ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

विदेशमा रहेका नेपालीलाई आइभोटिङको व्यवस्था गर्नुपर्छ : सरु जोशी

जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले नेपालले कूटनीतिलाई प्राविधिक विषयमा मात्र सीमित नगरी लगानीका साना–ठूला अवसर पहिचान गरेर परिणाममुखी बनाउनुपर्ने बताएकी छन्।

संघीय संसद्, संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले दुवै देशको राष्ट्रिय हित नबाझिने गरी उपलब्ध सम्भावनालाई परिणाममा रूपान्तरण गर्नुपर्ने बताइन्। फिलिपिन्ससँगको अनुभव उल्लेख गर्दै जोशीले ठूला लगानीका परियोजनामा मात्र केन्द्रित नभई साना लगानीका अवसरलाई पनि उपयोग गर्नुपर्ने बताइन्।

‘आफ्नो आँखाबाट सम्भावनाको खोजी गर। ठूलाठूला लगानी मात्रै होइन, सानासाना पनि भित्रिन सक्ने अवसरलाई लिने गर र दुवै मुलुकको राष्ट्रिय हित नबाझिने गरी त्यहाँ अवसर छ, सम्भावना छ भने त्यसलाई परिणाममा लैजाऊ भन्ने छ,’ उनले भनिन्।

विज्ञापन

संयुक्त राष्ट्रसंघ (यूएन) मा २१ वर्ष काम गरेको अनुभव सुनाउँदै जोशीले साझेदारी निर्माण र पैरवी आफ्नो प्रमुख सीप भएको बताइन्। यसअघि राजनीतिक दल र नेतृत्वसँग गरेको पैरवीको अनुभवलाई अब जर्मनीका सांसदहरूसँगको संवादमा उपयोग गर्ने उनको भनाइ थियो।

‘यूएनमा २१ वर्ष काम गर्दा मेरो एउटा सीप भनेको पार्टनरसिप र एड्भोकेसी पनि हो। जुन एड्भोकेसी पहिला मैले दलहरू र राजनीतिक नेतृत्वसँग गरेँ, अब जर्मनीका सांसदहरूसँग गरेर आफ्नो सक्दो निष्ठाका साथ यसलाई अगाडि बढाउने कोसिस गर्नेछु,’ उनले भनिन्।

२४ वर्षदेखि अलपत्र स्रोतको दीर्घकालीन समाधान खोज्नुपर्ने

जोशीले नेपालमा स्रोतको उपयोग र बिक्रीसम्बन्धी कानुनी व्यवस्थामा रहेका कमजोरी पहिचान गरी लामो समयदेखि अलपत्र स्रोतको निकास खोज्नुपर्ने बताइन्।

‘हामीसँग खरिद गर्ने कानुन छ तर बिक्री गर्ने कानुन छैन भन्ने सुनेको छु। त्यत्रो ठूलो स्रोत २४ वर्षदेखि अलपत्र छ, त्यसलाई त्यत्तिकै छाड्न मिल्दैन,’ उनले भनिन्।

उनले परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग समेत छलफल गरेर लागत–लाभ विश्लेषण गर्नुपर्ने बताइन्। त्यसका आधारमा दीर्घकालीन समाधान खोज्नुपर्ने उनको धारणा थियो।

विदेशमा रहेका नेपालीलाई इन्टरनेटबाट मतदानको व्यवस्था गर्नुपर्ने

प्रस्तावित राजदूत जोशीले विदेशमा रहेका नेपाली नागरिकलाई इन्टरनेटमार्फत मतदान गर्न सक्ने व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत अघि सारेकी छन्।

उनले आइभोटिङ (इन्टरनेट भोटिङ) को व्यवस्था गर्न सके विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउन सहज हुने र दीर्घकालीन रूपमा खर्चसमेत कम गर्न सकिने बताइन्।

‘विदेशमा रहेका नेपाली नागरिकलाई आइभोटिङको व्यवस्था गर्न सकियो भने त्यो नेपालका लागि दीर्घकालीन र कम खर्चिलो विकल्प बन्न सक्छ,’ उनले भनिन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।