शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी सेवा विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएबापत जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक अङ्गुर जिसी पुरस्कृत भएका छन्।
एकहत्तरौँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले उनलाई ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरेका हुन्।
प्रहरी उपरीक्षक जिसीको नेतृत्वमा बाँके प्रहरीले ‘इन्तजार मोहम्मद अरबी खाँको हत्या’, ‘सिर्जना बुढा मगरलाई जलाएर मारिएको घटना’, ‘अफ्सना बस्नेतको अपहरण तथा हत्या’ र ‘विशाल चन्द ठकुरीको हत्या’ मा संलग्न फरार अभियुक्त पक्राउ गरी सफल अनुसन्धान गरेका थिए।

गृहमन्त्री गुरुङले ‘योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार’ प्रहरी चौकी कोठियाघाट, बर्दियामा कार्यरत प्रहरी सहायक हवल्दार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाशसिंह महरालाई प्रदान गरेका थिए।
यस्तै ‘मोतिलाल प्रहरी उत्कृष्ट अनुसन्धान अधिकृत’ पुरस्कारबाट इलाका प्रहरी कार्यालय रातापानी मुगुका प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्धबहादुर बुढा पुरस्कृत भए। उक्त पुरस्कारको राशि ५१ हजार रुपैयाँ छ।
यस वर्षको ‘मोतिकला मिथिला अमर प्रहरी छात्रवृत्ति’ अशक्त प्रहरी नायब निरीक्षक हितबहादुर तामाङकी सुपुत्री विदुर नगरपालिका–११ घर की छात्रा आशिका लामा र अमर प्रहरी जवान विन्देश्वर साहका सुपुत्र सर्लाहीको विष्णुपुर गाउँपालिका–६ का अनजयकुमार साहलाई प्रदान गरियो। सो छात्रवृत्तिको राशि वार्षिक एक लाख रुपैयाँ छ।
कार्यक्रममा गृहमन्त्री गुरुङले ‘अच्युत मीना अमर प्रहरी पुरस्कार’ अमर प्रहरी पदमबहादुर साउँदको सुपुत्र कैलालीका विप्लव साउँद र अमर प्रहरी रामबहादुर साउँदको सुपत्री अछामकी रञ्जना साउँद तथा ‘अच्युत मीना अमर प्रहरी छात्रवृत्ति’ अमर प्रहरी शेरसिंह साउँदको सुपुत्र बैतडीका अनिल साउँद र अमर प्रहरी रामबहादुर साउँदकी सुपुत्री कैलालीकी नवीना साउँदलाई जनही ५१ हजार रुपैयाँको पुरस्कार र छात्रवृत्ति प्रदान गरे।
त्यसअघि गृहमन्त्री गुरुङले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए। नेपाल प्रहरीको एक टुकडीले गृहमन्त्रीलाई सम्मान गारत अर्पिएका थिए।
प्रहरीलाई विभिन्न कार्यालय स्थापनाका लागि यस वर्ष ३५ सहित ४२८ जनाले जग्गा दान गरेको सो कार्यक्रममा जानकारी दिइयो। विभिन्न कालखण्डमा एक हजार ७९८ अमर प्रहरीले कर्तव्यपालनको सिलसिलामा वीरगति पाएका छन्।
यस वर्ष प्रहरी नायब निरीक्षकसहित पाँच जनाले वीरगति पाएका छन् भने २५ प्रहरी कर्मचारी बेपत्ता भएका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।