सेयर बजारमा वृद्धि यात्राले निरन्तरता पाएको छ।
बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेको छ। पछिल्ला चार कारोबार दिनदेखि लगातार बढिरहेको नेप्सेले यस दिन पनि सोही लयलाई कायम राखेको हो।
यस दिन बजारका सबै १३ वटै उपसमूहको परिसूचकमा सुधार देखिएको छ। जसमध्ये बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १.४५ प्रतिशतले बढेको छ भने विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

मुख्य परिसूचकसँगै यस दिन सेन्सेटिभ इण्डेक्स ४.७९ अंक, फ्लोट इण्डेक्स १.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१ अंकले बढेका छन्।
परिसूचक बढे पनि बजारमा कारोबार रकम भने घटेको छ। मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा बुधबार ३५४ कम्पनीको ३९ हजार १८३ पटकको कारोबारमा ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार रुपैयाँबराबरको १ करोड १६ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ।
यस दिन १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक १३.२१ प्रतिशतले बढेको छ।
त्यस्तै, ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०९० को मूल्य ८ प्रतिशतभन्दा बढीले बढ्दा अन्य स्टकहरूको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा तलै सीमित रह्यो।
यता कारोबारमा आएको सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक ६.३२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकको २६ करोड ४६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
यस्तै घलेम्दी हाइड्रोको कारोबार रकम साढे २१ करोड रुपैयाँ नाघेको छ भने लक्ष्मी सनराइज बैंकको करिब १३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।