भक्तपुरमा शनिबार राति सम्पन्न ४६ औं नेपालभाषा साहित्य तःमुंज्या (बृहत् साहित्य सम्मेलन) अन्तर्गत कविता विधातर्फ शकुन्तला महर्जन र कथा विधातर्फ कमलकेशरी थुयाजू प्रथम भएका छन्।
दुई दिनसम्म चलेको सम्मेलनको कविता प्रतियोगितामा हरिसुन्दर पोतामहाँ द्वितीय, शिल्भिया प्रजापति तृतीय र ओमकृष्ण श्रेष्ठ चौथो स्थान हासिल गर्न सफल भए।
यस्तै, कथा विधातर्फ सूर्यनारायण फाँजू द्वितीय, श्रीया पहिजू तृतीय र एलके सुन्दर चौथो भएको आयोजकले जनाएको छ। शुक्रबार बिहान ११ बजे सुरु भएको सम्मेलन शनिबार राति सम्पन्न भएको थियो।

४६ औं नेपालभाषा साहित्य तःमुंज्याका प्रचारप्रसार संयोजक बलराम गोसाईका अनुसार उत्कृष्ट घोषित कवि तथा कथाकारहरूलाई पछि विशेष समारोह आयोजना गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गरिनेछ।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापन गर्न आयोजना गरिने कार्यक्रममै पुरस्कार प्रदान गरिने उनले जानकारी दिए।
‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष भक्तपुरका फरक-फरक टोलमा हुँदै आएको तःमुंज्या यस वर्ष भक्तपुर नगरपालिका-७ गोमारीस्थित यातामा सम्पन्न भएको हो।
सम्मेलनमा नेपालभाषा, साहित्य, कला र संस्कृतिका साथै समसामयिक सामाजिक तथा राजनीतिक विषयमा समेत गहन छलफल गरिएको थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।