राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठुलो तामझाम, सामाजिक सञ्जालमा व्यापक प्रचार र आकर्षक नाराका साथ देशव्यापी रूपमा सञ्चालन गरेको ‘हामी आउँदै छौं’ अभियान मंगलबार सकिएको छ।
असोज २० गते धादिङबेंसीबाट सुरु भई २७ गते सम्पन्न भएको अभियानमा रास्वपाले आफ्ना सांसद र केन्द्रीय सदस्यलाई विभिन्न जिल्ला र स्थानीय तहमा खटाएको थियो। अभियानका क्रममा सहभागी सांसद तथा नेताका अनुसार नागरिकले उठाएका गुनासामा दैनिक जीवनका सवाल र राजनीतिक संस्कारका प्रश्न दुवै मिसिएका थिए।
सबैभन्दा प्रमुख गुनासो महँगीको थियो। चाडपर्वका मुखमा बजारमा अत्यधिक मूल्यवृद्धि भए पनि सरकारले प्रभावकारी नियन्त्रण गर्न नसकेको र दैनिक जनजीविका सहज नभएको गुनासो नागरिकहरूले गरेका थिए। नेताका व्यवहारबारे पनि कतिपय ठाउँमा असन्तुष्टि सुनियो। समस्या सुन्न आएका नेता र सांसदले जनताका पीडा सुन्नुभन्दा आफ्नै कुरा सुनाउन, भाषण गर्न र सरकारी कर्मचारीलाई निर्देशन दिनमै बढी समय खर्चिएको गुनासो पनि आएको थियो।

दलहरू चुनावका बेला मात्र घरदैलो पुग्ने र अन्य समयमा बेवास्ता गर्ने परिपाटी रहेको भन्दै नागरिकले नियमित प्रत्यक्ष सम्पर्कको माग राखे। पार्टीभित्रको संरचनामा महिला सहभागिताको प्रश्न पनि उठ्यो। विभिन्न तह र संरचनामा महिलाको अर्थपूर्ण सहभागिता अपेक्षाकृत न्यून रहेको गुनासो र सुझाव आएपछि नेतृत्वको ध्यानाकर्षण गराइयो। साथै राज्यको केन्द्रीय संरचना र स्थानीय तहका वास्तविक आवश्यकता नमिल्दा जिल्लाहरूमा अपेक्षित विकास निर्माण हुन नसकेको र जनभावनाअनुसारका योजना नआएको स्थानीय प्रतिनिधि र जनताले बताएका थिए।
उनीहरूले वडास्तरसम्म पुगेर नागरिक, कार्यकर्ता र सरोकारवालासँग प्रत्यक्ष संवाद गरेका थिए। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित यो कार्यक्रमले पार्टीको संगठन, जनसम्पर्क र चुनावी रणनीतिमा महत्त्वपूर्ण तर मिश्रित प्रभाव पारेको देखिन्छ।
पार्टीका अनुसार अभियानका मुख्य चार उद्देश्य थिए। निर्वाचनका बेला मात्र मतदाताको घरदैलो पुग्ने परम्परागत प्रवृत्ति तोड्दै जनताका दैनिक समस्या नजिकबाट बुझ्ने। स्थानीय तह र जनस्तरसम्म पार्टीको सञ्जाल बलियो बनाउने। राज्यको केन्द्रीय संरचना र आम नागरिकबिचको दुरी प्रत्यक्ष संवादबाट कम गर्ने। स्थानीयबाट प्राप्त सुझावलाई आगामी नीति निर्माण र स्थानीय निर्वाचनको तयारीमा प्रयोग गर्ने। यिनै उद्देश्य पूर्तिका लागि देशका विभिन्न भूभागमा पुगेर आएका सांसदहरूका अनुसार ‘हामी आउँदै छौं’ अभियान कुनै दलीय भाषणबाजीमा सीमित नरही अभियान मुख्यतया तीन स्वरूपमा चलाइयो।
पहिलो– खुला जनसंवाद र घरदैलो थियो। जसमा नेता तथा सांसदहरू बस्ती र टोल–टोलमा पुगेर स्थानीय समस्या, गुनासो र अपेक्षा प्रत्यक्ष सुनेका थिए। दोस्रो– अन्तक्रिया तथा प्रशिक्षण थियो जसमा पार्टीले अघि सारेको ‘क्यान्डिडेट क्लब’ र उम्मेदवार छनोट प्रक्रियाबारे स्थानीय नेता–कार्यकर्तालाई प्रशिक्षित गरियो। तेस्रो– संगठनात्मक संवाद तथा बैठक छन्। जसमा वडा र पालिका तहका पार्टी प्रतिनिधि, सामाजिक अभियन्ता, महिला र युवासँग छुट्टा छुट्टै छलफल गरी नीति निर्माण र संगठन सुदृढीकरणका लागि सुझाव लिइयो।
सांसद बुद्धिप्रसाद पन्त (हरि) का अनुसार अभियानको समापनमा सल्यानमा अलग शैली अपनाइयो। जिल्लाबाट पार्टीको प्रतिनिधित्व गर्ने सांसद नहुँदा सामान्य समस्याको समेत समाधान नहुने गुनासो कालीमाटी, त्रिवेणी, कपुरकोट, छत्रेश्वरीलगायत पालिकाका स्थानीय नेता, कार्यकर्ता र शुभचिन्तकले राखेका थिए।
स्थानीय निकायमा भ्रष्टाचार र अनियमितता बढेको, अवैध क्रसरजस्ता विषयमा प्रहरी प्रशासनको भूमिका सन्तोषजनक नभएको भन्ने गुनासा पनि आएका थिए। यी गुनासा सुनेपछि सांसद पन्तले प्रमुख जिल्ला अधिकारीलाई सम्बन्धित निकायका जिल्ला प्रमुखहरूसँग बैठक राख्न आग्रह गरेको बताए। उनका अनुसार प्रजिअ वन्दनाकुमारी केसीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बैठक बसेको र त्यसमा शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र बुढा, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पातली, विद्युत् प्राधिकरणका प्रमुख नरेशदत्त रावल र भौतिक पूर्वाधार विकासका कार्यवाहक प्रमुख सिद्धार्थ मिश्रलगायतको उपस्थिति थियो।
उठेका प्रश्नमा कार्यालय प्रमुखहरूले समाधानमुखी जवाफ दिएको उनले बताए। जिल्ला स्तरबाट सकिने विषय तत्काल गर्ने र नसकिने विषय सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने प्रतिबद्धता पनि त्यहाँ जनाइएको उनको भनाइ छ।
अभियानकै क्रममा सांसद पन्तले स्थानीय नेता–कार्यकर्तालाई क्यान्डिडेट क्लबमा आबद्ध हुने चरणदेखि उम्मेदवार छनोटका विभिन्न प्रक्रियाबारे प्रशिक्षण दिएको र जिज्ञासा सम्बोधन गरेको बताए। उनले पार्टीको विधिविधानबाहिर गएर कसैले टिकट नपाउने भन्दै उनले सबैलाई ढुक्क भई संगठन निर्माणमा लाग्न र पार्टी तथा सरकारले गरेका राम्रा काम लिएर जनतामाझ जान निर्देशन दिएको बताए।
कार्यक्रममा सल्यान जिल्ला सभापति प्रकाश नेपाली, नेता रामबहादुर केसी, खड्ग बुढा र लालबहादुर विकलगायतको सहभागिता थियो। जनगुनासोलाई प्रशासनसँग प्रत्यक्ष जोडेर सार्वजनिक बैठकमा जवाफदेही माग्ने यो प्रयास अभियानको उल्लेखनीय पक्ष हो उनले भने।
राजनीतिक विश्लेषकका अनुसार यो अभियानको मुख्य लक्ष्य संगठन विस्तार हो। यसले रास्वपालाई ग्रामीण र स्थानीय तहसम्म संरचना फैलाउन र कार्यकर्ता प्रशिक्षित गर्न मद्दत गरेको छ। अर्को यो निर्वाचनको पूर्वतयारी पनि हो। यसबाट उम्मेदवार चयनका लागि पार्टीले अघि सारेको ‘क्यान्डिडेट क्लब’ अवधारणा जनस्तरमा पुर्याउन र राजनीतिक शुद्धीकरणको बहस चलाउन अवसर मिलेको छ।
त्यस्तै यस अभियानमा केन्द्रीय नेता र सांसद नै गाउँगाउँ र पालिकामा पुगेर समस्या र विकासका सुझाव लिएकाले जनगुनासोको प्रत्यक्ष संकलन भएको र केन्द्र र जनस्तरको दुरी घटाएको छ।
विश्लेषकका अनुसार यस अभियानका सबै पक्ष सकारात्मक छैनन्। नागरिक अगुवाहरूका अनुसार नेताको गुन गान वा चुनावी प्रचारमा सीमित नभई जनगुनासो सहित जनजीविकाका वास्तविक मुद्दा संसद् र सरकारमार्फत सम्बोधन गर्न सके मात्र यस्ता अभियानको सार्थकता रहन्छ। अन्यथा यो अर्को प्रचारमुखी कार्यक्रममा सीमित हुने जोखिम छ।
अर्को संवेदनशील पक्ष तराई–मधेसको हो। अभियानका क्रममा पार्टीकै केही नेताले तराई–मधेसको विशिष्ट राजनीतिक र सामाजिक अवस्था बुझेर मात्र कार्य योजना बनाउन नेतृत्वलाई सुझाव दिएका छन्। यसले सबै भूगोलमा पार्टीको प्रभाव समान नरहेको संकेत गर्छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।