गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा हिमाली नदीमा आएको बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीका अनुसार बाढीको प्रभावबाट तल्लो तटीय क्षेत्रलाई जोगाउन सुरक्षा निकाय परिचालन गरिएको छ।
उप्रेतीका अनुसार नदीको मूल स्रोत हिमाली क्षेत्र हो। बाढीको उत्पत्ति र क्षतिको अवस्थाबारे थप जानकारी संकलन भइरहेको उनले बताए। नदीको माथिल्लो क्षेत्रबाट तल्लो भागसम्म बाढी पुग्न करिब दुई घण्टा लाग्ने भएकाले जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सुरक्षित गर्न प्रयास भइरहेको उनले जानकारी दिए।
‘हामी बजार खाली गराउने काम गरिरहेका छौँ। सेनाको हेलिकप्टर गइसकेको छ, प्रहरी परिचालन भइसकेको छ र एसएमएस अलर्ट पनि पठाइसकिएको छ,’ उप्रेतीले नागरिकन्युजलाई भने, ‘तल्लो तटीय क्षेत्रलाई बचाउन हामी कोसिस गरिरहेका छौँ।’

उनका अनुसार सर्ती खोलाबाट सुरु भएको बाढीको प्रभाव सिर्दिबास, जगत, यारु, तातोपानी, माछाखोला, सोती, आरुखेत र आरुघाटसम्म पर्न सक्ने देखिएको छ। त्यसपछि नदी त्रिशूलीमा मिसिने भएकाले तल्लो तटीय क्षेत्रसम्म सतर्कता आवश्यक रहेको उनले बताए।
बाढीले माथिल्लो क्षेत्रमा क्षति पुर्याएको सूचना आए पनि सल्लेरी बजारलगायत स्थानमा भएको क्षतिको विवरण भने पुष्टि भइनसकेको उप्रेतीले बताए। क्षतिको यकिन विवरण संकलन भइरहेको उनको भनाइ छ।
यस्तै, मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाबाट पनि तटीय क्षेत्रका बासिन्दालाई एसएमएस पठाइसकिएको छ। महाशाखाका बाढीविज्ञ विनोद पराजुलीका अनुसार बाढी आरुघाटसम्म आइपुग्न करिब तीन घण्टा लाग्ने अनुमान छ। त्यसैले आरुघाटसम्मै सतर्क रहन आग्रह गर्दै एसएमएस पठाइएको उनले बताए।
यो पनि पढ्नुहोस्
बुढीगण्डकीमा बाढीको वितण्डा : सल्लेरी बजार बगायो, जगतमा ठूलो क्षति, अवस्था नाजुक


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।