चाडपर्वको मुखमा प्रतिबन्धित लागूओषध गाँजा बिक्री वितरण र ओसारपसार हुने गरेको पाइएको छ।
यसै क्रममा उदयपुर प्रहरीले फरक दुई ठाउँबाट ठूलो परिमाणको गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार बिहान २ः०० बजेको समयमा जिल्लाको चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानिटार क्षेत्रबाट झन्डै एक हजार किलोभन्दा बढी गाँजा बरामद गरेको छ।

बेल्टारदेखि रानीटार जाने भित्री सडक खण्डमा गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटेको इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरको टोलीले ९ सय ४० किलो गाँजा बरामद गरेको हो।
सडक छोउमै पार्क गरिराखेको बा १४ च २२५५ नं. को बोलेरो जिपबाट २९ वटा बोरामा फेला परेको गाँजा ९ सय ४० किलो ४ सय ४० ग्राम (बोरा सहित) बोलेरो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गाँजा भेटिए पनि व्यक्ति कोही फेला नपरेकाले खोजी कार्य भइरहेको छ।
त्यसैगरि जिल्लाको पश्चिमी भेगको कटारी नगरपालिका–६ बाट १ सय किलो गाँजा लुकाइराखेको अवस्थामा फेला परेको छ। त्यहाँ भने १ जना व्यक्ति पनि पक्राउ परेको प्रहरीले जनाएको छ।
आइतबार राति १०ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले कटारी–६ स्थित साँगुरी पुल नजिकै जंगलबाट गाँजासहित ताप्ली गाउँपालिका–१ का विश्वराज राई पक्राउ परेका हुन्।
साँघुरीस्थित तिनतलेबाट छिमेकी जिल्ला सिराहातर्फ लैजाँदै गरेको अवस्थामा ५ वटा बोरामा रहेको १ सय किलो गाँजासहित अन्दाजी २२ वर्षीय राई पक्राउ परेका हुन्।
गाँजा ५ वटा बोरामा रहेकाले बोक्ने मान्छे अरू पनि हुनसक्ने अनुमानका साथ प्रहरीले अन्य संलग्न व्यक्तिहरुको खोजी गरिरहेको छ।
राईलाई इप्रका कटारीको हिरासतमा राखेर अनुसन्धान सुरु भएको छ भने नियन्त्रित गाँजा इप्रकामै राखेर थप संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।