नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरिएको छ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मंगलबार बिहान बेलकोटगढी नगरपालिका–७, महादेवथानमा आयोजित कार्यक्रममा दाहालले प्रभावित परिवारलाई हस्तान्तरण गरेका हुन्। वाईसीएल नेपालको पहलमा निर्माण गरिएका आवासमा दुई कोठा र शौचालय छन्।

घर पाएपछि प्रभावित परिवारले खुसी व्यक्त गर्दै आफ्ना लागि यी आवास सुरक्षित जीवनको आधार बनेको बताएका छन्। बेलकोटगढी नगरपालिका–७ का ६३ वर्षीय श्रीकृष्ण नेपालले बाढीले आफ्नो घर आधा पुरेपछि वाईसीएलले आवास निर्माण गरिदिएको बताए।

‘मेरो घर बाढीले आधा पुर्यो। वाईसीएलले घर बनाइदियो। मेरा लागि यो सिंहदरबार हो,’ उनले भने।

बेलकोटगढी–७ कै प्रदीप राईले यस वर्षको दसैं वाईसीएलले बनाइदिएको घरमा मनाउन पाउने बताए। आवास निर्माणले आफूहरूलाई बाँच्न र नयाँ जीवन सुरु गर्न प्रेरित गरेको उनको भनाइ छ। स्थानीय शम्भु सिग्देलले पनि वाईसीएलले गाउँलाई ठूलो सहयोग गरेको बताए।
आवास हस्तान्तरण कार्यक्रममा दाहालले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र त्यसले पुर्याएको क्षति प्राकृतिक विपत्तिको परिणाम मात्र नभएको बताए। विकसित भनिने मुलुकहरूले अपनाएको विकासको गलत मोडलका कारण नेपालले जलवायु परिवर्तनको असर भोग्नुपरेको उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले कार्बन उत्सर्जनमा नेपालको भूमिका नगण्य भए पनि जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गरे। आफू प्रधानमन्त्री हुँदा संयुक्त राष्ट्रसंघको महासभा तथा महासचिवसँगको भेटमा जलवायु न्यायको विषय उठाएको उनले स्मरण गरे।
दाहालले रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आफू पुग्दा प्रभावित परिवारका लागि आवास निर्माण गर्ने घोषणा गरिएको स्मरण गर्दै निर्माणमा खटिएको वाईसीएललाई धन्यवाद दिए।
.jpeg)
वाईसीएल नेपालका अध्यक्ष पुष्प वलीले बाढीपहिरो प्रभावित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले निर्माण अभियान सञ्चालन गरिएको बताए। संगठनका प्रचार विभाग प्रमुख धिरज उपरकोटीका अनुसार एउटा आवास निर्माणमा अनुमानित चार लाख रुपैयाँ खर्च भएको छ। उपाध्यक्ष हरि ढकालले दाताबाट प्राप्त निर्माण सामग्री र प्राविधिक सहयोगमा आवास निर्माण गरिएको जानकारी दिए।
आवास निर्माण, सरसफाइ, उद्धार, राहत तथा पुनर्निर्माणका काममा वाईसीएलका ६ सयभन्दा बढी नेता तथा कार्यकर्ता परिचालित भएको संगठनले जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।