ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

अडियो प्रकरणबारे खगेन्द्र सुनारको दाबी : त्यो पात्र म होइन, निष्पक्ष छानबिन होस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादास्पद अडियोमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। उनले आफूलाई प्रहरीभित्रको भ्रष्टाचार र बदमासीबारे संसद्को सार्वजनिक लेखा समितिमा प्रश्न उठाएकै कारण नियोजित रूपमा घेराबन्दी गरिएको आरोपसमेत लगाएका छन्।

मंगलबार फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै सुनारले पछिल्लो समय आफूविरुद्ध घुस खाएको, भ्रष्टाचार गरेकोलगायत विभिन्न आरोप लगाइएको बताए। उनले हिजो सार्वजनिक भएको अडियोमा सुनिएको पात्र आफू नभएको र त्यसमा आफ्नो कुनै सम्बन्ध नरहेको जिकिर गरे।

‘अहिले सामाजिक सञ्जालमा जे अडियो, भिडियो भनेर आएको छ, त्यसमा मेरो कुनै सम्बद्धता छैन, त्यो पात्र म होइन,’ उनले भने।

विज्ञापन

सुनारले प्रहरीभित्रको भ्रष्टाचारबारे प्रश्न उठाएपछि नेपाल प्रहरीको प्रधान कार्यालयदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्मबाट आफूलाई फसाउने प्रयास भएको आरोप लगाए। उनका अनुसार आफूसँग सम्बन्धित साथीभाइ, आफन्त र चिनजानका व्यक्तिलाई बोलाएर आफूविरुद्ध मुद्दा हाल्न उक्साइएको थियो। मुद्दा हाले पैसा र सम्मान दिनेसम्मका प्रस्ताव गरिएको उनको दाबी छ।

‘मैले प्रश्न गरे बापत प्रहरीको भित्रको बदमासीको प्रश्न गरेदेखि नै नेपाल प्रहरीको हेडक्वार्टरदेखि सीआईबीसम्मले म वरिपरि भएका साथी, संगी, इष्टमित्र, आफन्त, सबै खालका मान्छेलाई यसका विरुद्धमा भएका प्रमाणहरूले, यसका विरुद्धमा भएका, यसको विरुद्धमा कसले बोल्न सक्छ? यसलाई कसले मुद्दा हाल्न सक्छ? यसको विरुद्धमा ककसले के-के गर्न सक्छ? भनेर विभिन्न अफरहरू दिएको थियो। योबीचमा धेरै मान्छेहरूलाई बोलाएर उनीहरूलाई मुद्दा हाल्न उकाएका थिए, मुद्दा हालेपछि पैसा दिने, सम्मान दिने, यसो गर्ने, त्यसो गर्ने, उनीहरूले सबै गर्छौँ भनेका थिए,’ उनले भिडियोमा भनेका छन्।

सुनारले आफूसँग जोडिएका महिला तथा अन्य व्यक्तिको चरित्र हत्या हुने गरी काल्पनिक पात्र र प्रसंग जोडेर अडियो सार्वजनिक गरिएको आरोपसमेत लगाए। प्रहरीबाट विभिन्न व्यक्तिलाई आफूमाथि उजुरी दिन, सामाजिक सञ्जालमा लेख्न र विरोध गर्न दबाब दिइएको उनको भनाइ छ।

सुनारले आफूमाथि उठेका प्रश्नबाट भाग्न नखोजेको स्पष्ट पार्दै पार्टी, संसद् र सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे। आफूसँग सम्बन्धित व्यक्तिहरूको समेत अनुसन्धान गर्न आफू तयार रहेको बताउँदै उनले आवश्यक परे पार्टीको केन्द्रीय समितिबाट निलम्बित हुन र सांसद पदबाट बाहिरिनसमेत तयार रहेको बताए।

‘ममाथि छानबिन होस्, निर्मम छानबिन होस्। पार्टीले, सरकारले ममाथि कुनै दया देखाउनु पर्दैन,’ उनले भने, ‘ममाथि निष्पक्ष छानबिन होस्। अपराध र बदमासी गरेको सन्दर्भमा कानुनले दिएको सबै कुरा भोग्न तयार छु।’

उनले आफूले कुनै अपराध गरेको प्रमाणित भए कानुनी कारबाही भोग्न तयार रहेको उल्लेख गर्दै प्रहरीको बर्दी, बन्दुक र हत्कडीको दुरुपयोग गरेर कसैलाई फसाउन र चरित्र हत्या गर्न नहुने बताए।

सुनारले आफूविरुद्ध भइरहेको भनिएको गतिविधिको कारण प्रहरीभित्रको बदमासीबारे प्रश्न उठाउनु रहेको दाबी गरे। गरिबका छोराछोरीका जुत्ता र मोजासम्बन्धी विषयमा भएको भनिएको भ्रष्टाचारबारे प्रश्न उठाउँदा आफूले पीडा भोग्नुपरेको उनको भनाइ छ।

उनले सार्वजनिक अडियो कृत्रिम बुद्धिमत्ता (एआई), प्रविधि वा अन्य माध्यमबाट तयार पारिएको हुन सक्ने आशंकासमेत व्यक्त गरे।

सुनारले आफू जनताबाट उठेका प्रश्नको जवाफ दिन र राज्यका सबै निकायले गर्ने छानबिनमा सहयोग गर्न तयार रहेको दोहोर्‍याउँदै आफूमाथि निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।