चितवनको इच्छाकामना गाउँपालिका–कुरिनटारमा निर्माण सम्पन्न इच्छाकामना आधारभूत अस्पताल भवनको उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले अस्पताल भवनको उद्घाटन गरेका हुन् ।
इच्छाकामना गाउँपालिकाको स्थापनापछिको सबैभन्दा ठूलो लगानीका परियोजनामध्ये एक मानिएको अस्पताल भवन निर्माणमा १९ करोड रुपैयाँ खर्च भएको इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।
अस्पताल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले आफ्नै पालिकामा आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७९ मा १५ शय्याको अस्पतालका लागि नमुना दरबन्दी स्वीकृत गरी पठाएको थियो । उक्त दरबन्दीमा नवौँ वा दशौँ तहका मेडिकल जनरलिस्टको नेतृत्वमा ३० जना स्वास्थ्यकर्मी तथा कर्मचारी रहने प्रस्ताव गरिएको थियो । हाल अस्पतालमा आठौँ तहका मेडिकल अधिकृतको नेतृत्वमा थप दुई मेडिकल अधिकृतसहित ३० जना जनशक्ति कार्यरत छन् ।
अस्पतालबाट २४ सैँ घण्टा आकस्मिक सेवा, प्रसूति सेवा, एम्बुलेन्स सेवा, बहिरङ्ग (ओपीडी), प्रयोगशाला, एक्स–रे, अल्ट्रासाउन्ड तथा फार्मेसीलगायत १५ भन्दा बढी प्रकारका सेवा उपलब्ध हुँदै आएको मेडिकल सुपरिटेण्डेण्ट अभिशेख लिम्बुले जानकारी दिए ।
मौलाकालिका अस्पतालसँगको सहकार्यमा महिनामा एकपटक स्त्री तथा प्रसूति रोग विशेषज्ञ र रेडियोलोजिस्टको सेवा समेत उपलब्ध राइएको उनले बताए । अस्पतालबाट दैनिक ५० देखि ६० जनासम्म बिरामीले सेवा लिँदै आएका छन् ।
इच्छाकामना आधारभूत अस्पतालको इतिहास २०५१ सालमा स्थापित दारेचोक उपस्वास्थ्य चौकीसँग जोडिएको छ । उक्त संस्था २०६९ सालमा दारेचोक स्वास्थ्य चौकीका रूपमा स्तरोन्नति भएको थियो। त्यसपछि कोभिड–१९ महामारीका क्रममा २०७७ सालमा अस्थायी अस्पतालका रूपमा सञ्चालन गरिएको थियो। २०८० कात्तिक ३ गते इच्छाकामना आधारभूत अस्पताल स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको इच्छाकामना गाउँपालिका उपाध्यक्ष मायासिलवालले जानकारी दिइन् ।
कोभिड–१९ महामारीका बेला स्थानीय तहमा ठूलो संख्यामा बिरामीको व्यवस्थापन गर्नुपर्ने आवश्यकता र अस्पताल सञ्चालनयोग्य भवनको अभावलाई ध्यानमा राख्दै संघीय सरकारले देशभरका स्थानीय तहमा ५÷१० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने नीति अघि सारेको थियो । संघीयताको मर्मअनुसार गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै उपलब्ध गराउने उद्देश्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय अनुसार अस्पताल निर्माण गरिएको उनले बताइन् ।
सोही योजनाअन्तर्गत २०७७ मंसिर १५ गते देशभर एकैसाथ आधारभूत अस्पताल भवनको शिलान्यास गरी निर्माण प्रक्रिया अघि बढाइएको थियो ।
अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, जनशक्ति तथा आर्थिक स्रोत व्यवस्थापनमा संघीय सरकारसँग समन्वय गरिने जनाइएको छ । साथै, प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने र गर्न सकिने सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरिएको छ । १९ करोड रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको अस्पताल भवनले इच्छाकामनाका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने अपेक्षा गाउँपालिकाको रहेको छ ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।