बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल प्रहरीलाई अझ व्यावसायिक, जनउत्तरदायी, अनुशासित र प्रविधिमैत्री संगठनका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
७१औँ प्रहरी दिवस–२०८३ का अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले शान्ति सुरक्षा सुदृढीकरण, विपद् व्यवस्थापन, अपराध नियन्त्रण तथा नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्ने कार्यमा नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका हुन्।
उनले नेपालको संविधान, प्रचलित कानुन र जनताको सेवाप्रति समर्पित हुँदै राष्ट्र तथा नागरिकको सुरक्षा, शान्ति सुव्यवस्था कायम र अपराध नियन्त्रणमा नेपाल प्रहरीले पुर्याउँदै आएको योगदानको उच्च सम्मान गरे।

मुख्यमन्त्री थापा मगरले कुनै पनि मुलुकको विकास, समृद्धि र सुशासनको आधार शान्ति, सुरक्षा र कानुनी शासन भएको बताउँदै नागरिकले आफ्नो घरपरिवार, व्यवसाय, पेसा तथा दैनिक जीवन सुरक्षित रूपमा सञ्चालन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको आधारभूत दायित्व भएको उल्लेख गरे।
अपराध अनुसन्धान, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, महिला तथा बालबालिकाको सुरक्षा, मानव बेचबिखन नियन्त्रण, लागुऔषध नियन्त्रण, साइबर अपराध अनुसन्धान र सार्वजनिक सम्पत्तिको संरक्षणलगायतका क्षेत्रमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
उनले प्रहरीप्रतिको जनविश्वास नै संगठनको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै प्रहरी सेवा निष्पक्ष, पारदर्शी, संवेदनशील र नागरिकमैत्री हुनुपर्नेमा जोड दिए। पहुँच, प्रभाव र व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर कानुनअनुसार काम गर्ने संस्कारले मात्र प्रहरीप्रतिको विश्वास थप बलियो बनाउन सकिने उनले बताए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।