पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, डाइभर्ट तथा रद्द हुने समस्या न्यूनीकरण गर्न आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले उपग्रहमा आधारित विशेष कार्यसम्पादन हवाई मार्गनिर्देशन तथा अवतरण प्रक्रिया ‘आरएनपी-एआर’ लागू गर्न प्रारम्भिक प्राविधिक अध्ययन सम्पन्न गरेको छ।
हाल यस विमानस्थलमा रेडियो संकेतमा आधारित मार्गनिर्देशन तथा अवतरण प्रणाली सञ्चालनमा छ। पोखराको भौगोलिक अवस्थिति र आसपासको पहाडी भू-बनोटका कारण प्रतिकूल मौसम तथा कम दृश्यता हुँदा उडान सञ्चालनमा निरन्तर चुनौती देखिँदै आएको छ।

यस समस्या समाधानका लागि प्राधिकरणले आरएनपी-एआर प्रणालीलाई अघि बढाएको हो। अब यस प्रणालीको विस्तृत प्रक्रिया डिजाइन, प्राविधिक प्रमाणीकरण, सुरक्षा मूल्याङ्कन तथा प्रचलित नियामकीय मापदण्डअनुसार आवश्यक स्वीकृति लिने काम अगाडि बढाइनेछ।
यी सम्पूर्ण प्रक्रिया पूरा भएपछि प्रतिकूल मौसम र कम दृश्यताका बेला पनि विमानस्थलमा उडान तथा अवतरण सहज हुने अपेक्षा गरिएको छ। यसले उडानलाई अन्यत्र मोड्नुपर्ने, ‘गो-अराउन्ड’ गर्नुपर्ने र रद्द गर्नुपर्ने बाध्यता हटाएर सेवालाई थप नियमित बनाउनेछ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस) ले पोखराको हवाई सेवालाई थप सुरक्षित, नियमित र भरपर्दो बनाउन यो प्रक्रिया महत्त्वपूर्ण कोसेढुङ्गा हुने बताएका छन्।
मन्त्री पौडेलले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी-एआर अवतरण प्रक्रिया कार्यान्वयनको काम अघि बढेको छ। यसबाट प्रतिकूल मौसम र न्यून दृश्यताका कारण हुने उडान अवरोध, अन्यत्र मोड्नुपर्ने अवस्था तथा उडान रद्द हुने समस्या घटाउन सहयोग पुग्नेछ।’
प्राधिकरणले आधुनिक प्रविधिमा आधारित प्रणालीहरूको विकासमार्फत मुलुकको हवाई यातायातलाई थप सुरक्षित, प्रभावकारी र विश्वसनीय बनाउने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।