विश्वप्रसिद्ध नाटककार विलियम शेक्सपियरका नाटकले मनोरञ्जन मात्र नभई सत्ता, पहिचान, लैङ्गिक सम्बन्ध, धार्मिक विभेद र मानवीय व्यवहारका जटिल पक्षलाई समेत उजागर गरेका छन्। शेक्सपियरका नाटकमा हास्य र सुखद अन्त्यसँगै अन्याय, द्वन्द्व र सामाजिक असमानताका प्रश्न पनि जोडिएका छन्।
शेक्सपियरको हास्य साहित्यबारे अध्ययन गरेकी प्राध्यापक हेदर हिर्शफेल्डले पाठक र दर्शकका लागि सान्दर्भिक पाँच हास्य नाटक छनोट गरेकी छन्। ‘द अक्सफोर्ड ह्यान्डबुक अफ शेक्सपियरियन कमेडी’की लेखिकासमेत रहेकी हिर्शफेल्डले यी नाटकमा मनोरञ्जनसँगै सामाजिक तथा राजनीतिक अर्थ पनि रहेको बताएकी छन्।
उनले छनोट गरेका नाटकमा ‘द कमेडी अफ एरर्स’, ‘मेजर फर मेजर’, ‘द मर्चेन्ट अफ भेनिस’, ‘मच एडो अबाउट नथिङ’ र ‘ट्वेल्थ नाइट’ छन्।

द कमेडी अफ एरर्स : गलत पहिचान र पारिवारिक सम्बन्ध
शेक्सपियरका प्रारम्भिक तथा छोटा नाटकमध्ये एक ‘द कमेडी अफ एरर्स’ गलत पहिचान र भ्रममा आधारित छ। एफिसस सहरमा एकै नाम भएका जुम्ल्याहा दाजुभाइ र उनीहरूका सेवकबीच हुने भ्रमले नाटकमा हास्यपूर्ण परिस्थिति सिर्जना गर्छ।
जहाज दुर्घटनामा परिवारका सदस्य छुट्टिएपछि वर्षौंसम्म एकअर्कालाई खोज्ने क्रममा उनीहरूले भोग्ने घटनालाई नाटकले प्रस्तुत गर्छ। यसमा पति–पत्नी, आमाबुबा–सन्तान र दाजुभाइबीचका सम्बन्धसँगै व्यापार, बसाइँसराइ र सामाजिक पहिचानका विषय पनि समेटिएका छन्।
हिर्शफेल्डका अनुसार, नाटकको हास्यपूर्ण घटनाक्रम अन्ततः परिवारको पुनर्मिलनमा पुग्छ। तर सुखद अन्त्यले लामो समयको बिछोड र पात्रहरूले भोगेको पीडालाई पूर्ण रूपमा मेटाउन नसक्ने पक्षसमेत यसमा देखिन्छ।
मेजर फर मेजर : सत्ता, कानुन र यौन दुर्व्यवहार
‘मेजर फर मेजर’लाई हिर्शफेल्डले राजनीतिक सत्ता, धर्म र यौन दुर्व्यवहारका प्रश्न उठाउने नाटकका रूपमा व्याख्या गरेकी छन्।
नाटकमा भियनाका शासक ड्युक भिन्सेन्टियोले सहरमा कानुनको शासन कमजोर भएको ठानेर आफ्नो जिम्मेवारी एन्जेलोलाई सुम्पिन्छन्। तर कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएको एन्जेलोले नै शक्तिको दुरुपयोग गर्छ।
इसाबेलाका भाइ क्लाउडियोलाई विवाहबाहिरको यौन सम्बन्धको आरोपमा मृत्युदण्ड दिन खोज्ने एन्जेलोले इसाबेलासँग यौन सम्बन्ध राखेमा उनका भाइलाई मुक्त गर्ने प्रस्ताव गर्छ। यस घटनाले कानुन, नैतिकता र सत्तामा रहेका व्यक्तिको व्यवहारबीचको विरोधाभास उजागर गर्छ।
हिर्शफेल्डका अनुसार, नाटकले सरकार र नागरिकबीचको सम्बन्ध, अत्याचारका स्वरूप तथा राजनीतिक र यौन शक्तिको दुरुपयोगबारे प्रश्न उठाउँछ। यसको अन्त्यलाई परम्परागत सुखद हास्यका रूपमा मात्र बुझ्न कठिन रहेको उनको विश्लेषण छ।
द मर्चेन्ट अफ भेनिस : धार्मिक विभेद र साझा मानवता
‘द मर्चेन्ट अफ भेनिस’ शेक्सपियरको चर्चित नाटकमध्ये एक हो। यसमा क्रिश्चियन व्यापारी एन्टोनियो र यहुदी साहूकार शाइलकबीचको ऋणसम्बन्धी विवाद मुख्य कथावस्तु बनेको छ।
एन्टोनियोले साथी बासानियोका लागि तीन हजार डुकाट ऋण लिँदा समयमै रकम तिर्न नसके आफ्नो शरीरबाट एक पाउन्ड मासु दिने सर्त स्वीकार गर्छन्। ऋण तिर्न नसकेपछि शाइलकले उक्त सर्त कार्यान्वयन गर्न माग गर्छन् र विवाद अदालतसम्म पुग्छ।
नाटकमा शाइलकलाई खलनायकका रूपमा प्रस्तुत गरिएको भए पनि उनको पीडा र मानवताको प्रश्न पनि उठाइएको छ। ‘के यहुदीका आँखा हुँदैनन्रु’ भन्ने उनको प्रश्नले धार्मिक विभेद र साझा मानवीय अनुभवबारे गम्भीर बहस सिर्जना गर्छ।
हिर्शफेल्डले नाटकमा यहुदीविरोधी पूर्वाग्रहका चित्रण रहेको उल्लेख गर्दै शाइलकको पात्रले ऐतिहासिक रूपमा सीमान्तकृत समुदायले भोगेको विभेद र मानवताको दाबीलाई समेत अभिव्यक्त गर्ने बताएकी छन्।
मच एडो अबाउट नथिङ : प्रेम, अफवाह र लैङ्गिक सम्बन्ध
‘मच एडो अबाउट नथिङ’ प्रेम, हास्य र गलत सूचनाले सम्बन्धमा पार्ने प्रभावबारे केन्द्रित छ। युद्धबाट फर्किएका सैनिकहरूको पृष्ठभूमिमा अघि बढ्ने कथामा बीट्रिस र बेनेडिकबीचको हाजिरजवाफी तथा क्लाउडियो र हीरोको प्रेम सम्बन्ध प्रमुख छन्।
खलनायक डन जोनले हीरो अविश्वासी भएको भ्रम सिर्जना गरेपछि क्लाउडियोले विवाहको समयमा उनलाई अस्वीकार गर्छन्। यस घटनाले महिलामाथि लगाइने आरोप, पुरुषको विश्वास र सामाजिक प्रतिष्ठाले सम्बन्धमा पार्ने प्रभाव देखाउँछ।
नाटकमा हास्य पात्र डगबेरी र उनका साथीहरूले संयोगवश षड्यन्त्रको रहस्य पत्ता लगाउँछन्। हिर्शफेल्डका अनुसार, नाटकले युद्ध र प्रेम, हिंसा र रोमान्सबीचको सम्बन्धसँगै मानिसहरू कसरी अफवाह र भ्रमको प्रभावमा पर्छन् भन्ने विषयलाई प्रस्तुत गर्छ।
ट्वेल्थ नाइट : पहिचान, प्रेम र हास्यको मूल्य
‘ट्वेल्थ नाइट’ गलत पहिचान, प्रेम र लैङ्गिक भूमिकाको जटिलतामा आधारित छ। जहाज दुर्घटनापछि इलिरिया पुगेकी भियोलाले पुरुषको भेष धारण गरेर सेसारियो नामबाट ड्युक ओर्सिनोको सेवामा प्रवेश गर्छिन्।
ओर्सिनोले ओलिभियालाई प्रेम प्रस्ताव पुर्याउन भियोलालाई पठाउँछन्। तर ओलिभिया भियोलालाई पुरुष ठानेर उनीप्रति आकर्षित हुन्छिन् भने भियोला स्वयं ओर्सिनोसँग प्रेम गर्छिन्। भियोलाका जुम्ल्याहा भाइ सेबास्टियनको आगमनले कथामा थप भ्रम सिर्जना गर्छ।
हिर्शफेल्डका अनुसार, नाटकले पहिचान, लैङ्गिक भूमिका र यौन आकर्षणका जटिलतालाई उजागर गर्छ। यसमा हास्यका नाममा अरूलाई अपमानित गर्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाइएको छ।
नाटकमा माल्भोलियोलाई झुक्याएर अपमानित गर्ने पात्रहरूको व्यवहारले दर्शकलाई एउटा महत्त्वपूर्ण प्रश्नतर्फ लैजान्छ,अरूको पीडामा आधारित हास्य कति उचित हुन्छ ?
हास्यसँगै समाजको ऐना
हिर्शफेल्डको विश्लेषणअनुसार, शेक्सपियरका हास्य नाटकलाई हाँसो र सुखद अन्त्यमा मात्र सीमित गरेर बुझ्न सकिँदैन। ती नाटकले पारिवारिक सम्बन्ध, राजनीतिक सत्ता, धार्मिक विभेद, लैङ्गिक पहिचान र सामाजिक व्यवहारका प्रश्नलाई समेत उठाउँछन्।
उनका अनुसार, शेक्सपियरका हास्यमा द्वन्द्व समाधान भए पनि पात्रहरूले भोगेका पीडा र अन्याय पूर्ण रूपमा समाप्त नहुन सक्छन्। त्यसैले यी नाटकले दर्शकलाई मनोरञ्जनसँगै आफू केमा हाँसिरहेको छु र त्यसको असर अरूमा कस्तो पर्छ भन्ने विषयमा सोच्न प्रेरित गर्छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।