५’ प्रदर्शनमा आउने भएकाले फिल्मका अन्य सदस्यसँगै विभिन्न हल पुगेर दर्शकसँग साक्षात्कार गर्ने उनको योजना छ ।

‘यसपटकको दसैँमा दर्शक भेटघाट हुन्छ, विभिन्न हलमा घुमिन्छ, यस्तै हुन्छ जस्तो लागेको छ । दसैँ भन्नासाथ टीका, खानेकुरा र नयाँ कपडा नै सम्झना आउने रहेछ’, तामाङले भने ।

तामाङका लागि दसैँको सांस्कृतिक र पारिवारिक महत्त्व आफ्नै ठाउँमा छ । तर, कलाकारका रूपमा दर्शकसँग भेटघाट गर्नु पनि पर्व मनाउने नयाँ अभ्यास बनेको छ । पर्दामा देखिने कलाकारलाई प्रत्यक्ष भेट्न पाउँदा दर्शकले पनि चाडपर्वको खुसी फरक ढङ्गले साट्ने अवसर पाउँछन् ।

अभिनेत्री विपना थापाको यसपटकको दसैँ पनि फिल्म प्रदर्शनसँग जोडिएको छ । विवाहपछि प्रायः भारतमा बस्दै आएकी उनी यसपटक नेपालमै दसैँ मनाउँदै छिन् । उनको अभिनय रहेको फिल्म ‘आ बाट आमा २’ असोज ३० गतेदेखि प्रदर्शनमा आउने भएकाले टीका थापेपछि उनी दर्शक भेट्न हल पुग्ने तयारीमा छिन् ।

‘फिल्म प्रदर्शनको कारण दसैँमा पनि हलमै घुमघाम गर्ने योजना बनिरहेको छ । आफ्ना मान्यजनबाट टीका थापेपछि हलमै दर्शकलाई भेट्नेछौँ । दसैँ भनेको उज्यालो, सद्भाव र हर्षको पर्व हो । विभिन्न कामले व्यस्त भएका सदस्यहरू भेटघाट गर्ने भएकाले यो पर्व मलाई खास लाग्छ’, थापाले भनिन् ।

अभिनेता दीपकराज गिरीका लागि पनि यस वर्षको दसैँ दर्शकसँग खुसी साट्ने अवसर बन्दै छ । असोज ३१ गतेदेखि फिल्म ‘छ माया छपक्कै’ प्रदर्शन हुने भएकाले उनी टीका लगाएपछि हलमै व्यस्त हुने योजनामा छन् । अघिल्लो वर्ष फिल्म प्रदर्शन नभएकाले परिवारसँग बढी समय बिताएका गिरी यसपटक दर्शकलाई नै आफ्नो अर्को परिवारका रूपमा लिँदै उनीहरूसँग दसैँ मनाउने तयारीमा छन् ।

‘फिल्म प्रदर्शनको समय भएकाले बिहानदेखि मध्यरातसम्म हलमै भेटिन्छु । टीका लगाएपछि बाँकी समय दर्शकसँगै दसैँ मनाउने तयारी छ । अघिल्लो वर्ष फिल्म आएको थिएन, त्यसैले परिवारसँग बढी समय बिताइयो । यो वर्ष फिल्म आउने भएकाले हाम्रो दोस्रो परिवार दर्शकसँग बढी समय बिताउनेछु’, उनले भने ।

अभिनेता दयाहाङ राईको दसैँ पनि फिल्म प्रदर्शन र दर्शक भेटघाटसँग जोडिने भएको छ । हाल फिल्मको छायांकनका लागि काठमाडौं उपत्यकाबाहिर रहेका उनी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने ‘कबड्डी ५’ पछि उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग दसैँ मनाउने योजनामा छन् । यसरी कलाकारका लागि दसैँको टीका र जमरासँगै पर्दामा गरेको मेहनत दर्शकमाझ पुर्‍याउने समय पनि बनेको छ ।

परिवारलाई समय दिने अवसर

फिल्मको कामले कलाकारलाई प्रायः घरपरिवारबाट टाढा राख्छ । छायांकनका लागि विभिन्न स्थानमा पुग्नुपर्ने, प्रचारप्रसारमा जुट्नुपर्ने र कार्यक्रमहरूमा सहभागी हुनुपर्ने भएकाले परिवारसँग लामो समय बिताउन उनीहरूलाई सहज हुँदैन । त्यसैले कतिपय कलाकारका लागि दसैँ परिवारसँग घुम्ने र रमाउने अवसर पनि हो ।

निर्देशक मिलन चाम्सले यसपटक परिवारसँग नेपालबाहिर घुमघाम गर्ने योजना बनाएका छन् । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सकेका चाम्सले दोस्रो चरणको काम दसैँपछि गर्ने तयारी गरेका छन् । फिल्मको कामबाट केही समय फुर्सद मिलेकाले उनले यो अवसर परिवारलाई दिने निर्णय गरेका हुन् ।

‘दसैँमा परिवार लिएर नेपालबाहिर घुमघाम गर्ने छु । फिल्मको कामले प्रायः परिवारलाई समय दिन सकिरहेका हुँदैनौँ, त्यसैले समय मिलेको बेला परिवार लिएर घुम्ने गर्छु । हामीले फिल्मको पहिलो चरणको छायांकन सकेका छौँ, दोस्रो चरण दसैँपछि छायांकन हुनेछ, त्यसैले समयलाई सदुपयोग गरेको हुँ’, चाम्सले भने ।

चाम्सको योजना कलाकारको व्यस्त जीवनको अर्को पाटो हो । दर्शकलाई मनोरञ्जन दिन निरन्तर काममा खटिने कलाकारका लागि परिवारसँग बिताएको समय आफैँमा महत्त्वपूर्ण हुन्छ । कसैले गाउँघर फर्केर बाल्यकालको दसैँ सम्झिन्छन्, कसैले विदेश घुमेर परिवारसँग रमाउँछन् त कसैले कामकै बीच समय निकालेर मान्यजनको हातबाट टीका थाप्छन् ।

प्रवासमा पनि दसैँको रौनक

दसैँको खुसी नेपालमा मात्रै सीमित छैन । रोजगारी, अध्ययन र विभिन्न पेसाका कारण विदेशमा रहेका नेपालीले पनि आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिँदै आएका छन् । विदेशका नेपाली समुदायले दसैँ विशेष कार्यक्रम, सांस्कृतिक प्रस्तुति, भेटघाट तथा सामूहिक टीकाजमरा कार्यक्रम आयोजना गरेर पर्व मनाउने गर्छन् ।

यस्ता कार्यक्रममा नेपाली कलाकारको उपस्थिति र सांगीतिक प्रस्तुतिले थप रौनक ल्याउने गरेको छ । नेपालमा परिवारसँग दसैँ मनाउन नपाएका प्रवासी नेपालीका लागि कलाकारको प्रस्तुति आफ्नोपनको अनुभूति गर्ने अवसर बन्छ । लोकदोहोरी, आधुनिक गीत, नृत्य र हास्य प्रस्तुतिमार्फत कलाकारले नेपाली भाषा, कला र संस्कृतिलाई विदेशमा समेत जीवन्त राख्न योगदान दिँदै आएका छन् ।

प्रवासका दसैँ विशेष कार्यक्रम कलाकारका लागि पनि दर्शकसँग जोडिने माध्यम हुन् । कतिपय कलाकार दसैँ आसपास विदेशमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन्छन् भने कतिपयले नेपालमै फिल्म प्रदर्शन र प्रचारप्रसारलाई प्राथमिकता दिन्छन् । यसरी कलाकारको दसैँ केवल पारिवारिक जमघटमा सीमित छैन; यो दर्शकसँगको सम्बन्ध, सांस्कृतिक निरन्तरता र व्यावसायिक जिम्मेवारीसँग पनि जोडिएको छ ।

बदलिँदो दसैँ, उस्तै आत्मीयता

पहिले कलाकारको दसैँमा गाउँघर फर्किने, आफन्तसँग भेटघाट गर्ने, नयाँ कपडा लगाउने र मीठा परिकार खाने सम्झना प्रमुख हुन्थ्यो । अहिले पनि यी परम्परा उत्तिकै प्रिय छन् । तर, फिल्म प्रदर्शन, प्रचारप्रसार, हल भ्रमण र प्रवासका सांस्कृतिक कार्यक्रमले कलाकारको दसैँमा नयाँ आयाम थपेका छन् ।

कसैका लागि दसैँ आमाको सम्झनाले भावुक बनाउने दिन हो, कसैका लागि लामो समयपछि गाउँ फर्किने अवसर । कसैका लागि परिवारसँग घुम्ने फुर्सद त कसैका लागि दर्शकसँगै खुसी साट्ने व्यस्त समय । कलाकारको जीवनमा दसैँका रूप फरक भए पनि यसको मूल भावना एउटै छ। त्यो हो, आत्मीयता, सद्भाव, संस्कृतिप्रतिको सम्मान र खुसी बाँड्ने चाहना ।

यस वर्ष प्राकृतिक विपद्का कारण धेरै परिवारको दसैँ प्रभावित भएको अवस्थामा पर्वको उल्लाससँगै पीडितप्रतिको संवेदनशीलता पनि उत्तिकै आवश्यक छ । आफ्नो अवस्था र क्षमताअनुसार पर्व मनाउँदै संस्कृति जोगाउने र खुसी बाँड्ने प्रयास नै दसैँको वास्तविक सन्देश हो । पर्दामा अरूको जीवनका कथा सुनाउने कलाकारहरूका लागि पनि दसैँ आफ्नै जीवनका कथा, सम्झना र सम्बन्धसँग पुनः जोडिने अवसर बनेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।