मधेस प्रदेशको पर्सादेखि सप्तरीसम्म रहेको ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्वका स्थानको विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने कार्यमा प्रदेश सरकार उदासीन देखिएको छ। प्रदेश सरकारको उदासीनताले प्रदेशमा रहेको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक स्थान ओझेलमा परेको परेको छ।
पर्सा जिल्लाको वीरगन्जमा रहेका गहवामाई, पटेर्वा सुगौलीमा रहेको दुग्धेश्वरनाथ महादेव, बाराको बरियारपुरमा रहेको गढीमाई मन्दिर, सिम्रौनगढको कंकाली मन्दिर, चुरियामाई मन्दिर, धनुषाको जनकपुरमा रहेको जानकी मन्दिर र सप्तरीको छिन्नमस्ता मन्दिरलाई धार्मिक पर्यटक भित्रिने ठुलो सम्भावना बाकेका स्थानका रूपमा रहेका छन्। धार्मिक पर्यटक भित्रिने ठुलो सम्भावना रहे पनि त्यसका लागि चाहिने सडक सञ्जाल, बस्ने स्तरीय धर्मशाला र प्रचारप्रसारलगायत कार्यमा सरकारको लगानी नाम मात्रको रहेको छ।
यी सबै प्रमुख धार्मिकस्थललाई आपसमा जोड्ने गरी एउटा एकीकृत ‘मधेस धार्मिक पर्यटन सर्किट’ निर्माण गरेर अगाडि बढ्दा दिनमै लाखौंलाख धार्मिक पर्यटक आउने सम्भावना रहेको बताइएको छ। दिनमै लाखौं धार्मिक पर्यटक भित्रिँदा हजारौंले रोजगारी पाउने सम्भावनासमेत रहेको बताइएको छ।

भारतसँग जोडिएको खुला सिमानाका कारण लाखौं भारतीय तथा अन्य हिन्दु धर्मावलम्बी सहजरूपमा यी मन्दिरमा दर्शनका लागि आउन सक्ने प्रबल सम्भावना छ। अन्य प्रदेशमा जस्तो प्राकृतिक रूपमै निर्मित पर्यटकीय गन्तव्य नभए पनि धार्मिक पर्यटनलाई नै भिœयाउने योजना बनाएर मधेस सरकारले अगाडि बढ्नुपर्ने देखिएको छ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पर्यटन पूर्वाधार विस्तार, सडक सुधार, सरसफाइ, सुरक्षा तथा पर्यटकमैत्री वातावरण निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताएका छन्।
पर्सादेखि सप्तरीसम्मका जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थानलाई सडक सञ्जालले जोडेर विकास गर्न बहुबर्षीय योजना बनाइएको उनले बताए।
यी स्थानलाई सडक सञ्जालले जोड्न र विकास गर्न प्रदेश सरकारसँग रकम अभाव रहेकाले निर्माण कार्य अगाडि बढाउन नसकिएको उनले बताए।
प्रदेश सरकारसँग रकम अभाव भएका कारण दातृ निकायसँग यसको विकासमा लगानी गर्न आग्रह गरिएको मुख्यमन्त्री यादवले बताए। विशेषगरी भारतीय धार्मिक पर्यटकलाई केन्द्रमा राखेर गुरुयोजना बनाएर अघि बढ्ने कार्यमा वर्षैपिच्छे मधेस सरकार चुक्दै गएको आरोप लाग्ने गरेको छ।
गहवामाई मन्दिर: गहवामाई मन्दिर वीरगन्जआसपास क्षेत्रको एक प्रमुख धार्मिक एवं सांस्कृतिक धरोहरका रूपमा रहेको छ। बडादसैंको घटस्थापनादेखि फूलपातीसम्म ठुलो मेला लाग्ने गरेको छ। एक हप्ता चल्ने मेलामा श्रद्धालुहरूको घुइँचो हुने गर्दछ। यस प्रसिद्ध मन्दिर परिसरबाट हरेक वर्ष भव्यरूपमा गहवामाई रथयात्रा नेपाल र भारतका गरी हजारौं श्रद्धालुको सहभागितामा निकाल्ने गरिएको छ।
दुग्धेश्वरनाथ महादेव मन्दिर: पर्साको पटेर्वा सुगौली १ रामभौरीभाथामा रहेको बाबा दुग्धेश्वरनाथ महादेव मन्दिरमा लाग्ने भाथा मेला वर्षमा चारपटक लाग्ने गर्दछ। विशेषगरी साउन महिनाभरि लाग्ने यो मेला माघको वसन्तपञ्चमी, फागुनको महाशिवरात्रि र वैशाखको त्रयोदशी तिथिमा पनि लाग्ने गरेको छ।
मेलामा नेपालका पर्सा, बारा, रौतहट, चितवन, मकवानपुरका साथै छिमेकी देश भारतको बिहार राज्यबाट ठुलो संख्यामा श्रद्धालु दर्शनका लागि आउने गर्दछन्। पर्सा राष्ट्रिय निकुञ्जको घना जंगल र पहाडी पर्यावरणको बिचमा रहेको यो मन्दिर प्राकृतिक सौन्दर्य र हरियालीले भक्तजनलाई आकर्षित गर्दछ।
गढीमाई मन्दिर: बाराको बरियारपुरमा रहेको यस मन्दिरमा पाँच वर्षमा एकपटक मंसिर शुक्ल सप्तमीदेखि एक महिनासम्म मेला लाग्ने गर्दछ। बढी पशु बलिको दिने कार्यका लागि यो मेला विश्व प्रसिद्ध छ। पाँच वर्षमा लाग्ने यस गढीमाई मेलामा मुसा, परेवा, बोको, राँगो र खरायो गरी पाँच जीवको पञ्चबलि दिने धार्मिक परम्परा रहेको छ। यससँगै भाकल पूरा भएकाहरूले लाखौं संख्यामा बोका र राँगाको बलि दिने गरेका छन्। यसका साथसाथै बडादसैं र माघेसंक्रान्तिको दिन पनि हजारौंको संख्यामा श्रद्धालु आउने गर्छन्।
गढीमाईलाई तान्त्रिक विधिद्वारा पुजिने शक्तिशाली देवीका रूपमा मानिन्छ, जसले भक्तजनको भाकल र मनोकामना पूरा गर्ने जनविश्वास रहेको छ।
कंकालीमाई मन्दिर: धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बाराको सिम्रौनगढमा रहेको यो मन्दिर सिम्रौनगढ बजार क्षेत्रमा अवस्थित छ।
कर्णाटकालीन इतिहास, वास्तुकला र प्राचीन सांस्कृतिक सम्पदाको एक जीवन्त प्रतीकका रूपमा यो मन्दिरलाई मानिन्छ।
मन्दिरभित्र रहेकी मूल देवी कंकालिनीको मूर्ति कालो शालिग्राम रङको र रौद्र आकारको छ। देवीले कुनै दानवलाई मारी दाँतले आद्रा चपाइरहेजस्तो देखिने विशिष्ट र प्रभावशाली स्वरूपमा रहेको छ। मन्दिरमा विशेषगरी बडादसैंको घटस्थापनादेखि विजयादशमीसम्म दर्शनार्थीको ठुलो भीड लाग्ने गर्दछ।
सिम्रौनगढको प्राचीन सभ्यतासँग जोडिएको हुनाले धार्मिक पर्यटकका साथै इतिहास र पुरातत्व अध्ययन गर्नेका लागि पनि यो मन्दिर विशेष आकर्षणको केन्द्र रहेको छ।
चुरियामाई मन्दिर: पथलैया–हेटौंडा जाने पृथ्मी राजमार्गछेउमा चुरियामाई मन्दिर अवस्थित छ। जितपुरसिमरा उपमहानगरपालिकाको अमलेखगन्जमा पर्ने यस मन्दिरलाई विशेषगरी यातायातकी देवीका रूपमा पूजा गर्ने धार्मिक मन्यता रहेको छ। नयाँ सवारीसाधन किनेपछि यहाँ आएर पूजा गरेमा यात्रा सुरक्षित र शुभ हुने जनविश्वास छ। मन्दिर परिसरमै दक्षिण एसियाकै पहिलो र नेपालको पहिलो चुरिया सुरुङमार्ग रहेको छ, जुन राणाकालमा इन्जिनियर दिल्लीजंग थापाले निर्माण गरेको भनाइ छ।
देवी चुरियामाईलाई शक्तिस्वरूपा दुर्गाका रूपमा मानिन्छ। यहाँ पूजा र भाकल गरेमा भक्तजनका मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। चुरे पहाडको फेदीमा हरियालीले घेरिएको यो स्थान प्राकृतिक दृष्टिले पनि शान्त र आकर्षक छ। यस मन्दिरमा नेपालीभन्दा भारतीय श्रद्धालु पुजा गर्ने आउने गरेका छन्। बडादसैं, चैतेदसैं तथा विशेष चाडपर्वमा यहाँ दर्शनार्थीको भीड लाग्छ।
मंगलबाबा मन्दिर: सर्लाहीको मलंगवामा रहेको यस मंगलबाबा मन्दिर हिन्दु र मुस्लिम दुवै समुदायकाले पूजा गर्दै आएका छन्। हिन्दु र मुस्लिम दुवै समुदायले पूजा गर्ने भएकाले यस मन्दिरलाई धार्मिक सद्भावको मन्दिरका रूपमा पनि हेर्ने गरिएको छ।
जानकी मन्दिर: माता सीताको जन्मभूमिका रूपमा विश्वभर परिचित जानकी मन्दिर जनकपुरमा अवस्थित छ। विशेषगरी भारतसँगको धार्मिक र सांस्कृतिक सम्बन्धमा यस मन्दिरको ठुलो योगदान रहेको छ। भारतको अयोध्या राज्यका राजकुमार मर्यादा पुरुष रामसँग जनकपुत्री सीताको विवाह भएको घटनालाई अहिले पनि जानकी मन्दिरले याद दिलाउने गरेको छ।
शदीयौंदेखि प्रत्येक वर्षको मंसिरमा पर्ने विवाहपञ्चमी दिन अयोध्याबाट जन्ती लिएर यस मन्दिरमा आउने धार्मिक परम्परा आज पनि जीवन्त छ।
पछिल्ला वर्षमा भारतको अयोध्याबाट आउने जन्तीका कारणले जनकपुरको धार्मिक आस्थाले निरन्तरता पाउनुका साथसाथै पर्यटन, संस्कृति, व्यापार र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका ठुलो योगदान दिएको बताइएको छ।
जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, धनुषसागर, गंगासागर, विभिन्न प्राचीन मठमन्दिर, मिथिलाकला, परम्परागत संस्कृति र धार्मिक उत्सवले जनकपुरधामको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याएका छन्।
भारतको लोहागढका सन्त शुरकिशोर दासले १५औं शताब्दीमा जनकपुरधामको खोज गरी जानकी मन्दिरको जग बसाएको भनाइ छ।
मन्दिर निर्माण गर्दा नौ लाख रुपैयाँ खर्च भएकाले यसलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ। सन् १९११ मा भारतको टिकमगढकी राजकुमारी वृषभानुद्वारा जानकी मन्दिरको निर्माण गराएको बताइन्छ।
छिन्नमस्ता मन्दिर: धार्मिक मान्यताअनुसार ५२ वटा शक्तिपीठमध्ये सप्तरीको प्राचीन छिन्नमस्ता भगवतीको मन्दिर पनि एक हो। नेपाल र भारतका विभिन्न स्थानबाट दर्शन र पूजापाठका लागि आउने श्रद्धालुहरूका कारणले यस मन्दिरमा वर्षभरि नै भीड हुने गर्छ। मधेस प्रदेशका विभिन्न जिल्लामा अवस्थित यी मन्दिर भारतको बिहार राज्यको सीमासँग नजिक पर्ने गरेका छन्।
बिहार राज्यसँग नजिक भएकाले यसबाट भारतीय धार्मिक पर्यटकलाई आकर्षित गर्न नसकिएको पर्यटक व्यवसायीले गुनासो गरेका छन्।
यी धार्मिकस्थलको विकास गरेर सडक सञ्जालसँग जोड्ने, राम्रोसँग प्रचारप्रसार ग¥यो भने बर्सेनि हजारौं धार्मिक पर्यटक घुम्न आउने विश्वास गरिएको छ। लाखौं धार्मिक पर्यटक भिœयाउने सम्भावना बोकेका यी स्थानको विकास गर्नु र त्यसबाट फाइदा उठाउने कार्यमा तीनै तहका सरकार चुक्दै आएका छन्।
अन्य व्यवसायभन्दा आउने पर्यटनले धेरैलाई रोजगारी दिने भएकाले पर्यटन भित्रिने स्थानलाई केन्द्रमा राखेर लगानी गर्न जरुरी देखिएको छ। आन्तरिक वा बाहिरी पर्यटन आउँदा यातायात व्यवसाय, होटल व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने भएकाले सरकारले धार्मिकस्थलहरूको विकासमा केन्द्रित हुन जरुरी छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।