ब्रेकिङ न्युज
विज्ञापन
समाज

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

चारैतिर दसैँको रौनक छाएका बेला बाँकेका किसानलाई भने वर्षभरि खाने धान सुरक्षित रूपमा भित्र्याउने चटारो छ। रातो टीका, जमरा र आफन्तसँग खुसी साटासाट गर्ने तयारीमा धेरैजसो मानिस किनमेल र घर सिँगार्न व्यस्त छन्।

तर, नेपालगन्ज उपमहानगरपालिका–१९ सुइयागाउँका किसान ध्रुव थापालाई खेतमा पहेँलपुर भएर झुलेको धान वर्षाले भित्र्याउन दिन्छ कि दिँदैन भन्ने चिन्ताले सताएको छ।

‘असारे हिलोमा बगाएको पसिना यतिबेला खेतभरि पहेँलपुर झुलेको छ। त्यसैले दसैँको टीका थाप्नेभन्दा पनि खेतको धान थन्क्याउने हतारो छ,’ थापाले भने, ‘यदि अहिल्यै धान भित्र्याउन सकिएन भने ठूलो क्षति हुन्छ। त्यसैले हाम्रा लागि यतिबेला दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोले छोएको छ।’

विज्ञापन

गत असारमा रोपिएको धान पाकेर खेतमा झुलेको छ। अब वर्षा भए धानबालीमा ठूलो क्षति हुने जोखिम रहेकाले किसानलाई दसैँ मनाउनभन्दा पनि धान भित्र्याउन भ्याइनभ्याइ भएको छ। गत साता ठूलो वर्षा भएकाले धान भित्र्याउन नसकिएको थापाले बताए। केही दिनदेखि पानी नपरेकाले खेताला लगाएर धान काट्ने र भित्र्याउने काममा लागेको उनको भनाइ छ।

विगतका वर्षमा प्रायः दसैँ सकिएपछि धान भित्र्याउने समय आउँथ्यो। तर, यसपालि दसैँ ढिलो परेकाले धान पाक्ने र दसैँ मनाउने समय एकैपटक जुधेको छ। गाउँघरमा दसैँको उल्लासभन्दा खेतबारीको कामको हतारो बढी देखिएको राप्ती सोनारी गाउँपालिका–५ का किसान अशोक वलीले बताए।

‘अहिले त धान काट्ने बेलामै ठूलो वर्षा भयो। केही दिनदेखि पानी रोकिएकाले धेरै किसान धान काट्न र भित्र्याउनमै व्यस्त छौँ,’ वलीले भने, ‘एकातर्फ धान भित्र्याउनु छ, अर्कातर्फ बारीमा गहुँ छर्ने समय भइसकेको छ। एकैपटक धेरै काम थपिएकाले यसपालिको दसैँ अघिल्ला वर्षजस्तो फुर्सदिलो र रमाइलो हुने छाँट छैन।’

केही दिनअघि नै धान काट्ने तयारी गरे पनि वर्षाका कारण रोकिएको राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले बताए। अहिले किसान अर्मपर्म गरेर धान भित्र्याउन व्यस्त छन्।

उनका अनुसार यस वर्ष समयमै मनसुन सुरु भएकाले बाँकेमा धानको उत्पादन राम्रो भएको छ। खेतभरि झुलेका धानका बालाले राम्रो उत्पादनको सङ्केत गरे पनि अनपेक्षित वर्षाको जोखिम भने अझै टरेको छैन।

‘आकाशमा अलिकति मात्रै बादल मडारिँदा पनि किसानको धड्कन बढ्ने गर्छ। मिहिनेतअनुसार धान राम्रो त भएको छ, तर समयमै घर भित्र्याउन नसके असिनापानीले नोक्सान पुर्‍याउन सक्छ,’ चौधरीले भने, “बाँकेका किसान यतिबेला दसैँको रमझमभन्दा माथि उठेर धान भित्र्याउन लागेका छन्। धानखेती सुरक्षित रूपमा घर भित्र्याउन पाउनु नै यसपालिको सबैभन्दा ठूलो दसैँ र खुसी हुनेछ।’

कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माका अनुसार पाकेको धान स्याहार्ने बेला वर्षा हुने डरले किसान धमाधम धान भित्र्याउन लागेका छन्।

जिल्लामा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ। यस वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको शर्माले जानकारी दिइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।