मिथिलावासी यतिखेर माता दुर्गाको भक्तिगानमा डुबेका छन्।
दशहरा (बडादसैँ) पर्वको नवरात्र गत आइतबारदेखि सुरु भएसँगै महोत्तरीसहितका प्राचीन मिथिलावासी देवी दुर्गाको भक्तिमा डुबेको हुन्।
मठ मन्दिर हुन् वा चोकबजार क्षेत्र जताततै देवी दुगाको महिमा भावका भजन गुञ्जदै छन्।

‘नवरात्रमें अयलहुँ , मैया तोहर दुहार,
भरिदिय जीवन हमर, भक्तिरसक बहार।
लोभ–मोह आ अहंकार, दूर करु महारानी,
सत्यक बाट देखाउ, हे जग कल्याणी।।’
(नवरात्रका बेला माता तपाईको ढोकामा आएको-आएकी छु। मेरो जीवन तपाईको भक्तिरसले भरि दिनोस्। हे जगत् कल्याणी, लोभ मोह र अहङ्कार नास गरी मलाई सत्यको बाटोमा अग्रसर गराउनोस्)।
भजनमा दुर्गाप्रति समर्पण भावले सत्यपथमा हिँड्न अभिप्रेरित गर्नमात्र हैन,आफूले भोगेका पीडाबाट छुटकाराका लागि पनि देवीको पुकार गरिएका भाव भेटिन्छन्।
देवी दुर्गा सम्पूर्ण शक्तिको स्रोत मानिने हिन्दू मैथिल परम्परा छ। दुर्गाको कृपाबाटै सुख शान्ति, आपसी प्रेम सद्भाव रहने र सबैतिर सुमङ्गल कल्याण रुपी प्रकाश छाउने विश्वास रहेको पाइन्छ।
मैथिली संस्कृतिविद् जलेश्वर-५ पतैलीका बासिन्दा याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) मटिहानीका पूर्व सहप्राध्यापक ध्रुव रायले दुर्गा माताको रहेका मैथिली भजनमा निम्न भाव भेटिएको बताए।
‘अम्बे, हे जगदम्बे, सुनु हमर पुकार !
सुखी रहथी सब प्राणी, करु एहन उपकार !!
द्वेष–मोह मिटी जाय, प्रेमक दीप जरय,
मैथिलक घरआँगनमे, मङ्गल दीप जरय।।’
(हे माता, हे जगदम्बे, मेरो पुकार सुन्नुहोस्। सबै प्राणी सुखी रहुन्, यस्तो उपकार गर्नुहोस्। द्वेष, मोह सबै मेटियोस्, प्रेमको दियो बलोस्। सम्पूर्ण मिथिलाबासीका घरआँगनमा मङ्गल (कल्याण) रुपी दियो जगमगाओस्)।
अहिले शारदीय नवरात्रका बेला मिथिला क्षेत्रका बस्तीबस्ती समुदायकै तत्परतामा सरसफाइ गरिएका छन्। मिथिलामा समुदायस्तरमा यस्तो सामूहिक अभियान दशहरा (दसैँ), दीपावली र छठबाहेक अरु बेला खासै देखिन्न।
सबैमा देवी दुर्गाप्रति भक्ति र समर्पण भाव पाइन्छ। असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा मनाइने पर्व हुँदा दशहरामा आम मान्छेमा सद्विचार फुर्ने गरेको पाका मैथिल बताउँछन्।
‘अरु बेला जालझेल गर्ने पनि यो बेला भक्तिमा डुब्छन्। नवरात्रको प्रारम्भदेखि नै बस्तीबस्तीमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा दुर्गा भजन र झिझिया नृत्यको परम्परा छ।’
बर्दिबास-२ का बासिन्दा ७० वर्षीय वीरेन्द्र झा भन्छन्, ‘मैथिल परम्परामा शारदीय नवरात्रमा फलाहारमात्र गरेर व्रत गर्ने अझै धेरै भेटिन्छन्।’ मन, वचन र कर्ममा सात्विकता अवलम्बन गर्नु यस पर्वको मुख्य सन्देश रहेको बताउँछन्।
मिथिलामा घरआँगन लिपपोत गर्ने, रङरोगन गर्ने र गाउँबस्तीकै सरसफाइ र सडक बत्तीको व्यवस्थापन दशहरा, दीपावली र छठमै गरिन्छ। चारैतिर हर्षबढाइँ, देवी दुर्गाका भजन र मेला उत्सवको परिवेश बनेको छ। दिउँसो के रात ? सबैतिर झलमल्ल प्रकाश हुने सडक बत्ती जडित छन्।
रात पनि उज्यालो बनाएको छ। देवी दुर्गा हुन् वा दीपावलीमा आराधना गरिने लक्ष्मी। त्यस्तै छठमा आराधना गरिने षष्ठी (छठीमाता) सबै देवी उज्यालो र कल्याणदायक मानिन्छन्।
अहिले नवरात्र र एकपछि अर्को पक्षमा दीपावली र छठ लगातार पर्ने हुँदा यहाँको परिवेश नै पर्वमय बनेको छ। सबै भक्तिरसमा डुबेका छन्।
माध्यमिक विद्यालयको पूर्वप्रधानाध्याप चन्द्रनारायण सिंह थारुले दशहरादेखि छठसम्मको अवधि मिथिला संस्कृतिमा विशिष्ट रहेको बताउँछन्।
उक्त पर्वले आपसी प्रेम, सद्भाव र आपसी एकताका लागि अभिप्रेरित गर्नेहुँदा यिनले वैश्विक पहिचान पाएका पाका मैथिलको भनाइ छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।